बैंक र लन्डनको जागिरलाई ‘बाई-बाई’, दरबारमार्गमा सिस्नु बेच्दै युवा उद्यमीले कमाए दाम र नाम

“काम सानो ठूलो हुँदैन, विदेशमा भाँडा माझ्नुभन्दा देशमै पसिना बगाउनु गर्वको कुरा हो,”
– कृष्ण बहादुर स्याङ्तान
काठमाडौँ – कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्।
दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा भेटिने कृष्ण बहादुर गर्वका साथ भन्छन्, “बैंकमा काम गर्ने र लन्डन बस्ने मान्छेले सिस्नु बेचिरहेको छ। काम सानो ठूलो हुँदैन। विदेश गएर भाँडा माझ्नु र देशमै बसेर कृषि गर्नुमा के फरक छ र? मलाई आफ्नो काममा गर्व छ।” उनको यो भनाइले विदेश पलायन हुन लामबद्ध हजारौं युवाहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ।
गरिबको खान्कीदेखि औषधिसम्मको यात्रा
कुनै बेला “गरिबको खान्की” भनेर हेला गरिने सिस्नुलाई कृष्णले काठमाडौँको सम्भ्रान्त बजारमा पुर्याएका छन्। उनको प्रयासले सिस्नुप्रतिको परम्परागत सोच बदलिँदै गएको छ। “हिजो हाम्रा बाबुबाजेले छाक टार्न खाएको सिस्नु वास्तवमा पोषण र औषधीय गुणले भरिपूर्ण रहेछ,” उनी भन्छन्, “यसले उच्च रक्तचाप, मधुमेह जस्ता रोगमा फाइदा गर्छ। गर्भवती र सुत्केरी महिलाका लागि त यो अमृत समान छ।”
आज उनकै कारण दरबारमार्गमा गाडी चढेर आउनेहरू पनि सिस्नु किन्न लाइन लाग्छन्। उनले २००० भन्दा बढी मानिसलाई सिस्नु खाने बानी बसाइसकेको दाबी गर्छन्।
रैथाने उत्पादनको फराकिलो बजार
कृष्णको स्टलमा ताजा सिस्नु मात्र छैन। उनले रैथाने उत्पादनका विभिन्न परिकारहरू बजारमा ल्याएका छन्। २०० ग्राम ताजा सिस्नुलाई १०० रुपैयाँमा बेच्ने उनी सिस्नुको फूल (बिउ), सिस्नुको पाउडर र शुद्ध सेरेना जातको मौरीको मह पनि बिक्री गर्छन्। “स्याङ्तान कृषि फार्म” मार्फत उनले नुवाकोट र रसुवाका उच्च पहाडी (२०००-२३०० मिटर) क्षेत्रका किसानहरूले उत्पादन गरेका अर्गानिक उत्पादनहरूलाई सिधै उपभोक्तासम्म पुर्याइरहेका छन्।
किसान र बजारको खाडल पुर्दै
नेपालमा धेरै किसानहरूले बजार नपाएर आफ्नो उत्पादन खेर फाल्नुपर्ने तितो यथार्थ छ। यही समस्यालाई देखेर कृष्णले किसान र बजारबीचको खाडल पुर्ने अभियान थालेका हुन्। उनी भन्छन्, “सरकारले उत्पादन गर त भन्छ, तर बजारको व्यवस्था गर्दैन। हामीजस्ता युवाले किसानको उत्पादनलाई बजारसम्म ल्याउन पुलको काम गर्नुपर्छ।”
उनको यो कामले धेरैलाई कृषिमा लाग्न प्रेरित गरेको छ। आफ्नो उत्पादन कहाँ बेच्ने भनेर अलमलिएका किसानहरूलाई उनी सल्लाह, सुझाव र सहयोग गर्न सधैं तयार रहेको बताउँछन्।
कृष्ण बहादुरले दरबारमार्गमा सिस्नु मात्र बेचिरहेका छैनन्, उनी कृषिमा नयाँ सोच, सम्मान र अनगिन्ती युवाका लागि आशा पनि बेचिरहेका छन्।