खेतबारीको “हवाईजहाज”: गाइने किरा, किसानको अनमोल साथी
हामीमध्ये धेरैले सानो छँदा खेतबारीमा पुतलीजस्तै उड्ने र पक्रन खोज्दा झट्टै फुत्किने एउटा रमाइलो किरा देख्यौँ होला। कसैले यसलाई ‘गाइने किरा’ भन्यौँ, कसैले ‘खेतारी’ त कसैले ‘फिरफिरे’। नेवारी भाषामा यसलाई ‘झ्यालिन्चा’ भनिन्छ भने अंग्रेजीमा ‘ड्र्यागनफ्लाइ’ (Dragonfly)। तर, यो केवल रमाइलोका लागि उड्ने किरा मात्र होइन; यो त किसानको खेतबारीको सुरक्षा गर्ने एउटा “विना बर्दीको सिपाही” र सच्चा मित्र हो।
१. अद्भूत शरीर: ३० हजार आँखा र तीव्र गति
गाइने किरा प्रकृतिको एक अनौठो इन्जिनियरिङ हो। यसको टाउकोमा दुईवटा ठूला आँखा हुन्छन्, तर ती आँखाभित्र करिब ३०,००० सा-साना आँखाहरू हुन्छन्। यसैले गर्दा यसले एकै ठाउँबाट चारैतिर (३६० डिग्री) देख्न सक्छ। यसको उड्ने क्षमता त झनै अचम्मको छ। यो हावामा एकै ठाउँमा स्थिर रहन सक्छ, अगाडि-पछाडि उड्न सक्छ र ९७ किलोमिटर प्रति घन्टाको तीव्र गतिमा हुइँकिन सक्छ। यसका ६ वटा खुट्टा भए पनि यसले हिँड्न भने जान्दैन, केवल उड्न र बस्नका लागि मात्र प्रयोग गर्छ।
२. किन भनिन्छ त “किसानको साथी”?
खेतबारीमा लाग्ने हानिकारक किराहरू नियन्त्रण गर्न गाइने किराले ‘प्राकृतिक शिकारी’को भूमिका खेल्छ।
-
शत्रु किराको संहारक: यसले बालीनाली नष्ट गर्ने पतेरो, गवारो, लाई र फड्के किराहरूलाई खोजि-खोजि खान्छ।
-
लामखुट्टेको दुश्मन: एउटा वयस्क गाइने किराले दिनमा ३० देखि ३०० सम्म लामखुट्टे खान सक्छ। यसले पानीमा हुने लामखुट्टेका लार्भाहरू पनि खाइदिने हुनाले डेंगु र मलेरिया जस्ता रोग फैलाउन कम गर्न मद्दत गर्छ।
-
खर्चको बचत: यसले शत्रु किरा खाइदिने हुनाले किसानले महँगो र हानिकारक रासायनिक विषादी किन्नुपर्ने खर्चमा कमी आउँछ।
३. वातावरणको ऐना (Bio-indicator)
यदि तपाइँको खेत वा टोलमा धेरै गाइने किराहरू उडिरहेका छन् भने बुझ्नुहोस्—त्यहाँको वातावरण र पानी सफा छ। गाइने किराले सधैँ सफा पानी भएको ठाउँमा मात्र फुल पार्छ। त्यसैले, यसको उपस्थिति स्वास्थ्यकर वातावरणको प्रतीक हो।
४. संकटमा “मित्रु जीव”: किन हराउँदैछन् गाइने किरा?
नेपालमा करिब १८६ प्रजातिका गाइने किरा पाइए पनि हाल यिनीहरूको संख्या घट्दो छ। यसका मुख्य कारणहरू हुन्:
-
विषादीको जथाभावी प्रयोग: बालीमा छरिने कडा रासायनिक विषादीले शत्रु किरासँगै यी मित्रु किरालाई पनि मारिरहेको छ।
-
सिमसारको विनाश: घरजग्गा प्लटिङ र सहरीकरणले गर्दा पुराना पोखरी, कुलो र ओसिलो ठाउँहरू पुरिँदै गएका छन्।
-
जल प्रदूषण: कलकारखाना र ढलको फोहोर पानीमा मिसाउँदा यसका बच्चाहरू (निम्फ) बाँच्न सक्दैनन्।
५. कसरी फर्काउने त गाइने किरालाई आफ्नै खेतबारीमा?
हामीले थोरै मात्र ध्यान दियौँ भने यी मित्रु किरालाई फेरि आकर्षित गर्न सकिन्छ:
१. सानो कुण्ड वा पोखरी बनाउने: खेतको एक कुनामा सानो खाडल खनेर पानी जम्मा गरिदिनुहोस्। यसले उनीहरूलाई फुल पार्न र वंश विस्तार गर्न मद्दत गर्छ।
२. जलीय बिरुवा रोप्ने: पानीमा जलकुम्भी वा अन्य झारहरू भएमा यसका बच्चाहरूलाई लुक्न सजिलो हुन्छ।
३. विषादीको सट्टा जैविक विकल्प: रासायनिक विषादी त्यागेर नीमको झोल, तीतेपाती वा अन्य घरेलु औषधि प्रयोग गरौँ।
४. बस्ने ठाउँ (Perching sites): पोखरीको वरिपरि केही अग्ला झार वा लट्ठीहरू राखिदिनुहोस् र घाम ताप्नका लागि केही चेप्टा ढुङ्गाहरू राखिदिनुहोस्।
गाइने किरा प्रकृतिको सित्तैमा उपलब्ध “कीटनाशक” हो। यसलाई जोगाउनु भनेको हाम्रो खेती र स्वास्थ्य दुवैलाई जोगाउनु हो। फागुनदेखि कात्तिकसम्म सक्रिय हुने यो किरालाई शत्रु होइन, साथी मानौँ र यसको संरक्षणमा जुटौँ।
याद राखौँ: गाइने किरा रहे मात्र हाम्रो खेतबारी प्राकृतिक रूपमा सुरक्षित रहनेछ!
