वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

कावासोती: वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ। घाँसे मैदान क्षेत्रका बुट्यान, पुराना खरघारीलगायत मिचाहा प्रजातिका झारलाई हटाउन थालिएको वनका अध्यक्ष नरबहादुर महतोले बताए ।

घाँसे मैदान व्यवस्थापनका लागि कावासोती नगरपालिकाले उपकरण अनुदानमा सहयोग गरेको हो। घाँसे मैदान व्यवस्थापन गरे वन्यजन्तु बस्तीतर्फ आउनबाट रोकिने र बालीनालीमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष महतोले बताए ।

गैँडा, मृग, चित्तललगायतका वन्यजन्तुलाई चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थापन गर्न सुरु गरिएको उनले बताए। निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्न थालेपछि वन क्षेत्रभित्रनै घाँसे मैदानको व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो ।

उचित चरनको बासस्थानको अभावमा वन्यजन्तु मध्यवर्ती आसपासका बस्तीमा परेर जनधनको क्षति पुर्याउने गर्दा यहाँका बासिन्दा त्रासमा बस्नुपर्ने अवस्था छ। ‘वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन, वनभित्र नै उपयुक्त बासस्थान होस् भनेर घाँसे मैदान व्यवस्थापन गरिरहेका छौं’ गुन्द्रही वनका अध्यक्ष नरबहादुर महतोले बताए ।

घाँसे मैदानका कारण गैँडा,मृग, हरिणलगायतका वन्यजन्तुलाई आहाराका लागि सहज हुने उनले बताए। घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले यस क्षेत्रमा सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने अध्यक्ष महतोले बताए ।

घाँसे मैदानसँगै गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सीमसार क्षेत्रकोसमेत व्यवस्थापन गर्दै आइरहेको छ। यस क्षेत्रमा गैँडा, मृग, हरिण, चराचुरुङ्गीलगायतको सङ्ख््यामासमेत वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?