सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्यले पाएन गहुँ

गहुँको बिउ

दोधारा चाँदनी:सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन ।

कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारका दरले बिक्री भइरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँको मूल्य बजारमा कम निर्धारण गरेपछि खाद्यले गहुँ खरिद गर्न सकेको छैन ।

खाद्यले गत चैत १६ गतेदेखि गहुँ खरिद गर्ने निर्णय गरे पनि हालसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म कुनै पनि किसान गहुँ बिक्रीका लागि कार्यालयमा नआएको बताउनुभयो ।

“हाम्रोभन्दा बढी मूल्य बजारमा छ, चैत १६ देखि गहुँ खरिद गर्ने निर्णय भए पनि अहिलेसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि आएको छैन”, प्रमुख उपाध्यायले भन्नुभयो, “हामीले मूल्य निर्धारणको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छौँ ।” सरकारले गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ तोकेको छ । उहाँले मूल्य निर्धारण मन्त्रिपरिषद्को निर्णयबाट हुने बताउनुभयो । गत वर्ष पनि खाद्यले गहुँ खरिद गर्न सकेको थिएन ।

यहाँका किसान तीर्थ रानाले सरकारले तोकेकोभन्दा बढी मूल्यमा गाउँमै गहुँ बिक्री भइरहेको बताउनुभयो । “गाउँमै चार हजारका दरले बिक्री भइरहेको छ खाद्यमा तीन हजारमा गहुँ बिक्री गरेर हामीलाई फाइदा छैन”, रानाले भन्नुभयो, “यस वर्ष गहुँको उत्पादन राम्रो छ ।”

अर्का किसान गणेश भट्टले खाद्यले बजारकोभन्दा कम मूल्य तोकेका कारण गहुँ बिक्री गर्न नगएको बताउनुभयो । “सरकारले तोकेको मूल्यमा किसानलाई फाइदा हुदैन”, उहाँले भन्नुभयो, “सरकारले किसानको उत्पादनको उचित मूल्य निर्धारण गर्न सकेन ।” कञ्चनपुरमा यस वर्ष ३२ हजार दुई सय १० हेक्टरमा गहुँखेती गरिएको छ । गत वर्ष जिल्लामा गहुँको उत्पादकत्व तीन मेट्रिकटन प्रतिहेक्टर थियो । यस वर्ष साढे तीन मेट्रिकटन पुग्ने अनुमान छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?