लेकाली क्षेत्रमा पाइने मालिङ्गो लोप हुँदै

ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङका कालीबहादुर गुरुङले केही वर्ष अघिसम्म डोको, डालोलगायतका चोयाजन्य सामग्री तयार गर्न लेकाली क्षेत्रमा पाइने मालिङ्गो प्रयोग गर्नुहुन्थ्यो । दिनभरजसो लेकाली भेगका जङ्गलमा गएर मालिङ्गो काटी बिट्टा बनाएर घरमा ल्याउने र चोया काढेर डोको, डालो जस्ता चोयाका सामग्री बुन्ने गर्नुहुन्थ्यो ।

स्थानीयस्तरमा पाइने बाँस, निगालोभन्दा मालिङ्गोको चोया दरो र टिकाउ हुने भएकाले यसैको प्रयोग गर्दै आउनुभएका गुरुङले हिजोआज भने तिनै स्थानीयस्तरका बाँस, निगालो र प¥याङ प्रयोग गर्न थाल्नभएको छ । आजभोलि मालिङ्गो पाउनै छाडेपछि त्यसको विकल्पमा उहाँले बाँस र प¥याङको प्रयोग गर्न थाल्नुभएको हो । “पहिले–पहिले मालिङ्गो ल्याएर नाङ्लो, डालो, डोको, चित्रो बुन्ने गरिन्थ्यो, आजकल मालिङ्गो पाउन छाड्यो, गाउँघरमै पाइने बाँस, प¥याङ र निगालोको प्रयोग गर्न थाल्यौँ, हिजोआज मालिङ्गो मासिँदै गयो” गुरुङले भन्नुभयो । गुरुङले विगत ३० वर्षदेखि चोयाजन्य सामग्रीको उत्पादन तथा व्यापार गर्दै आउनुभएको छ ।

यता केही वर्ष अघिसम्म बर्सेनि मालिङ्गोको चित्रो बुनेर गाईगोठमा ओत लगाउँदै आउनुभएका खेवाङका भीम अधिकारीले आजकल स्थानीय बाँसकै चित्रो बुनेर काम चलाउँदै आउनुभएको छ । “केही वर्ष पहिले गाउँघरका साथीभाइ मिलेर मालिङ्गो काट्न गइन्थ्यो, बिट्टा लगाएर मालिङ्गो तान्ने र घरमा ल्याएर डोको, डालो, चित्रो आदि बुन्ने गरिन्थ्यो, अहिले प¥याङको प्रयोग गर्न थालियो”, अधिकारीले भन्नुभयो ।

आजकल लेकाली क्षेत्रमा पाइने मालिङ्गो लोप हुँदै गएकाले स्थानीयस्तरका बाँस, निगालो र प¥याङको प्रयोग हुन थालेको छ । एक दशक अघिसम्म प्रशस्तै पाइने मालिङ्गो आजभोलि न्यूनरूपमा पाइने गरेको छ । मुर्चुङ्गा जस्तै बाजा बिनायोदेखि घरको ओत लाउने चित्रो, भकारीसम्म बुन्न प्रयोग हुने मालिङ्गो लोप हुँदै गएको स्थानीयवासीले बताए ।

करिब दुई हजार मिटरभन्दा माथिको भेगमा पाइने मालिङ्गो हिजोआज फाट्टफुट्ट मात्र पाइन्छ । पाइए पनि पहिलेको जस्तो ठूलो आकारमा पाइँदैन । “पहिले लेकमा अग्ला र मोटो आकारका मालिङ्गो प्रशस्तै पाइन्थ्यो, त्यसैको चोया दरो र टिकाउ हुन्थ्यो, मालिङ्गो काट्ने, काँधमा खकन लाएर तान्दै ल्याउने सिजन नै चल्थ्यो, गाउँघरका सबै मान्छेले ल्याउने गर्थे, आजकल पाइँदैन, फाट्टफुट्ट पाइए पनि पहिलेको जस्तो सप्रिएको मालिङ्गो देखिँदैन” फावाखोलाका गोपाल विष्टले भन्नुभयो ।

पहाडी क्षेत्रको उच्च भेगमा पाइने मोटो आकारको निगालो प्रजातिलाई नै मालिङ्गो भन्ने गरिन्छ । मालिङ्गोको कलिलो टुसा तरकारी र अचार बनाउनसमेत प्रयोग हुने गरेको छ । मालिङ्गो कम्तीमा १० देखि २० फिट अग्लो हुन्छ । कलिलो टुसा तरकारी खान, पातलाई घाँसको रूपमा गाईवस्तुलाई खुवाउन र डाँठलाई चोया काढ्न प्रयोग हुने मालिङ्गो आजभोलि लोप हुने अवस्थामा पुगेको छ ।

वनजङ्गलमा आगो लगाउने, मालिङ्गो पाउने क्षेत्रमा बढ्दो चरिचरनलगायतका कारण मालिङ्गो मासिँदै गएको हुनसक्ने स्थानीयवासी बताउँछन् । मालिङ्गोको तुलनामा बाँस र स्थानीयस्तरका निगालोको चोया टिकाउ नहुने गरेको व्यवसायी र किसानहरू बताउँछन् । गाईवस्तुको गोठमा ओत लगाउन प्रयोग हुने चित्रोसमेत टिकाउ नहुने भएकाले यसको विकल्पमा प्लास्टिक, पाल र टिनको प्रयोग हुन थालेको छ ।

व्यवसायीका अनुसार मालिङ्गोको चोयाबाट बनेका सामग्रीको तुलनामा बाँस र निगालोबाट बनेका सामानको किनबेच घट्दो छ । यसबाट चोयाजन्य व्यवसाय गरिरहेकालाई समेत समस्या परेको छ । “सबैले मालिङ्गोको डोको, डालो खोज्छन्, आजभोलि मालिङ्गो पाउन मुस्किल छ, पहिलाको जस्तो जताततै पाइँदैन, अप्ठ्यारो ठाँउमा अलिअलि पाइन्छ, त्यस्तो ठाउँमा गएर ल्याउन पनि सकिँदैन” खेवाङका भीमलाल अछामीले भन्नुभयो ।

चोयाजन्य सामान बनाउनका लागि उपयोगी मानिने मालिङ्गोको संरक्षणका लागि सबैले ध्यान दिनुपर्ने स्थानीयवासीहरू बताउँछन् । यसका लागि जङ्गलमा जथाभावी आगो लगाउने, चरन क्षेत्र विस्तार गर्ने जस्ता कार्य रोक्नुपर्ने सरोकारवालाले बताएका छन् । विभिन्न चोयाजन्य सामग्री टिकाउ, भरपर्दो र आकर्षक बनाउन मालिङ्गो उपयोगी हुने भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक भएको स्थानीयवासीको भनाइ छ । वन डढेलो, जथाभावी चरन क्षेत्रको विस्तार हुँदा पनि सरोकारवाला निकाय मौन हुने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?