लिफ्टिङ सिँचाइले हैरान भए गाउँले

धनकुटा:हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।

सङ्घीय सरकारको रु एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना पूरा भएर जिम्मा लिएको तीन महिना नबित्दै पाइप फुटेर अहिलेसम्म पूर्णरूपमा बन्न नसक्दा गाउँका किसान समस्यामा परेका छन् ।

प्रारम्भमा नै दुई घण्टाभन्दा बढी सिँचाइका लागि पानी नपाएका गाउँवासीले सिँचाइको पाइप फुट्न थालेपछि अब उनीहरूले लिफ्टिङ पानीको आस गर्न छाडेका छन् । परीक्षणकालमा विभिन्न समस्या देखिएकाले निर्माण कम्पनीको एक वर्षसम्मको अथक प्रयासपछि ठीक भएपछि उपभोक्ता समितिका अध्यक्ष विष्णु राईले आयोजना जिम्मा लिनुभएको थियो । तर उहाँका अनुसार आयोजना हस्तान्तरण भएको तीन महिनापछि पाइप फुटेपछि अहिले गाउँका १० देखि १५ घरले मात्र आंशिक पानीको खपत गरिरहेका छन् ।

“जिम्मा लिँदा सबै एक सय धाराबाट पानी झरेको थियो”, राईले भन्नुभयो, “अफिसबाट धेरै सर आउनुभएको थियो, सरहरूले ठीक छ भनेपछि जिम्मा लिएका हौँ ।” फलामको जिआइ पाइप जोडिएको ठाउँ (जोर्नी) पटक–पटक फुट्ने तर आफूहरूसँग बनाउने साधन नहुँदा सिँचाइ आंशिक मात्र सञ्चलनमा रहेको राईले जानकारी दिनुभयो ।

नदीबाट गाउँसम्मको करिब नौ सय मिटर भर्टिकल सिँचाइका लागि नौवटा स्टेशनबाट एक सय १० मिटर फलामे पाइप र सात सय मिटर रबरको पाइप विस्तार गरिएको छ । सोलार सिस्टमबाट सञ्चालित सो लिफ्टिङ आयोजनाको पाइपभन्दा पम्प बढी हर्स पावरको भएकाले पाइप फुटिरहेको राईको अनुभव छ ।

आधा क्षेत्रसम्म पानी लिफ्ट गर्दा पानीको बहाव थाम्न नसकेर भू–क्षय हुने र पूरै लिफ्टिङ गर्दा पाइप फुट्ने भएकाले आयोजना पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उहाँको भनाइ थियो ।

गाउँमा सिँचाइ आयोजना बनेको एक वर्ष पनि पूरा नभई पाइप फुटेर सिँचाइ गर्न नपाएको गुनासो सो गाउँका ६७ वर्षीय सोमबहादुर राईले गुनासो गर्नुभयो । “पाइप फुटेर हामीले बनाउन सकेनौँ”, उहाँले भन्नुभयो, “खै माथिबाट बनाउन आउँछ भन्थे ! कहिले आउने हुन्, थाहा छैन ।”

त्यस्तै साही गाउँका ५३ वर्षीय अ‍ैनबहादुर राईले सिँचाइ आयोजना प्रारम्भदेखिनै राम्ररी नचलेको गुनासो गर्नुभयो । चालीस रोपनीमा खेती गरिरहनुभएका राईले पहिला पनि एक रोपनीभन्दा बढी क्षेत्रफलमा दुई घण्टाभन्दा बढी सिँचाइ गर्न नपाएको सुनाउनुभयो ।

पटक–पटक पाइप पड्कने र बनाउने क्रमसँगै हाल गाउँका आठ÷दश घरले आंशिक सिँचाइ गरिरहेको उहाँले जानकारी दिनुभयो । अब पाइप लाइन बनिहाले पनि गाउँका लागि पर्याप्त सिँचाइ नपुग्ने भएकाले उक्त सिँचाइ आयोजनाको खासै अर्थ नरहेको उहाँको भनाइ थियो ।

“यो पानीले हामीलाई खान पनि पुग्दैन”, राईले भन्नुभयो । आयोनाको अनुगमनको जिम्मा पाएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका धनकुटाका अधिकृत बुद्धिमान लिम्बूले आयोजना मापदण्डअनुसार नै बनेको जानकारी दिनुभयो ।

सोलारबाट निस्कने विद्युत् भोल्टेजको घटबढका कारण पानी लिफ्टिङमा समस्या भएको उहाँले जानकारी दिनुभयो । गाउँवासीले आयोजनाका विरुद्ध अख्तियारमा मुद्दा दायर गरेकाले एक वर्षसम्म आयोजना मर्मत हुन नसकेको लिम्बूले जानकारी दिनुभयो । पाइपको जोर्नी फुट्ने समस्या देखिएकाले त्यसलाई चाँडै वेल्डिङ गरेर सिँचाइ आयोजना सञ्चालन गरिने उहाँको भनाइ थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?