विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

विराटनगर,२१ असार: विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभित्र वडाका कृषक समूह, कृषि सहकारी र कृषि फार्मलाई रु १९ लाख १० हजार छ सय मूल्य बराबरका कृषिऔजार वितरण गरेको हो । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको जनाउनुभयो ।

कृषि पेसालाई सम्मान नगरेसम्म युवावर्ग कृषिमा सहभागी नहुने भन्दै प्रमुख कोइरालाले कृषकले सम्मान पाएमा यो पेसाबाट राज्यले लाभ लिन सक्ने कुरामा जोड दिनुभयो ।

महानगरले विराटनगर–१८ स्थित महिला बीउ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नं वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ । विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बीउबिजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?