धान खेतीको सफलताका लागि पूर्ण गाइड: प्रमुख रोग, शत्रु किरा र तिनको रोकथामका विधिहरू
नेपालको कृषि प्रणालीमा धानबाली खाद्य सुरक्षाको मुख्य आधार हो। यतिबेला किसानहरू चैते धान भित्र्याउने चटारोमा छन्, तर दुर्भाग्यवश कतिपय ठाउँमा चैते धानमा गँबारो किराको प्रकोप देखिएको छ, जसले उत्पादन घट्ने हो कि भन्ने गम्भीर चिन्ता किसानहरूमा छाएको छ। चैते धानको यो समस्यालाई व्यवस्थापन गर्दै अब लगत्तै असारमा रोपिने मुख्य धानबालीको तयारीमा जुट्नुपर्ने बेला पनि आएको छ।
धानबालीलाई सुरुदेखि नै सुरक्षित राखी बढी उत्पादन लिन रोग र किराको सही पहिचान र नेपाल सरकारद्वारा प्रमाणित विषादीको सही मात्रामा प्रयोग गर्नु अनिवार्य छ।
खण्ड क: प्रमुख रोगहरू र तिनको व्यवस्थापन
१. मरुवा रोग (Rice Blast): पातमा आँखा आकारका दाग र बालाको घाँटी कुहिने समस्या।
उपचार: ट्राइसाइक्लाजोल ७५% डब्ल्यूपी १ ग्राम वा हेक्साकोनाभोल २ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्कने।
२. ब्याक्टेरियल पात डडुवा (BLB): पातको टुप्पाबाट पहेँलो-खैरो धर्सा सुरु भई सुक्दै जाने।
उपचार: स्ट्रैप्टोसाइक्लिन ६ ग्राम र कपर अक्सिक्लोराइड ५० ग्राम प्रति १०० लिटर पानीमा मिसाएर छर्कने।
३. फेद कुहिने रोग (Bakanae): बिरुवा असामान्य रूपमा अग्लो र पहेंलो भई मर्ने।
उपचार: प्रति केजी बिउमा २-३ ग्राम कार्वेन्डाजिम ५०% डब्ल्यूपी प्रयोग गरी बिउ उपचार गर्ने।
४. कालो पोके रोग (False Smut): दाना मखमली कालो धूलोयुक्त डल्लामा परिणत हुने।
उपचार: फूल खेल्नु अगावै (Boots-leaf stage) प्रोपिकोनाजोोल २५% ईसी १ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्कने।
५. पातको दाद रोग (Sheath Blight): बोटको फेदमा खटिरा जस्ता दाग देखिने।
उपचार: वैलिडामाइसिन ३% एल २ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्कने।
खण्ड ख: प्रमुख शत्रु किराहरू र तिनको व्यवस्थापन
१. गँबारो किरा (Stem Borer): गुभो सुक्ने (Dead Heart) र सेतो बाला लाग्ने (White Head) मुख्य समस्या।
व्यवस्थापन: कार्टाप हाइड्रोक्लोराइड वा फिप्रोनिल दानादार माटोमा प्रयोग गर्ने। बाला आउनु अघि क्लोरपाइरिफोस प्रयोग गर्ने।
२. फड्के किरा (Planthoppers): बोटको रस चुसेर ‘हपर बर्न’ (सुकाउने) समस्या।
व्यवस्थापन: इमिडाक्लोप्रिड वा थायोमेथोक्सामको घोल बोटको फेद भिज्ने गरी छर्कने।
३. पात बेर्ने किरा (Leaf Folder): पातलाई नली जस्तो बेरेर भित्रबाट खाने।
व्यवस्थापन: कार्टाप हाइड्रोक्लोराइड वा क्लोरपाइरिफोस प्रयोग गर्ने।
४. गन्धी किरा (Gundi Bug): दूध भरिने अवस्थामा दानाको रस चुसी भुस बनाउने।
व्यवस्थापन: बिहानीपख वा बेलुका मालाथियन प्रयोग गर्ने।
५. फौजी किरा (Armyworm): रातारात खेत सखाप पार्ने।
व्यवस्थापन: एमामेक्टिन बेन्जोएट ०.४ ग्राम प्रति लिटर पानीमा मिसाएर साँझको समयमा छर्कने।
खण्ड ग: पोषणको कमी (जिङ्कको कमी)
खैरा रोग लाग्दा पुराना पातमा खिया लागे जस्तो रातो-खैरो धब्बाहरू देखिन्छन्। माटो तयारी गर्दा प्रति रोपनी १ केजी जिङ्क सल्फेट प्रयोग गर्ने वा ०.५% को घोल पातमा छर्कने।
एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) का सुनौला नियमहरू
रासायनिक विषादीको अन्धाधुन्ध प्रयोग रोक्न र वातावरण जोगाउन निम्न उपायहरू अनिवार्य अपनाऔं:
पातको टुप्पा चुँड्ने: बेर्ना सार्नु अघि २ सेन्टिमिटर टुप्पा चुँड्दा गँबारोको फुल नष्ट हुन्छ।
खेतको सरसफाइ: धान काटिसकेपछि ठुटो नष्ट गर्ने र आली सफा राख्ने।
सन्तुलित मलखाद: पोटास र फस्फोरससँग सन्तुलन मिलाएर युरिया प्रयोग गर्ने।
प्रकाश पासो: राती बत्ती बालेर किराहरूलाई आकर्षित गरी नष्ट गर्ने।
मित्रजीवको संरक्षण: माकुरा, लेडी बग जस्ता शत्रु किरा मार्ने जीवहरूलाई बचाउने।
सावधानी: विषादी प्रयोग गर्दा मास्क, पञ्जा र चश्मा लगाउनुहोस्। छर्केको २ हप्तासम्म बाली घरमा नभित्र्याउनुहोस्। समस्या जटिल भएमा नजिकैको कृषि ज्ञान केन्द्र वा कृषि प्राविधिकसँग तुरुन्त सल्लाह लिनुहोस्।
