माटोको उर्वराशक्ति घट्यो

इटहरी — खेतीयोग्य जमिनमा जथाभावी रासायानिक मलको प्रयोग गरिँदा माटोको उर्वराशक्ति खस्कँदै गएको पाइएको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काको एक दशक लामो अध्ययनपछिको प्रतिवेदनले उर्वर्राशक्तिमा गिरावट आएको देखाएको हो ।

प्रतिवेदनअनुसार २०६५/६६ मा ६६ प्रतिशत अम्लीयपन रहेकामा आव २०७५/७६ मा बढेर ७० प्रतिशत पुगेको छ । प्रतिवेदनअनुसार प्रदेश १ को माटोमा अम्लीयपन बढेको र प्रांगरिक पदार्थ घट्दै गएका कारण उत्पादन कम हुन थालेको माटो तथा मल परीक्षण प्रयोगशाला निमित्त प्रमुख तथा माटोविज्ञ नाथुप्रसाद चौधरीले बताए ।

क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काले यसै आव २०७५/७६ साउनदेखि चैत २८ गतेसम्म २ सय ५० नमुना माटो संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये माटोमा ७० प्रतिशत अम्लीयपन भेटिएको थियो ।

गुणस्तरीय माटोका लागि २ देखि ६ प्रतिशत प्रांगरिक पदार्थ हुनुपर्नेमा ७९ प्रतिशत कमी भेटियो । ३५ देखि ५५ किलो प्रतिहेक्टर हनुपर्ने फस्फोरस घटेर ३ केजी र ११२ किलो प्रतिहेक्टर हुनुपर्ने पोटास घटेर २ केजी पुगेको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काले प्रदेश १ का १४ जिल्लाको माटो परीक्षण गर्दै आएको छ । अन्न भण्डार मानिएको तराईको भूभागमा यस्तै गतिमा अम्लीयपना बढ्दै जाने हो भने खाद्य उत्पादनमा समेत गिरावट आउने दखिन्छ ।

भरौल सुनसरीका प्रकाश दीपशाली राईले ५ वर्षयता रासायानिक मलको प्रयोग बढी गर्ने गरेको बताए । ‘रासायानिक मल प्रयोग नगरे उत्पादनमा कमी आउँछ । किरा मार्न र उत्पादन बढाउन मल प्रयोग नगरी हुँदैन,’ उनले भने, ‘पुरानो समयमा जे रोप्दा पनि हुन्थ्यो भने अहिले रासायनिक मल प्रयोग नगर्ने हो भने उत्पादन नै हुँदैन ।’

खेतीयोग्य जमिनका लागि आवश्यक मल उत्पादन गर्न नसक्दा मल किनेर प्रयोग गर्ने गरेको उनले बताए । ‘घरमा गाईवस्तु पाल्न छाडिसक्यौं । बारी जोत्नका लागि ट्र्याक्टर चलाउँछौं । मल उत्पादन हुने स्रोत छैन,’ उनले भने । माटो बिग्रेको भन्नेबारे थाहा भए पनि उनले अहिलेसम्म माटो परीक्षण भने गरेका छैनन् । दूरीका हिसाबले झुम्का प्रयोगशाला त्यति टाढा भने होइन ।

बराह क्षेत्र नगरपालिकाका किसान सुरेश पारघरीले रासायानिक मल प्रयोग गरेसँगै उत्पादन बढेको बताए । दुई दशकदेखि उनी रासायनिक मल प्रयोग गर्दै आएका छन् । ‘रासायानिक मल प्रयोग नगर्दा उत्पादन कम हुन्थ्यो, अहिले भने उत्पादन बढेको छ,’ उनले भने, ‘रासायनिक मलको प्रयोगबिना अहिले उत्पादन हुँदैन । बिरुवाले फल नदिने नफस्टाउने समस्या देखापर्छ ।’

२०५८ सालमा उनी आफ्नो जमिनको माटो परीक्षण गराउन प्रयोगशाला झुम्का गएका थिए । रिपोर्ट लिन जाँदा केही समय थप लाग्ने भएकाले घर फर्कनुपरेकाले उनले त्यसयता भने माटो परीक्षण गराएका छैनन् ।माटोविज्ञ रामआशीष यादवले बालीको सघनता बढ्नु र असन्तुलित मलखादको प्रयोगका कारण माटो बिग्रँदै गएको बताए । ‘बाली भित्र्याएपछि बाँझो नराखी तुरुन्त अर्को बाली लगाउने गरिन्छ ।स्वस्थ्य माटोका लागि केही समय जमिन बाँझो राख्नुपर्छ । मलको जथाभावी प्रयोग गर्नाले उर्वराशक्तिमा ह्रास आएको छ,’ उनले भने ।

गुणस्तरीय माटोका लागि प्रांगारिक मल आवश्यक हुने बताउँदै उनले भने, ‘तराई क्षेत्रमा प्रांगारिक मलको प्रयोग हुन सकेको छैन । प्रांगारिक मलको अभावमा माटोमा अम्लीयपन बढ्दै जान्छ ।’ तराई क्षेत्रमा इन्धन अभावमा गोबरको गुइँठा बाल्ने चलन छ ।
पहाडी र हिमाली क्षेत्रमा प्रांगारिक मलको प्रयोग हुने गरेको पाइएको छ ।

तराईका अधिकांश ठाउँमा अझै पनि गहुँ, धानको बोटलाई जलाउने गरिन्छ । यसले गर्दा माटोको उर्वराशक्ति घट्ने माटोविज्ञको भनाइ छ । पहाडी क्षेत्रमा भने भिरालो जमिन हुने भएकाले भूक्षय वा वर्षाको समयमा माटो बगाएर लाने समस्या छ । जसका कारण प्रांगारिक पदार्थ कमी हुने गर्छ । गाईवस्तु कम पालिने गरेकाले गोबर मलको अभाव देखिएको छ ।

चौधरीका अनुसार माटो परीक्षणको विषयमा किसानमा चेतनाको अभाव छ । ‘उत्पादनमा ह्रास आएको जानकारी छ तर माटो परीक्षण गर्नुपर्छ भन्ने ज्ञानको कमी छ,’ उनले भने ।

उनका अनुसार झुम्का प्रयोगशालाले तीन तरिकाबाट माटो परीक्षण गर्दै आएको छ । प्रयोगशाला, मोबाइल म्यान र स्थलगत गएर ‘किटबक्स’ मार्फत माटो परीक्षण गर्दै आएको छ । यसै आर्थिक वर्षबाट प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत मोबाइल भेन सेवा सुरु भएको हो ।

सामान्यतया माटो परीक्षण गर्नका लागि १० देखि १५ दिन लाग्छ । ‘यदि किसानले ल्याएको माटोमा चिस्यान बढी छ भने थप सुकाउनुपर्छ । त्यसैले थप समय लाग्छ,’ उनले भने । एकपल्टमा ५० वटा नमुना माटो परीक्षण गर्ने गरिन्छ ।

माटोको नमुना संकलन गर्दा बाली लगाएको भन्दा बाली नलगाएको ठाउँबाट माटो परीक्षण गर्नु उपयुक्त हुने उनको भनाइ छ । ‘बाली लगाएको ठाउँबाट भए पनि माटो परीक्षण गर्न मिल्छ । खाली जमिन र बाली लगाएको जमिनका माटो परीक्षणको नतिजा फरक पर्न सक्छ,’ उनले भने । प्रांगरिक मलमा किसानलाई प्रोत्साहन गर्न सके मात्र माटोको सुधार गर्न सकिने उनको भनाइ छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments