अलैंचीको बिरुवा बिक्री गरेरै लाखौं आम्दानी

प्रदिपचन्द्र राई
भोजपुर :
टेम्के मैयुङ गाउँपालिका १ तिम्मा पाङखाङका ग्रामीण भेगका कृषकहरू खोल्साको कालो सुन मानिने अलैंचीखेतीतर्फ आकर्षित भइरहेका बेला स्थानीय अलैंची कृषक लप्टुमान राईले भने अलैंचीको बिरुवा बिक्री गरेरै लाखौं आम्दानी गरेका छन् ।

आफ्नै करिब १३ रोपनी बगानमा लगाएको अलैंचीको बीउको बेर्ना अन्य कृषकलाई बिक्री गरी राईले वार्षिक लाखौं आम्दानी गर्ने गर्छन् । ०६९ साल माघमा जिल्ला कृषि विकास कार्यालय भोजपुरबाट रामसाई जातका अलैंचीका एक केजी बीउ ल्याई ब्याड तयार गरी उत्पादन सुरु गरेका उनले उत्पादित बेर्नाले डेढ वर्षमै पाँच लाखभन्दा बढी आम्दानी गरेको बताउँछन् ।

उनले बगानमा पहिलो वर्षमै एउटा बीउबाट अर्को वर्ष ३० वटासम्म बिरुवा टुसाएको बताए । सो बिरुवालाईसमेत सारेर प्रतिबिरुवा ३५ वटासम्म बिरुवाहरू गुणात्मक हिसाबले उत्पादन भएकाले राम्रो आम्दानी लिन पाएको बताउँदै राईले थपे, ‘सोही बीउबाट उत्पादन गरेको बिरुवाले खुलामा प्रतिनाल्की १० रुपैयाँ र ठेक्कामा एकमुष्ट बिरुवा होलसेल मूल्यमा बिक्री गर्दै आएको छु ।’

यहाँ उत्पादित अलैंचीका बिरुवा खोटाङका साथै जिल्लाका विभिन्न ग्रामीण भेगलगायत स्थानीय तिम्माका कृषकले खरिद गरी खेती विस्तार गरेका छन् । टेम्के मैयुङ गाउँपालिका २ छिनामखुका चन्द्रहाङ राईले पनि एक लाख १० हजारमा अलैंचीका बेर्ना ठेक्कामा खरिद गरी धादिङसम्म पुर्‍याएका छन् । यस्तै तिम्मा पाङखाङकै अर्का प्रेम साम्पाङले पनि एक लाख २० हजारको बिरुवा ठेक्कामा नै खरिद गरी खेती गर्न थालेका छन् । उनी भन्छन्, ‘पहिले गानो कुहिने, पात सुक्ने, कीरा लाग्ने रोगबाट हैरानी खेप्नु परेको थियो । तर यहाँबाट ठेक्कामा लिएको बिरुवा पहिलेका सबै बिरुवा हटाएर बगानमा लगाएपछि गत वर्षबाट अलैंची राम्ररी सप्रेको छ ।’

प्रमुख नगदेबाली अलैंचीमा केही वर्षअघि देखिएको रोगको प्रकोपले नष्ट गर्नु परे पनि पुनः बगानमा खेती सुरु गर्ने क्रममा लागिरहेका बिरुवाले टेवा पुर्‍याएको छ । यसअघि कलमी प्रणालीबाट मात्र बिरुवा उत्पादन गरिरहेका कृषकलाई लप्टुमान राईले बीउबाट समेत बिरुवा उत्पादन गर्न सकिने सप्रमाण देखाएका छन् । उनको सिको गर्दै अन्य कृषकले पनि बीउबाट बिरुवा उमार्ने कार्यमा लागिरहेका छन् । यसले कृषकमा उत्साहसमेत थपेको मात्र होइन कृषकहरू जोस जाँगरका साथ खेती विस्तार कार्यमा लागि परेका छन् ।

अलैंचीमा युवा

प्रायः युवापुस्ता पढाइभन्दा लाहुरे हुनमै रमाउने परिपाटी बन्दै आएको छ । टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका ३५ वर्षीय प्रमोद राईले पनि आफ्नो जवानी सबै लाहुरमा बिताए । लाहुरे बन्ने इच्छा हुँदाहुँदै पनि ढल्कँदो उमेरको बहावसँगै बिदेसिनसमेत सुर कसेका प्रमोदले विदेश पठाइदिने दलालबाटै नराम्ररी फसे । त्यसपछि केही सिप नलागेपछि उनी गाउँ फर्केर अलैंची खेती गर्ने सोच बनाएपछि जिल्लामा उदाहरणीय अलैंची कृषकको दर्जामा आफूलाई उभ्याउन सफल भएका हुन् ।

गोर्खा भर्ती हुन धेरै समय र पैसा प्रशस्त खर्चेका उनी धरान, पोखरा धाउँदा धाउँदै भर्ती लाग्ने उमेर सकिएपछि विदेश जाने चक्करमा समेत राईले समयको पनि बर्वादी गरे । अन्तत आफ्नै गाउँ छिनामखुमा फर्किएका प्रमोद आफ्नो बाँजो रहेको जमिन र अरुको केही जग्गा लिजमा लिएर ‘देवीस्थान अलैंची नर्सरी फार्म’ दर्ता गराएर अलैंचीका बेर्ना, नर्सरी तथा खेती सुरु गर्न थालेपछि उनलाई अहिले सबैभन्दा आफ्नै व्यवसाय प्यारो भएको छ ।

उनको त्यो परि श्रमले अलैंची नर्सरी सुरु गरेको तीन वर्षमै वार्षिक २० लाख बराबर आम्दानी भएपछि कुरा काट्ने छिमेकीसमेत कृषि व्यवसायमा लाग्न पहिलो खुड्किलो बनेको प्रमोद बताउँछन् ।

‘गाउँ आएर एकैचोटी यस्तो काम सुरु गर्दा छिमेकीले बौलायो समेत भने । लाहुरे खाने गएको चाउरे भयो पनि भने’, प्रमोदले भने, ‘आखिर मेहनत गर्ने हो भने आफ्नै भिरपखेरामा सुन फलाउन सकिने रैछ । अहिले गाउँमा छिमेकी सबैले मेरो सिको गर्न थालेका छन् ।’ व्यावसायिक रूपमा कृषिमा लागेका प्रमोदलाई नमुना युवा कृषकको पगरी मिल्यो । डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति परियोजनाले समेत प्रमोदको अलैंची नर्सरीलाई गत वर्ष अनुदान दिएको छ ।

आजको अन्नपुर्णपोस्ट बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?