कृषिमा लगानी गर्दै गाउँपालिका

बागलुङ — ताराखोला गाउँपालिका ५ की जसमती पुनले आलु लगाएर वर्षभरिको खर्चको जोहो गर्छिन् । ताराखोला २ की तुलसी रोकाले मकै र कोदो मासेर अलैंची लगाएकी छन् । उनको आम्दानी वार्षिक ४ लाख रुपैयाँ हाराहारी पुगिसकेको छ ।

दुवै जनाले आलु र अलैंचीको उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको बताए । हाल उत्पादन भइरहेका बाली लगाउने क्षेत्र विस्तार गरेर ताराखोला गाउँपालिकाले एक वर्षभित्र आलु र अलैंचीको जोन बनाउने योजना ल्याएको छ ।

आलुका लागि गाउँपालिकाका सबै वडा र अलैंचीका लागि अर्गल, सिले, भुस्कात र माझखर्क गाउँ छुटयाइएको छ । हाल ५ लाख बढी बिरुवा लगाइसकिएको अलैंचीलाई बढाउन नर्सरी पनि तयार गरिएको छ । त्यस्तै दुई वटा वडाका सबै घरमा अनिवार्य लगाउन आर्थिक र प्राविधिक सहयोग जुटाउने प्रतिबद्धता गाउँपालिकाले दिएपछि किसान उत्साही भएका हुन् ।

क्षेत्रफल पर्याप्त भएको, उचित हावापानी र सिँचाइको सुविधाले दुवै फसलको जोन बनाउन सकिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कृषि पेसामा लागेकाहरू कृषिबाटै धनी बन्नुपर्छ भन्ने मान्यताले लगानी बढाएका छौं,’ घर्तीले भने, ‘त्यसका लागि गाउँपालिकासहित प्रदेश र केन्द्रीय सरकारको लगानी पनि भित्र्याउने तयारी छ ।’ बाग्लुङमा बर्सेनि ४० हजार टन आलु फल्छ । त्यो मध्येको आधा ताराखोलामा मात्र फल्ने अनुमान छ । गाउँपालिकाले ताराखोलामै किबी र लसुनको ब्लक बनाउने तयारी गरेको छ । गाउँपालिकाले कृषि प्राविधिक राखेर सबै किसानको बारीमा नियमित अनुगमन गर्ने, उत्पादन बढाउन आवश्यक मल र बीउ उपलब्ध गराउने कामसमेत थालिसकेको हो ।

घरघरमै कृषि व्यवसायी उत्पादन गरेर समृद्धिको गाउँपालिका बनाउने कार्यपालिका सदस्यले संकल्प लिएको उपप्रमुख दिलकुमारी पुनले बताइन् । ‘कोही पनि खाली हात नबस्ने, कृषि उत्पादन गरियो भने केही वर्षमै धनी बनिन्छ,’ उनले भनिन्, ‘कृषि उद्यममा छुटेकाले पनि अन्य व्यवसाय गर्नैपर्छ ।’ कृषिमा आधारित उद्यममा अनुदानको व्यवस्था गर्ने र अन्यलाई आवश्यकताअनुसारको सहयोग गर्ने गाउँपालिकाले नीति लिएको हो ।

ताराखोलाका किसानले आलुबाटै लाखौं कमाइरहेका छन् । अब भने संकलन केन्द्र, स्टोर बनाएर बेमौसममा पनि बिक्री गर्ने तयारी छ । यकिन तथ्यांक नभएकाले गाउँपालिकाले घरघरको उत्पादनको लागत राख्न लगाएको घर्तीले बताए । हरेक घरलाई खान पुगेर ५० हजार देखि ३ लाख रुपैयाँसम्मका आलु बिक्री गर्नेहरू यहाँ छन् ।

ताराखोलामै किबीको सफल परीक्षण उत्पादन भएको छ । राम्रो फलेको देखेपछि गाउँपालिकाले अनुदानसमेत दिएर किसानलाई उत्पादन बढाउन लगाएको छ । लसुनको अत्यधिक उत्पादन गर्न सकिने भएकाले युवालाई बीउ र प्रविधि हस्तान्तण अभियानै चलाएको घर्तीले बताए । द्वन्द्वपीडित, दलित र आर्थिक रूपमा कमजोर परिवारका सदस्यलाई कृषि र पशुपालनको काम गर्दा अनुदान दिने नीतिले उत्साहसमेत थपिएको छ । कृषि प्राविधिक पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने गरी चालु वर्षदेखि ३ लाख रुपैयाँ विनियोजनसमेत गरेको हो ।

उत्पादित आलु र लसुन स्थानीय जातकै लगाइने व्यवस्था गरिएको उपप्रमुख दिलकुमारी पुनले बताइन् । बाँझो जमिन नराख्ने गरी स्थानीय जातकै बोडी, सिमी र भटमास लगाउन पनि किसानलाई प्रोत्साहन गरिएको छ । ‘घण्टौं हिँडेर पुगिने गाउँमा आएपछि दूध, मोही, आलु र गेडागुडीसमेत लोकल खान पाइन्छ,’ पुनले भनिन्, ‘च्याउ उत्पादनमा पनि किसान अग्रसर छन् । किसान आफैं लागिपरेका कार्यक्रममा स्थानीय तहले सघाउने रणनीति नलिई पनि हुँदैन ।’ कृषिका हरेक फसल उत्पादन गर्न चाहनेलाई आवश्यकताअनुसारको अनुदान र प्राविधिक सहयोग गर्ने नीति बनाएपछि धेरैमा उत्साह थपिएको उनले बताइन् ।

गाउँपालिकाकै अगुवाइमा कृषि उपचार शिविर, सफा मासुका लागि तालिम र केही बिक्री केन्द्र, आधुनिक बधशालासमेत बनाउन लागेको उनले बताए । चालु वर्षका लागि गाउँपालिकाले कृषि फसल वृद्धिका लागि मात्र ७२ लाख रुपैयाँ विनियोजन गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलुकै लागि यहाँ छुट्टै लगानी गर्न लागेको छ । भैंसीका पाडापाडी हुर्काउनेलाई सुत्केरी भत्ता स्वरूप १ हजार रुपैयाँ दिन २ लाख रुपैयाँ विनियोजन गरेको हो ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments