लमजुङे अलैंचीमा भुटानी चासो

लमजुङ — करिब १० वर्षअघि अलैंची खेती थालेको भुटानले नेपालको अलैंची खेती र यसको गुणस्तरमा चासो देखाएको छ ।

नेपाल जस्तै पहाडी भूगागको सेपिलो ठाउँमा भुटानीले अलैंची खेती गर्दै आएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् । भुटानको कृषि मन्त्रालयअन्तर्गतको निकायका वैज्ञानिकसहितका अधिकृत तथा प्राविधिकले लमजुङको अलैंची बगानमा आएर यहाँको खेती र तयार पारेर बजार पठाउने तरिकाबारे जानकारी लिइरहेका छन् ।

लमजुङको अलैंची ‘गुणस्तरयुक्त’ सुनेका अधिकारीहरूले मस्र्याङदी गाउँपालिका ७ छिनखोलाको अलैंची बगान अवलोकन गरे । छिनखोलामा ५२ घरधुरीले २० हेक्टर हाराहारी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् ।

भुटान सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रका वैज्ञानिक पेमा युटेनको नेतृत्वमा १४ अधिकारीले लमजुङमा फल्दै गरेको अलैंचीबारे जानकारी लिएका हुन् । युटेनका अनुसार नेपाल र भुटानको अलैंची खेती, टिप्ने, सुकाउने तरिका फरक पाएको बताइन् ।

‘भुटानले अलैंची खेती थालेको १० वर्ष भयो । हामी नेपाली अलैंची खेतीबारे बुझ्न र यहाँको गुणस्तरबारे बुझ्न आएका हौं,’ उनले भनिन् । ‘हामीले अलैंची बिरुवाको गाँज छुटयाएर खेती गर्दै आएका छौं । यो परम्परागत रहेको नेपाल आएपछि थाहा पाएँ । अब नर्सरी स्थापना गरेर हामी अलैंची लगाउँछौं,’ उनले भनिन् ।

नर्सरीको बिरुवा खेती गर्दा रोग नलाग्ने, धेरै समय टिक्ने, फल राम्रो हुने भएकाले यसबाट राम्रो उत्पादन र गुणस्तरीय अलैंची निस्कने ज्ञान पाएको उनले बताइन् । ‘हामी धूवाँको मुस्लो निकालेर भट्टीमा अलैंची सुकाउँछौं । यहाँ आधुनिक बिजुलीबाट चल्ने भट्टी रहेछ । यसैले त यसको रङ जस्तो हुनुपर्ने हो, त्यस्तो भयो । हाम्रो त कालो हुन्छ,’ उनले भनिन् ।

नेपालको अलैंची बजारबारे जानकारी लिएका उनले भुटानको अलैंची भारतमा भारतीय रुपैयाँमा कारोबार हुने जानकारी दिइन् ।

भुटानका प्राविधिकका अनुसार भुटानमा गोलसाई, रामसाई र भर्लांगे जातका अलैंची लगाउने गरिएको छ । डम्मरसाई, साउने र जिर्मले जातको अलैंचीबारे नेपाल आएपछि थाहा पाएको उनीहरूले बताए । उनीहरूका अनुसार भारत र सिक्किमबाट अलैंचीको गाँज छुटयाएर अलैंची खेती गरिएको हो । तीन वटै जात (गोलसाई, रामसाई, भर्लांगे) एकै ठाउँमा लगाउँदा राम्रो नभएको कृषि अनुसन्धान केन्द्रका अधिकृत जिग्मी सिङएले स्विकारे । ‘हामी त भर्खर बामे सर्दै छौं । नेपालको अलैंची खेती गर्ने तरिका, प्रविधि र विकासलाई हामीले आफ्नो देशमा गएर कार्यान्वयन गर्नेछौं,’ उनले भने । भुटान सरकारले बिस्तारै अलैंचीजस्ता नगदेबालीमा अनुदान बढाएकाले अलैंचीको विकास हुनेमा ढुक्क रहेको उनले बताए ।

भुटानीसँगै ताप्लेजुङका अलैंची कृषक, व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा कर्मचारीले समेत लमजुङको अलैंचीबारे चासो देखाएका छन् । ‘लमजुङको अलैंचीको चर्चा खुबै सुनिन्छ । यहाँको अलैंचीको गुणस्तरबारे हामीले जान्ने मौका पाएका छौं ।

लमजुङबाट केही सिक्नुपर्ने देखियो,’ ताप्लेजुङका अलैंची कृषक मंगलसिंह केदेम लिम्बुले भने । ‘हामी अलैंची कृषकबीच यसको प्रविधि र विकासबारे छलफल हुँदा यसले गुणस्तर बनाउन थप निखार ल्याउँछ,’ उनले भने । उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारानाथ घिमिरेले ताप्लेजुङमा ४ हजार ५ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको बताए । गत वर्ष २ हजार ४ सय ९० टन अलैंची उत्पादन भएको उनीहरूले बताएका छन् ।

मस्र्याङदी गाउँपालिका ७ का वडाअध्यक्ष युवा घलेले अलैंची खेतीतर्फ कृषकको आकर्षण बढेको बताए । ‘मूल्यमा आएको गिरावटले किसानलाई चिन्तित बनाएको छ । सुधारका उपायहरू अपनाउनुपर्छ,’ उनले भने । अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले नेपालको अलैंचीबारे विदेशीले चासो लिनु सुखद् भएको बताए । ‘भुटान र ताप्लेजुङका टोलीलाई लमजुङको अलैंची देखाउन पायौं । खेती गर्ने तरिकादेखि सबैखाले व्यवस्थापनबारे बुझायौं । समन्वयका साथ अघि बढ्ने गरी छलफल भएको छ,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) का वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाले लमजुङको अलैंचीमा केही सुखद पक्ष भित्रिएको बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments