पर्सामा धान उत्पादन बढ्यो

वीरगन्ज – पर्सामा यो वर्ष धानको उत्पादन गत वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा गरिएको धान खेतीमा औसत ५.०५ मेट्रिक टन प्रतिहेक्टर दरमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए।

आकासे पानीका भरमा धेरैजसो क्षेत्रमा खेती हुने गरेकाले अघिल्लो वर्ष मौसमले साथ नदिँदा धान उत्पादन प्रतिहेक्टर ४.४ मेट्रिक टन मात्र थियो। ‘रोपाई भएदेखि नै समय समयमा वर्षा भइराख्यो, बाढी आएन र खरेडी पनि परेन,’ यादवले भने, ‘मौसमले यसपालि धान खेतीलाई साथ दियो भन्नु प-यो। यो वर्ष धान उत्पादन राम्रो भयो।’ उनका अनुसार अघिल्लो वर्ष समग्रमा पर्सामा करिब दुई लाख आठ हजार दुई सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष दुई लाख २७ हजार दुई सय ५० मेट्रिक टन धान त्पादन भएको छ।

यो वर्ष ‘आदरा’ अर्थात असार १५ सम्म नपरेको पानी असार १७ मा सुरु भयो। त्यसपछि लगातार मौसमले साथ दिएको किसानको भनाइ छ। यसपालि प्रतिकट्ठा खेतमा अढाईदेखि साढे तीन मनसम्म धान उत्पादन भएको किसान बताउँछन्। एक मनमा ४० किलो हुन्छ। ‘पानी अभावले रोपाई ढिलो भयो। धानका गेडा केही कमजोर छन् नभए यसपालि अझ बढी धान हुने थियो,’ पर्साको सिबर्वाका किसान बुनिनारायण कुर्मीले भने, ‘उब्जनी घटेको भने छैन। धान ठिकै भयो, भाउ पाइयो भने मात्र किसानलाई फाइदा पुग्छ।’

धान बाली लगाइने क्षेत्रफल भने घटेको छ। यो आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा धान खेती भएकामा अघिल्लो आव ०७४/७५ मा ४५ हजार तीन सय ५० हेक्टरमा धानखेती भएको थियो। ४.९ प्रतिशतले धान खेतीको क्षेत्र घटेको तथ्यांक रहेको यादवले बताए।

खेतीका सवालहरु
धानमा खेत तयारी गर्नेदेखि दाइँ गरेर घरमा भिœयाएसम्म एक हजार रुपैयाँसम्म प्रतिकट्ठाको हाराहारीमा खर्च लाग्ने गरेको किसानको भनाइ छ। धान अहिले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार एक सय रुपैयाँसम्म किनबेंच भइरहेको कुर्मीले बताए। करिब ६ महिनासम्म बहुमूल्य खेत फसाएर अनि पैसा, श्रम र समय खर्च गरी हुने आम्दनी नगण्य रहेको किसान बताउँछन्। ‘मलखाद, बिउ, मजदुरी र सिँचाइ लगायत खर्च घटाउन नसक्दा अधिक लागत परिरहेको अवस्थामा उत्पादनको भाउ राम्रो भइदिए धानको उब्जनी जस्तै किसानको खुसी पनि बढ्ने थियो,’ क’र्मी भन्छन्।

धान खेतीमा श्रम व्यवस्थापन किसानलाई चुनौती छ। नयाँ पुस्ता विदेसिएको वा सहर बजारतिर सरेकाले गाउँमा खेती किसानीको काम गर्ने मान्छेहरुको संख्या घटेको छ। कृषि जोगाइराख्न गाउँहरुमा श्रम सापटीको परम्परा सुरु भएको छ। पहिलोले अर्काको खेतमा काम गरिदिएवापत त्यो व्यक्तिले फेरि पहिलोको खेतमा काम गरेर हिसाब बराबर गर्ने चलन इमान्दारीसाथ गाउँमा यतिखेर कार्यान्यवन भइरहेको छ। यसले गर्दा खेती किसानीलाई भने केही हदसम्म बल मिलेको छ। त्यस्तै कृषियन्त्रले पनि सघाएको छ। जोताइका लागि कल्टिभेटर वा रोटाभेटरसहित ट्याक्टर, कटाइका लागि हार्बेस्टर र दाइँका लागि थ्रेसर उपयोगमा ल्याइदै छ।

सिँचाइ अभावले भने किसानको मन बेलाका बेला ओइलाउछ। जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये एक तिहाइ भूभाग मात्र गण्डक पूर्वी नहरसँग जोडिएका छन्। नहरका अधिकांश तरसरी (कुलो) कि त व्यक्तिले मिचेर संरचना नै मेटाइदिएका छन्। कही सार्वजनिक रुपमै नहरलाई भरेर सडकका रुपमा प्रयोगमा ल्याइसकिएको छ। यसले नहर सञ्जालबाट जोडिएका खेतहरुमध्ये ठूलो हिस्सा त्यसको सिँचाइ प्रणालीबाट अलग्गिएका छन्। भएको नहरमा चाहिएको समयमा पानी आउँदैन। आकासे पानीको भर छ यहाँका किसानलाई। यसपालि ढिलै भए पनि आकास देउताले साथ दिएको किसानको भनाइ छ।नागरिक

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments