सडक नहुँदा किसानलार्इ सास्ती

मेलम्ची – सिन्धुपाल्चोक मेलम्चीकी सम्झना गिरी आफ्नो मेहेनत र परिश्रममा विश्वास गर्छिन्। मेलम्ची नगरपालिका–८ की सम्झनाको पेसा खेती किसानी हो। विशेषगरी तरकारी खेती गर्दै आएकी उनले आधुनिक कृषि पद्धति अपनाएकी छिन्।

उनलाई आफ्नो खेतबारीमा फलेका काउली, गोलभेंडा, बन्दाकोवी, खोर्सानीलगायत उत्पादन बेच्न भ्याइनभ्याई छ। एउटा मात्रै होइन उनलाई नयाँ तरकारी लगाउन समेत हतारो भइसकेको हुन्छ।

२०७२ सालको विनासकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा आधुनिक तरकारी खेती सुरु भएको छ। भूकम्पपछि सरकारी तथा गैरसरकारी संघसंस्था सहयोगका लागि गाउँमा भित्रिए। कतिपयले स्थानीय कृषि पद्धतिलाई उत्थाान हुने गरी विभिन्न कार्यक्रम ल्याए।

सम्झनाजस्तै गाउँका धेरै कृषकले आधुनिक कृषि पद्धति अपनाएका छन्। थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले कृषक आधुनिक तरकारी खेतीप्रति आकर्षित भएका छन्।

यातायातको असुविधा, बजार अभावले उत्पादित वस्तुहरु बजारसम्म पु-याउयन नसक्दा किसान मर्कामा परेका छन्। ‘कहिलेकाहीँ त उत्पादित तरकारी फाल्नुपर्छ,’ मेलम्ची–८ का पदम गिरीले भने, ‘पोहोर झन्डै सय किलो तरकारी फल्नुप-यो।’ मौसमी तरकारी गाउँघरमै बिक्री हुने तर बेमौसमी तरकारी बिक्री गर्न भने बजारतिर लानुपर्ने उनी बताउँछन्।

सिँचाइ अभाव, तालिमप्राप्त कृषिविज्ञको कमी र कृषि क्षेत्रप्रति सरकारी बेवास्ताका कारण तरकारी खेतीमा किसान कम आकर्षित छन्। जसले गर्दा परम्परागत कृषि प्रणालीले नै निरन्तरता पाइरहेको छ। ‘सहयोगी संस्थाहरूले तरकारी खेतीका लागि प-र्याप्त बीउबिजन र अनुदान दिएका त छन् तर गाउँमा सिँचाइ र जेटिएहरु नहुँदा किसानमा तरकारी लगाउने रुचि छैन,’ तरकारी किसान मसली गिरीले भनिन्। गत वर्ष उनले तरकारी खेतीका लागि अनुदान पाइन्। साथै टनेल, ड्रम, पाइप तथा बिउबिजन पनि पाइन्। तर सिँचाइ तथा दक्ष कृषि प्राविधिक अभावका कारण तरकारी खेती फस्टाउन नसकेको उनले बताइन्। ‘बिउबिजन र अन्य अनुदानले मात्रै नहुने रहेछ। उत्पादन हुन्जेलसम्म जेटिएले रेखदेख गरिदिए मात्र खेती राम्रो हुने रहेछ,’ उनले भनिन्।

मेलम्ची–८ का तरकारी किसान पदम गिरी पनि तरकारी खेतीमा लामो समयदेखि सक्रिय छन्। उनी वर्षमा तीन बालीसम्म लगाउँछन्। एक बालीको बिक्रीबाट १५ देखि २० हजार आम्दानी हुने उनको भनाइ छ। ‘तरकारीमा किरा, फट्यांग्रा नलागी राम्रो उत्पादन भयो भने अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन्छ,’ गिरीले भने, ‘बर्खाको समयमा यातायात असुविधाले गर्दा उत्पादित तरकारीलाई बजारसम्म पु-याउन हम्मेहम्मे हुन्छ।’ यातायात सुविधा र बजारीकरण हुने हो भने सहज हुने उनले बताए।

यातायात सुविधा र बजार भाउ राम्रो हुने हो भने गाउँका अन्य किसान पनि तरकारी खेतीमा आबद्ध हुने उनको भनाइ रहेको छ।

परम्परागत खेतीलाई आधुनिक खेतीतर्फ रुपान्तरण गर्न सकिए तरकारी खेतीप्रति किसान आकर्षित हुनसक्ने स्थानीय प्रवद्र्धक बताउँछन्। ‘तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले स्थानीय मौसम सुहाउँदो काउली, बन्दा, गोलभेंडा, खुर्सानीलगायत उत्पादनलाई प्रोत्साहन गरिरहेका छौं,’ केयर नेपालका जीवन केसीले भने, ‘प्रत्येक वडामा एउटा भण्डारण र तालिम केन्द्रको व्यवस्था हुन सक्यो भने धेरै नै राम्रो हुन्छ।’

यातायातको व्यवस्था र बजारीकरण हुन सक्यो भने यहाँका धेरै कृषक तरकारी खेतीमा आकर्षित हुनसक्ने देखिन्छ। ‘विकास र उन्नतीका लागि सबैभन्दा महत्वपूर्ण मोटरबाटो हो र यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं,’ मेलम्ची नगरपालिका–८ वडा प्रमुख ठंकराज गिरीले बताए। अबको पाँच वर्षमा बाह्रै महिना गाडी चल्ने गरी बाटो निर्माण भइरहेको समेत उनले बताए।नागरिक

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments