वर्षमा एक बाली मात्रै

maize

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका १ बारंगेका सेतुराम बुढा मगरको बारीमा मकै र गहुँ हुर्किरहेको छ । सोही ठाउँकी कमला बुढालाई पनि मकै र गहुँ स्याहार्न भ्याइनभ्याई छ ।

सेतुराम र कमलाको मात्रै होइन, त्यस क्षेत्रका सबै स्थानीयको जग्गामा मकै र गहुँ हुर्किरहेको छ । मकै गोड्ने बेला भयो । गहुँले गेडा लाउँदै छ । पहिलोपटक मकै र आलु गोड्न व्यस्त स्थानीय गहुँ पाक्ने प्रतीक्षामा छन् । उनीहरूले अन्य ठाउँजस्तो गहुँ भित्र्याएर मकै र मकै भित्र्याएर गहुँ लगाउँदैनन् ।

‘हामीले चैतमा मकै छर्‍यौं, गत असोज/कात्तिकमा छरेको गहुँ पाकेको छैन,’ सेतुरामले भने, ‘यस क्षेत्रमा एउटा बाली पाकेर सोही जग्गामा अर्को बाली लाउन सम्भव छैन ।’ चैतमा मकै लगाउने जग्गा बाँझो राख्नुपर्ने उनले बताए । असोज–कात्तिक महिनामा लगाएको गहुँ असार–साउन महिनामा पाक्ने भएकाले त्यसपछि मकै लगाउने जग्गा चैतसम्म बाँझै राख्नुपर्ने भनाइ उनको छ । त्यस क्षेत्रमा असार वा साउनमा लगाएको मकै फल्दैन ।

राम्रो मकै उत्पादन गर्ने हो भने चैतमा नै मकै लगाउनुपर्ने कमलाले बताइन् । ‘चैतमा मकै लगाउने जग्गामा हामी असोज–कात्तिकमा गहुँ लगाउँदैनौं,’ कमलाले भनिन्, ‘कतिपयले गहुँ भित्र्याएपछि तोरी र फापर छर्ने भए पनि
प्रायजसोले मकै लगाउने जग्गा बाँझै राख्ने गर्छौं ।’ उक्त क्षेत्रको एक हजार नौ सयदेखि दुई हजारचार सय मिटरसम्मको उचाइमा खेती हुनेगरेको छ ।

उच्च लेकाली क्षेत्र भएकाले बाली समयमै नपाक्ने स्थानीयले बताए । फागुन–चैतमा आलु लगाउने त्यस क्षेत्रका जग्गा पनि अर्को चैतसम्म बाँझै हुन्छ । फागुन–चैत्रमा लगाएका आलु भदौ असोजमा निकालिन्छ । त्यसपछि जग्गा चैतसम्म बाँझै रहन्छ ।

बारंगे मात्रै होइन डाँडागाउँ, लुस, गैरीगाउँ, चैतीखारालगायत ठाउँमा पनि वर्षमा एक बाली मात्रै लाग्छ । ‘यो भूगोल त्यस्तै हो,’ वडाध्यक्ष देवबहादुर घर्ती मगरले भने, ‘उहिल्यैदेखि यसरी नै बाली लगाउने गरिएको छ ।’ उनले त्यस क्षेत्रका सबै बस्ती जग्गामा पुरानै बाली लाग्ने गरेको पनि बताए ।कान्तिपुर

Leave a Reply

Your email address will not be published.