धान फल्यो, बजार छैन किसानलाई मार नपारी किन्दिने कसले ?

राधा खनाल

झापा : वर्षा सुरु भएसँगै चैते धान लगाउने किसानलाई हरेक वर्ष एउटै चिन्ता हुन्छ, कसरी धान सुकाएर बिक्री गर्ने ? सुकाउन नसकिए बिक्री हुँदैन। कुहियाएर फाल्नुपर्ने हुन्छ।

कचनकवल गाउँपालिकाका ५ कि कृषक निरमाया रिजालले करिब ६ बिघा जग्गामा लगाएको धान नौ सय मन फल्यो। ‘तर, यो धान हामी किसानलाई मार नपारी किन्दिने कसले ? ’, रिजालले भनिन्, ‘सधैँ हामीलाई धान रोप्ने बेलामा बिक्री होला कि नहोला भन्ने दोधार हुँदै रोप्नुपर्ने हुन्छ। ’

गत वर्ष भद्रपुर नगरपालिका वडा नम्बर १ का किसान भरत राजबंशीको गत वर्ष करिब ९० क्विन्टल धान सुकाउन नसक्दा सबै खेर गयो। यो वर्ष उनले अलिक छिटो धान रोपेकाले धान पाकिसकेको छ। यो वर्ष पनि तनाब छ, सुकाएर बेच्न नपाई बिग्रन्छ कि भन्ने भन्ने उनलाई तनाव छ। उनी भन्छन्, ‘सुपरजोनले खेती सजिलै गर्न सिकायो तर खेती पाकेर बजारीकरणमा पहल गर्न सकेन। ’ बनियानीकै अर्का कृषक नवराज भट्टराईले, ‘तीन विघा क्षेत्रफलमा धान लगाएको थिएँ। सबै पानीले डुवान भइसकेको छ। कसरी काटेर बिक्री गर्नु भन्ने समस्या छ। ’

जिल्लामा सञ्चालित धान सुपरजोन परियोजनाअन्तर्गत गत वर्ष १५ सय हेक्टर जमिनमा कचनकवल क्षेत्रमा धान लगाउने गरिएको थियो। यो वर्ष भने सुपरजोन कार्यक्रम जिल्ला भरी लागू भए पनि जम्मा १२ सय हेक्टर जमिनमा कृषकले धान लगाएका छन्। सुपरजोनले गत वर्षमा प्रोत्साहन अनुदान कार्यक्रम यसपालि हटाएकोले पनि कृषक आकर्षित हुन सकेनन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी भन्छन्, ‘गत वर्षको उत्पादन ८ हजार ७ सय मेट्रिक टन र यस वर्षको अनुमानित उत्पादकत्व ६ हजार ९ सय ६० मेट्रिकटन रहेको छ। गत वर्षभन्दा यो वर्ष १७४० मेट्रिकटन धान उत्पादनमा घटेको छ। सुवेदीका अनुसार क्षेत्रफल घटेकाले यो अस्वभाविक हैन।

उनी भन्छन्, ‘बजारीकरणमा स्थानीय कृषकले पनि ध्यान नदिएको जस्तो देखिन्छ। ’ गाउँ गाउँमा करोडौँको कारोबार गर्ने सहकारी छन्। २,४ वटा सहकारी मिलेर एउटा स्टोर सेन्टर राख्न सक्छन्। त्यसैमा ड्रायर मेसिन पनि राख्न सरकारले पहल गर्छ। सुवेदीका अनुसार सुपरजोन परियोजनाबाट यस वर्ष पनि सरकारले मिल राख्न अनुदान पठाएको थियो। मिल मालिकले प्रस्ताव हालेका थिए तर सम्झौता गर्न आएनन्। बजेट फिर्ता गयो।

ड्रायर मेसिन झापामा चलाउन नेपालमा जनशक्ति पाइँदैन। मान्छे भारतबाट ल्याउनुपर्छ। ड्रायर मेसिननै राखे पनि धान स्टोर गरेर राख्ने स्टोर गरेर राख्ने ठाउँ हुँदैन। ‘बर्खे धान नै स्टोरमा खचाखच छ’, मिल सञ्चालक याम बहादुर श्रेष्ठ भन्छन्, ‘अनुदान मात्र दिएर भएन त्यसमा चाहिने जनशक्ति मुख्य कुरा हो। नेपालमा मान्छे पाइँदैन। भारतबाट मजदुर ल्याएर चलाउनुपर्छ। ’

कृषि ज्ञान केन्द्र झापाका अनुसार चैते धान जिल्लामा पहिला २१ हजार हेक्टरमा लगाउने गरिन्थ्यो। यो वर्ष भने १९ हजार ८ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। चैते धानको उचित मूल्य नपाउने भएका कारण धान खेतीतर्फ कृषकको आकर्षण घटेको छ।

जिल्लामा बर्खे धान ८४ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। चैते धानमा मस्चर बढी भएको कारणले किसानले मूल्य पाएका छैनन्। अन्नपुर्ण पोस्टमा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments