धान खेती प्रविधि

स्मृति खनिया
धान खेतिको परिचय :
धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धान अन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसार भरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।

बीऊदर :
उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

बीऊ उपचारः

बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने ।

बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।

जमिनको तयारी:

रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने ।

जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।

रोपाईं गर्ने प्रविधि:

पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने ।

उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।

रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ ।

यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।

मलखाद:

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ ।

उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।

मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं ।

यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ ।

धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ ।

सिँचाइ तथा निकास :
बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।

धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ ।

झारपात नियन्त्रण:
झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने,
छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने ।

उपयोगीता:
चामल विश्वका जनसङ्ख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको मुख्य खाद्य हो। भारतीय संस्कृतिमा यसको ठूलो महत्त्व छ अनि जन्मदेखि मृत्युसम्म यसको अस्तित्व सधैं रहेकै हुन्छ। चामल पकाएपछि भात, पलाउ, ब्रियानी र अन्य धेरै भोजनको रूपमा खाइन्छ। भारतमा धानले करिब ४२ मिलियन हेक्टरको ठूलो क्षेत्र ओगटेको छ अनि अधिकतम उत्पादन ९१.८ मेट्रिक टन रेकर्ड गरिएको छ (भारतको आर्थिक सर्वेक्षण, २००६)।

यसले प्रमुख खाद्यान्न मात्र प्रदान गर्दैन, तर विश्वभरि अतिरिक्त रोजगार पनि सिर्जना गरेको छ। यसका उपोत्पादन (बाइ-प्रोडक्ट) विभिन्न औद्योगिक उत्पादनहरू बनाउन प्रयोग गरिन्छ। खासगरी यसमा च्यापच्यापे तरल पदार्थ (स्राव) –को राम्रो मात्रा हुने हुनाले वस्त्र उद्योगमा यसको प्रयोग गरिन्छ। धानको पराल प्याकिङ गर्न प्रयोग हुन्छ। यो पशुआहारको उत्तम स्रोत हो अनि सोतरको रूपमा पनि उपयोग गर्न सकिन्छ। धानको कनिका भोज्य तेलको एउटा स्रोत हो। यसको भुस कार्डबोर्ड बनाउन पनि प्रयोग गरिन्छ।

लेखक : स्मृति खनिया( Isc agriculture लमजुङमा अध्यनरत बिद्यार्थी हुन्
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments