कास्कीका सर्वसाधारण टुसा टिप्ने पखाईमा

कास्की, कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरण गर्न लगाइएको लकडाउन दुई दिन अघिदेखि खुल्यो । लडकाउन खुलेपनि सार्वजनिक यातायात सहज भएको छैन । यातायात सहज नहुँदा कास्कीको ल्वाङघलेलको टुसा पोखराको बजारसम्म आईपुगेको छैन । लकडाउनकै कारण टुसा टिप्ने अनुमति दिइएको छैन । साउनको दोस्रो साता आईपुग्दा टुसा टिप्न अनुमति अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले दिइसकेको छैन ।

बजारबाट टुसा टिप्नको लागि ल्वाङघलेलसहित अन्य ठाँउमा समेत सर्वसाधारण पुगिसकेका छन् । ‘लकडाउनले ढिलो भएको छ । सवारी साधन पनि चलेका छैनन् । टुसा टिप्न दिने कि नदिने निर्णय भईसकेको छैन,’ एक्याप अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङघलेलका सचिव सुकबहादुर तामाङले भने–‘टुसा टिप्न भनेर बजारबाट मान्छे आएका छन् । तर स्वीकृति दिने विषयमा छलफल गर्दै छौं ।’ उनका अनुसार संरक्षण क्षेत्र व्यवस्थापन समितिकै सिफारिसमा एक्यापले टुसा टिप्ने स्वीकृति दिन्छ । समितिको राजस्वको महत्वपूर्ण आधार नै टुसा नै हो ।

व्यवस्थापन समितिले यो वर्ष केवल २० दिन मात्रै टुसा टिप्ने दिने योजना बनाएको छ । गतवर्षभन्दा यो वर्ष टुसाको संकलन बढी हुने अनुमान गरिएको छ । असार अन्तिम सातादेखि र साउन बढी मात्रामा टुसा बजार आईपुग्ने समय हो । सचिव तामाङका अनुसार घोरे, मालिङ्गे र जडिबुटी प्रजातिका टुसा उत्पादन हुँदै आएको छ । साउनमा मालिङ्गे टुसा आउँछ । स्वादिलो हुने हुँदा उपभोक्ताको पहिलो रोजाईमा रहन्छ । निश्चित समयसीमा तोकेर मात्रै टुसा टिप्ने स्वीकृति एक्यापले दिने गरेको छ । यो वर्ष भने स्वीकृतिको पखाईमा सर्वसाधारण छन् । पोहोर साल भने साउन १ गतेदेखि स्वीकृति प्रदान गरिएको थियो ।

नियमित झरी परेको छ । झरीले जनजीवन प्रभावित भएको छ । झरीकै कारण पनि टुसा टिप्न कठिनाई हुन्छ । व्यवस्थापन समितिले वर्षेनी टुसा टिप्न समूह बनाएर सर्वसाधारणलाई खटाउने गरेको छ । एक मुठा टिपे वापत २५ रुपैयाँ दिईन्छ । टिपिएको टुसालाई संकलन गरेर बजारमा बिक्री वितरण गरिन्छ । बजारमा बिक्री गरेपछि व्यवस्थापन समितिलाई राजस्व आउँछ । ‘वर्षमा ५० देखि ६० हजार मुठा संकलन गरेर बजारमा बिक्री वितरण गरिन्छ ।’ सचिव तामाङको भनाई थियो । टुसा टिप्न समूहमा एक जनालाई जिम्मेवारी नै दिईन्छ । टुसा टिपेरै गाउँलेले लाखौं रुपैयाँ कमाई गर्ने गरेका छन् ।

‘कागज बनाएर जिम्मेवारी दिन्छौं’ उनले भने–‘निश्चित परिमाण टिपेर तोकिएको संकलन केन्द्रमा ल्याईन्छ ।’ संकलन केन्द्रबाट ढुवानी गरी बजारसम्म ल्याई बिक्री गर्दा समितिलाई दुई÷तीन लाख रुपैयाँ राजस्वको रुपमा आउँछ । टुसालाई पोखराको कोशेलीको रुपमा लिइन्छ । टुसा कास्कीको ल्वाङघलेल बाहेक सार्दीखोला र घाचोक क्षेत्रमा पनि पाईन्छ । जंगल जनावर भालुको खान्की टुसा हो । टुसा समुद्री सतहदेखि २५ सय मिटरदेखि ३५ सय मिटरको उचाईसम्म पाईन्छ । कास्कीको विभिन्न ठाँउबाट वार्षिक एक करोड रुपैयाँ बराबरको पोखराको बजार तथा अन्य शहरसम्म पुग्छ । अन्य शहरमा विशेष गरी कोशेलीको रुपमा लैजान्छन् ।नागरिक

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments