कृषक कथा : कतारमा १५ वर्ष बसेर फर्केका गिरी दाजुभाइको लोभलाग्दो उद्यम

बर्दियामा बङ्गुर मिसन कार्यक्रम

गलकोट:

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन्। यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार गए ।

कतारमा १५ वर्ष बसेर नेपाल फर्केका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाए। मीन रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए ।

विसं २०६८ मा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे। फर्निचर उद्योग स्थापना गरेको १० वर्ष भइसक्यो। अहिले थापा दाजुभाइकहाँ सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ ।

कुटानी–पिसानी मिलसमेत छ। दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीनले बताए। “सुरुमा हामी दुवै शिक्षक थियौँ, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेसा गर्दै आए, उहाँ गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौँ भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म बिहान–बेलुका समय दिन्छु”, उनले भने, “बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौँ, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौँ ।”

अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन्। अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ। बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक रु तीनदेखि चार लाख कमाउने गरेको गिरीले बताए ।

“फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिकरूपमा पालेका छौँ”, उनले भने, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ, अहिले थोरै भए पनि वार्षिक १०-१२ लाखको कारोबार हुँदै आएको छ ।”

दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन्। अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री भएको छ। फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ। मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाले बताए ।

उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ। कुटानी–पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको दाजुभाइको भनाइ छ। त्यसबाहेक फर्निचरमा दुईजना युवाले रोजगारीसमेत पाएका छन् ।

बङ्गुरको मासुका लागि रु ४०० प्रतिकेजी र पाठापाठीलाई रु पाँच हजारमा बिक्री गर्दै आएका उहाँहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर लिएर पाल्दै आएका छन्। बङ्गुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री गर्ने गरेको गिरीको भनाइ छ ।

बँदेलको मासु प्रतिकेजी रु ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई रु छ हजारमा बिक्री गर्दै आएका छन्। दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?