कृषि तथा पशुपालनमा आकर्षित गर्न कृषि एम्बुलेन्स सहयोग

रामपुर (पाल्पा):दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो । हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको रु पाँच लाख, सहकारीको रु सात लाख २४ हजार ५५६ गरी रु २४ लाख ४९ हजार ५५६ को लागतमा एम्बुलेन्स खरिद गरिएको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि विभिन्न सङ्घ संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले कृषि एम्बुलेन्सको प्रयोगका लागि कृषिजन्य उत्पादन बढाउनु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि बजारीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालित परियोजनाले कृषि तथा पशुजन्य उत्पादन अभिवृद्धि तथा बजारीकरणको लागि एम्बुलेन्स प्रदान गरेको हो । कृषि शाखा प्रमुख रामहरि पाण्डेयले रामपुरमा कृषिजन्य उत्पादन वृद्धि हुँदै गएकाले एम्बुलेन्सको सही सदुपयोग गरी आर्थिकस्तर उत्थानमा लाग्न आग्रह गर्नुभयो ।(रासस)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments