सुर्ती खेतीबाट आम्दानी बढाउँदै महोत्तरीका किसान

surti

महोत्तरी: जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् ।

केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् ।

अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ ।

यो चुरोट बनाउने नभएर चुनामा मोलेर खाने सुर्तीको खेती हो ।

एक दशकअघिसम्म परम्परागत अन्न बाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेपछि किसानले वैकल्पिक खेतीका रुपमा सुर्तीलाई रोजेका हुन् ।

सुर्ती खेती गर्न लागेपछि घरको गुजारा चलाउन सहज हुनाका साथै नगद पनि सञ्चय गर्न थालिएको यहाँका किसानको भनाइ छ ।

कम सिँचाइमा पनि बढी उत्पादन लिन सकिने र भण्डारण एवम् प्याकिङको काम गर्न घरका परिवारले भ्याउने भएपछि सुर्ती खेतीलाई प्रमुख बालीको रुपमा स्थान दिइएको पडौलका राजकिशोर यादव बताउछन् ।

रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको उनको भनाइ छ ।

“रोप्ने र गोड्ने बेलामा चाँही श्रमिक चाहिन्छ, त्यतिखेर भ्याइनभ्याई पर्छ,” यादवले भने, “यो खेतीमा सुकेका पात छिमल्ने, काट्ने, पात चुँड्ने, सुकाउने, सुकेका पात वर्गीकरण गर्ने र कल्ली बाँध्ने काम परिवारकै सदस्यहरुले गर्न भ्याउन्छन् , त्यसैले त्यो काम उतार्न त्यति सकस पर्दैन ।”

यादव, कोइरी, मुसलमान र पासवान जाति र समुदायको बसोबास भएको यी बस्तीमा सुर्ती खेतीबाट मनग्य आम्दानी हुन थालेपछि नानीहरुको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् ।

यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान र पासवानका परिवारले पनि अब छोराछोरी पढाउन थालेका धमौरा बस्तीका हासिम कवारी बताउछन् ।

अहिले यी बस्तीका विद्यालयमा मुसलमान, पासवान जाति र समुदायका नानीहरु उल्लेख्य सङ्ख्यामा पढ्न थालेका धमौरा बस्तीकै एक विद्यालयका पूर्वप्रधानाध्यापक सुशीलकुमार यादवको भनाइ छ ।

धमौरामा करिब ५० बिघाको हाराहारीको जग्गामा सुर्ती खेती हुने गरेको छ ।

त्यसैगरी नगरक्षेत्रका पडौल, तीलगढ, बदियाबन्चौरी, अधियानपुर, रौजा, बनौटा, भगवतीपुर र सरञ्चियासहित बस्तीमा बिघौबिघामा सुर्ती खेती लगाइएको देखिन्छ ।

प्रतिकट्ठा १२५ किलोसम्म उत्पादन हुने सुर्तीबाट राम्रो भाउ पाउँदा एक कट्ठाबाटै रु २५ हजारसम्म आम्दानी भएको धमौराकै वासुदेव पासवान बताउछन् ।

भाउ केही खस्कँदासमेत रु २० हजारभन्दा नघटेको सम्बद्ध किसानको भनाइ छ । बलवा नगर क्षेत्रमा करिब १५० बिघाको हाराहारीमा सुर्ती खेती भइरहेको अधियानपुरका अमानुल्ला शेषको भनाइ छ ।

खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारी घरमै आएर सुर्ती किन्न थालेका छन् । यसले बजार खोज्ने झञ्झट नभएको ती किसान बताउँछन् ।
पछिल्ला दुई वर्षयता भने कोरोनाको महामारीले भारतीय व्यापारीको चहलपहल घट्दा भाउ खस्केको किसानको गुनासो छ ।

“भारतीय व्यापारीको सहज आवागमन हुँदा यतैका व्यापारीले पनि राम्रै भाउ दिन्छन्,” बनौटाका श्रीनारायण महतोले भने, “उता (भारत)का व्यापारीको चहलपहल घट्दा यताकाले भाउमा अलि दङ्ग्याउँछन् ।”

पछिल्ला दिनमा यी बस्तीको देखासिकीबाट छिमेकका लोहारपट्टि, भङ्गाहा र मनराशिव नगरपालिकाका दर्जनौँ बस्तीमा सुर्ती खेती गर्ने किसान ह्वात्तै बढेका छन् ।

सुर्तीको खेती व्यापक बढ्दै गए पनि कृषि विभागबाट कुनै रायसल्लाह, प्राविधिक सहयोग, परामर्श र अन्य अवसर नपाएको किसानको गुनासो छ ।

यता जिल्ला सदरमुकाम जलेश्वरस्थित कृषि ज्ञान केन्द्रले भने किसानहरु बीउबिजन र अन्य कुनै परामर्श सहयोगका लागि आफ्नो कार्यालयमा सम्पर्कमा नआएका जनाएको छ ।

यद्यपि किसानले रोजेका खेतीमा अब स्थलगत अनुगमन गरेर के सहयोग दिन सकिन्छ रु त्यसका लागि ती क्षेत्रमा कृषि प्राविधिक खटाइएको उक्त केन्द्रले बताएको छ ।

पछिल्लो समयमा सुर्ती खेतीबाट आम्दानी बढे पनि आफ्नो उत्पादन भारतीय बजारमै आश्रित रहेको किसानको भनाइ छ ।

उत्पादनको मूल्यमा समेत आफूहरुको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको बनौटाका किसान जगतनारायण महतोको गुनासो छ ।

आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादित वस्तु लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा मुख्यतः भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?