गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय

वालिङ:घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बसेनि परालको गुन्द्री बुन्दै आएका छन् ।

खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्दै आएका हुन् । पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको गल्याङ नगरपालिका–११ बज्रेभञ्ज्याङस्थित जगत्रशीला आमा समूहकी अध्यक्ष दिलमाया सिञ्जाली बताउँनुहुन्छ ।

“खेती किसानी गर्छौं, घरमै पराल हुन्छ, त्यहीँ परालबाट गुन्द्री बुन्दै आएका छौँं” उहाँले भन्नुभयो, “पुरानो चलिआएको परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गर्नुपर्छ भन्ने मनसायले बर्सेनि सामूहिकरुपमा गुन्द्री बुन्दै आएका हौँ ।”

बजारमा प्लास्टिकको गुन्द्री किन्न पाइन्छ तर परालको जस्तो बाक्लो नहुने र चिसो हुने भएकाले पनि परालको गुन्द्री बुन्दै आइरहेको उहाँले बताउनुभयो ।“गाउँमा हुने शुभकार्य तथा अन्य कार्यमा आउने पाहुनालाई सोही गुन्द्रीमा राखेर भोजन गराउने चलन रहेको छ” उहाँले भन्नुभयो, “शुभकार्यमा प्लास्टिकको गुन्द्री जुठो मानिने भएकाले पनि परालकै गुन्द्रीको प्रयोग गरिँदै आएको छ ।”

बजारमा म्याट तथा प्लास्टिकका गुन्द्री पाइने भएपछि पहिला जस्तो परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गुन्द्री बुन्नकै लागि भनेर छुट्टै लामो पराल हुने जातको धान लगाउने प्रचलन रहेको उहाँ सम्झनुहुन्छ ।“पहिला पहिला ठूला खालका गुन्द्री (१५, १७, १९ घरे) सम्म बुन्नका लागि छुट्टै खालको लामो पराल हुने धान लगाइन्थ्यो” उहाँले भन्नुभयो, “आजभोलि थोरै ठाउँमा पनि धेरै उत्पादन लिनका लागि उन्नत (हाईब्रिड) जातका धान लगाउने चलन बढेकाले पराल छोटो हुँदा गुन्द्री पनि साँघुरा तथा साना हुने गरेका छन् ।”

आफूले जानेको सीपको प्रयोग हुनुका साथै घरमै रहेको परालबाट गुन्द्री बुन्दा प्लास्टिकको गुन्द्री तथा म्याट किन्ननपर्ने भएपछि आर्थिक बचत हुने गरेको स्थानीय यामकुमारी गाहाले बताउनुभयो । “बढ्दो आधुनिकतासँगै पराम्परादेखि चल्दै आएको गुन्द्री बुन्ने सीप पनि हराउँदै गएको छ” उहाँले भन्नुभयो, “गाउँ घरमै सामूहिकरुपमा गुन्द्री बुन्दा नयाँ पुस्ताका छोरी तथा बुहारीले यो सीप सिक्न पाउने गरेका छन् जसकाकारण सीप हस्तान्तरण पनि भएको छ ।”

आ–आफ्नै घरमा तान बनाएर पनि गुन्द्री बुन्न सकिन्थ्यो तर समूहमा काम गर्दा सहज हुने भएकाले सबैलाई पायक पर्ने बारीको पाटोमा सामूहिकरुपमा तान बनाएर गुन्द्री बुनिएको स्थानीयवासी पम्फा सिञ्जाली बताउँनुहुन्छ ।“बढ्दो आधुनिकतासँगै सहर पस्नेले परालको गुन्द्रीको सट्टामा प्लास्टिकको गुन्द्री तथा म्याटको प्रयोग गर्न थालेका छन्” उहाँले भन्नुभयो, “विस्तारै विस्तारै परालबाट गुन्द्री बुन्ने सीप तथा परम्परा हराउँदै गएको छ ।”

नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु, नयाँ पुस्ताको रुचि नहुनु, प्लास्टिक तथा म्याटको वैकल्पिक प्रयोग हुनु, पराल नपाइनु लगायतका कारणले परालको गुन्द्री बुन्ने परम्परा तथा परालका गुन्द्री हराउँदै गएका हुन् । बज्रेमा यसपटक स्थानीय नौ जना महिलाले सामूहिकरुपमा ५३ वटा गुन्द्री बुनेका छन् । विगतका वर्षमा पनि यही परिमाणमा गुन्द्री बुनेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?