परम्परागत गाईपालनमा रमाउँदै किसान

महोत्तरी: यहाँको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पाल्नुभएको छ । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ ।

“स–साना बाछाबाछीसहित गोठमा पुगनपुग एक सय गाई छन्, जिल्लाकै सुदूरदक्षिणी भेग र छिमेकी जिल्ला सर्लाहीका विभिन्न बस्तीबाट मलकै लागि गाई ओलार राखी दिन थुप्रै किसान भन्न आउँछन्”, वचनदेव भन्नुहुन्छ, “सघन वर्षाका महिनाबाहेक अरु बेला त ठाउँठाउँमा डुलेरै बित्छ ।” यसरी गाई ओलार राख्न लगिँदा गोठालाको खाना र फुटकर खर्च खेतधनी किसानले दिने भएपछि थप खर्च गर्नु नपर्ने उहाँ बताउनुहुन्छ । त्यसरी गाई अन्यत्र लगिँदा चरनका लागि घाँस प्रशस्त भएको ठाउँ छान्ने गरिएको वचनदेवको भनाइ छ । बाबुबाजेले गर्दै आएका पुख्र्यौली गाईपालनको परम्परा थेगेको उहाँ बताउनुहुन्छ ।

“मङ्सिरमा धान काटेपछि दक्षिणी क्षेत्रमा प्रशस्त चरन हुन्छ, त्यसैगरी चैतपछि गहुँ काटिएको खेतबारीमा चराउन सर्लाहीतिर जान्छौँ”, गाई डुलाउने तालिकाबारे जानकारी दिँदै वचनदेवले भन्नुभयो, “त्यस्तोबेला घँसिलो चरनले गाईको दूध बढ्ने हुँदा दूध बिक्रीबाट राम्रै आर्जन गरिन्छ ।” स्थानीय जातका गाईको दूध स्वाद र गुणमा पनि उत्कृष्ट मानिने भएकाले बजारको समस्या पनि नभएको र मूल्य पनि राम्रो पाइने उहाँले बताउनुभयो ।

मधेसमा गाईपालनका लागि कहलिएका यादव (अहिर) समुदायका पाका व्यक्ति आपूmहरु द्वापर युगकालीन मथुरा (हाल भारतको उत्तरप्रदेश) राज्यको गोकूलका महासामन्त (गोकूल रजौटाका राजा) नन्दलालका वंशज बताउँछन् । “हामी नन्द माहाराजकै ‘गोप’ वंशका हौँ, गाईपालन हाम्रो वंश परम्परा मानिँदै आएको हो”, जुरे टोलका ६५ वर्षीय जागेश्वर यादव भन्नुहुन्छ, “हामी त्यही परम्परा अझै थेग्दै छौँ ।” जागेश्वरका गोठमा पनि करिब ६०÷७० स्थानीय जातका गाई छन् । गाईले बाछा पाए दुई वर्षका बहर (जोत्न उमेर पुगेका वयस्क बाछा) भएपछि राम्रो मूल्यमा बिक्री हुने उहाँ बताउनुहुन्छ ।

“थोरै जग्गा भएका किसान हौँ, हामी खाद (रासायनिक मल)किन्न कहिल्यै भौतारिनु पर्दैन, आफ्नै गाईको मलले पुगेको छ”, वचनदेव भन्नुहुन्छ, “बस्तीका अरु किसानको भन्दा हाम्रो खेतको उत्पादन राम्रो छ ।” गाईपालनले दूध, मल बेचेर वर्षभरि घरखर्च टार्नुका साथै केही वचत हुने गरेको वचनदेवको भनाइ छ । बस्ती ओरपरका किसानले आफ्नो भकारो (मल थुपारेको ठाउँ) बाटै बर्सेनि किनेर लाने मलबाटै पनि राम्रो आम्दानी हुने गरेको वचनदेव र जागेश्वर बताउनुहुन्छ ।

चार दशक पहिलेसम्म यादव समुदायमा अधिकांशका गोठमा गाईको सङ्ख्या उल्लेख्य हुन्थ्यो । शिक्षाको पहुँचले गर्दा कृषि पेसामा जनशक्तिको अभाव, कामको विविधता, चरन क्षेत्रको कमीलगायतका कारणले गर्दा यादवका गोठमा गाई देखिन छाडेका छन् ।

“छोराछोरी, नातिनातिना पढालेखा हुँदै गए, अरु कामतिरै मन लगाउलान्”, वचनदेव भन्नुहुन्छ, “अब चरनक्षेत्र पनि घट्दै गएको छ ।” परम्परागत गाईपालनमा चरन क्षेत्र खुम्चँदै जानु मुख्य चुनौती रहेको वचनदेवको भनाइ छ । उहाँले आफ्ना सन्तानले गाई पाली नबस्ने बताउनुभयो ।

“वन, सिमसार, नदी किनार, सार्वजनिक गौचरन मासिँदै गएपछि गाई पाल्न कठिन बन्दै गएको छ”, वचनदेवको भनाइमा सही थप्दै जागेश्वर भन्नुहुन्छ, “हामी त थेग्दै छौँ, तर पछि यो परम्परा थेगिन गारो छ ।”

बस्तीमा वचनदेव र जागेश्वरको गोठले अन्य धेरैको धर्मकर्म, परम्परा थेगेको जुरेटोलका अन्य समुदाय बताउँछन् । “हाम्रो धार्मिक परम्परामा घर चोख्याउन गाईको गोबरले लिप्ने चलन छ, शुभकार्य र पितृकार्यमा गाईकै दूध चाहिन्छ, स–साना नानीलाई आमाको दूध अपुग हुँदा गाईकै दूध ख्वाइन्छ”, जुरेटोलका सामाजिक कार्यकर्ता धनसिंह क्याप्छाकी भन्नुहुन्छ, “हाम्रो बस्तीमात्र नभएर वरपरका अन्य बस्तीलाई पनि यो आवश्यकता वचनदेव र जागेश्वरकै गोठले धानेको छ ।” यसबाहेक दानपुण्यका लागि ‘गाईदान’ परम्परा थेग्न र खेतबारीमा मल हाल्न पनि यी दुवैका गोठकै भर रहेको जुरेटोलवासी बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments