धान खेतमा माछा पालन: ओझेलमा परेको प्रविधि

धान खेतमा माछा खोज्दै र मार्दै हिँड्ने चलन नेपालका लागि नौलो होइन, तर यसलाई व्यवसायिक रूपमा धान खेतीसँगै जोडेर लैजाने प्रविधि भने अझै पनि धेरैका लागि नयाँ विषय हुन सक्छ। धान-माछा खेती एउटा यस्तो एकिकृत प्रणाली हो, जहाँ एउटै जमिन र एउटै समयमा धान र माछा दुवैको उत्पादन लिइन्छ।

धान खेतमा माछा पालनको इतिहास निकै पुरानो छ। चीनको सान्धी प्रोभिन्सको उत्खननमा भेटिएका पुरातात्विक दस्तावेज अनुसार यो प्रविधि २००० वर्षअघि (हान वंश) देखि नै प्रचलनमा थियो। दक्षिण पूर्वी एसियाली मुलुक र भारतमा पनि १५०० वर्ष अघिदेखि यो खेती गरिँदै आएको पाइन्छ। नेपालको सन्दर्भमा भने वि.सं. २०२९ सालतिर यो प्रविधि भित्रिएको हो। हाल चितवन, कास्की, भक्तपुर, धादिङ, गोरखा, नुवाकोट, तनहुँ, स्याङ्जा र मकवानपुर लगायतका जिल्लाहरूमा यो प्रणाली अभ्यासमा छ।

धान-माछा खेती भनेको के हो?
धान खेतमा माछा पालन भन्नाले धान बालीको साथसाथै खेतमा माछा राखेर गरिने खेतीलाई बुझाउँछ। व्यापक अर्थमा माछा भन्नाले खेतमा हुर्कन सक्ने खाद्य जलचरहरू जस्तै– माछा, ताजा पानीको प्राउन (झिङ्गे माछा), गँगटा, कछुवा र भ्यागुता समेतलाई बुझिन्छ। “जहाँ पानी, त्यहाँ माछा” भन्ने अवधारणामा आधारित यो प्रणालीमा धानसँगै माछा, वा धान काटिसकेपछि सोही जग्गामा माछा, वा एउटै पानीको स्रोत उपयोग गरी भिन्न खण्डमा खेती गर्ने तरिकाहरू पर्दछन्।

धान-माछा खेतीका फाइदाहरू


१. उत्पादकत्वमा वृद्धि: अध्ययनहरूका अनुसार यस प्रणालीबाट धानको उत्पादकत्व १५ प्रतिशतसम्म बढ्ने देखिएको छ।


२. जैविक कीट नियन्त्रण: माछाले धानमा लाग्ने कीराका लार्भाहरू खाइदिने हुनाले विषादीको आवश्यकता कम पर्छ। यसले ‘स्टिम बोरर’ जस्ता कीरा र मुसा नियन्त्रणमा पनि सहयोग पुग्छ।


३. प्राकृतिक मलको उपलब्धता: माछाको बिस्टा र खेर गएको दाना धानका लागि उत्तम मल बन्दछ। माछाले खेतमा चलमल गरिरहने हुँदा माटो गोडमेल भई बोट गाँजिलो हुन्छ।


४. झारपात नियन्त्रण: माछाले लेउ र साना झारपातहरू खाने हुनाले धानले पर्याप्त प्रकाश र पोषक तत्व पाउँछ।


५. थप आम्दानी र पोषण: धान मुख्य बाली र माछा सहयोगी बालीका रूपमा रहन्छन्। यसबाट किसानले दोहोरो आम्दानी पाउनुका साथै परिवारका लागि प्रोटिनको प्रमुख स्रोत (माछा) प्राप्त गर्छन्।

व्यवस्थापन र प्राविधिक पक्ष

  • ठाउँको छनोट: पानी अडिने चिम्टाइलो र मलिलो माटो (पि.एच ६.५ देखि ९) भएको खेत उपयुक्त हुन्छ। सिँचाइको राम्रो प्रबन्ध हुनुपर्छ र बाढी आउने क्षेत्र हुनुहुँदैन। पानीको तापक्रम २५–३० डिग्री सेल्सियस हुनु राम्रो मानिन्छ।

  • खेतको तयारी र आली निर्माण: माछालाई थुन्न र पानी टिकाउन आली बलियो हुनुपर्छ। आली ४०–५० से.मी. अग्लो र ३०–४० से.मी. चौडा बनाउनुपर्छ।

  • ट्रेन्च (कुलो) निर्माण: खेतको चारैतिर वा एकातिर २ फिट चौडा र १ फिट गहिरो ट्रेन्च खन्नुपर्छ। यसले पानी सुक्दा वा धान काट्ने बेला माछालाई आश्रय दिन्छ।

  • पानीको निकास: पानी छिर्ने र निस्कने ठाउँमा जाली लगाउनुपर्छ, ताकि पालेका माछा बाहिर नजाउन् र बाहिरका अनावश्यक जीव भित्र नआउन्।

खेती गर्ने तरिका

१. धान रोप्ने विधि: धान रोप्नुअघि बिरुवाको जरालाई १ ग्राम ‘विभिष्टिन’ प्रति लिटर पानीको झोलमा डुबाउनुपर्छ। बिरुवा २०–२५ से.मी.को दूरीमा लाइन मिलाएर रोप्नुपर्छ।


२. उपयुक्त जात: धानतर्फ सावित्री, मसुली, राधा, वर्षे-२, वर्षे-४, जानकी र कञ्चन जस्ता कडा डाँठ भएका र धेरै पानी खप्ने जातहरू उपयुक्त हुन्छन्। माछातर्फ कमन कार्पटिलापिया धान खेतका लागि उत्कृष्ट मानिन्छन्।


३. भुरा राख्ने समय: धान रोपेको १५–२० दिनपछि (बिरुवा सप्रिएपछि) २५–५० ग्राम साइजका भुरा छोड्नुपर्छ। भुरा छोड्नुअघि तापक्रम मिलाउन प्याकेटलाई केही बेर खेतको पानीमा राख्नुपर्छ।


४. आहारा: प्राकृतिक आहाराका लागि गोबर र रासायनिक मलको प्रयोग गर्न सकिन्छ। थप दानाका रूपमा धानको ढुटो (५०%), तोरीको पिना (४०%) र गहुँको चोकर (१०%) मिसाएर दैनिक तौलको २–४% का दरले दिन सकिन्छ।

चुनौती र सम्भावना


नेपालमा माछाको मागको ४५% मात्र स्वदेशी उत्पादनले धानेको छ। बाँकी माग भारत, बंगलादेश र थाइल्याण्डबाट आयात हुने गरेको छ। यस्तो अवस्थामा धान-माछा खेतीलाई व्यवसायिक बनाउन सके व्यापार घाटा कम गर्न सकिन्छ।

यद्यपि, प्राविधिक ज्ञानको अभाव, विषादीको बढ्दो प्रयोग, आकाशे पानीमा निर्भरता, र जग्गाको खण्डीकरण यसका प्रमुख चुनौती हुन्। साना तथा मझौला किसानका लागि यो प्रणाली वरदान सावित हुन सक्छ।

धान-माछा खेती एक वातावरणमैत्री, कम खर्चिलो र बढी उत्पादन दिने प्रविधि हो। कृषि क्षेत्रमा रासायनिक विषादीको विकल्प खोजिरहेका बेला यो ‘जैविक कीट नियन्त्रण’ पद्धति स्वास्थ्य र अर्थतन्त्र दुवैका लागि हितकारी छ। राज्यले प्रभावकारी प्रसार सेवा र प्राविधिक सहयोग उपलब्ध गराउन सके यो प्रविधि नेपाली किसानको जीवनस्तर सुधार्ने बलियो आधार बन्न सक्छ।


0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments