कफी फल्ने समयमा सेतो गँवारो र तुसारोको समस्या,किसान चिन्तित

 

काठमाडौं:चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ ।

चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मी कफीको उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानसँग छलफल गरेको थियो । छलफलमा अधिकांश किसानले कफीबाट आफूहरुले सोंचेअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको पनि गुनासो गरे ।

किसानलाई राज्यले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो । व्यावसायिक कफीखेती गरी एक हजारदेखि १५ सय विरुवासम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो ।

रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी किसान मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन् । भट्टराई जस्तै लामो समयदेखि व्यावसायिक रुपमा कफी खेती गर्दै आएका, भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांश कफी किसानको पनि उस्तै गुनासो थियो । सङ्घ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नुपर्नेमा उनीहरुको सुझाव थियो ।

स्थलगतरुपमा अध्ययन नगरी कफी लगाउने नाममा बिरुवामा दिइने अनुदानले किसानलाई फाइदा नपुग्ने किसानको भनाइ छ । कफी किसानले अनुदान दिने प्रणालीमा परिवर्तन गरी कफी लगाएका आधारमा स्थलगतरुपमा निरीक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका थिए । यसबाट मात्र किसानलाई व्यावसायिक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाव थियो ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरी कसरी व्यावसायिकरुपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेको बताए । कफीको उत्पादन र प्रविधि विस्तारका लागि कार्यालयले आगामी दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे ।

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । जिल्लामा यस वर्ष ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । जसअन्तर्गत आठ टन ग्रीनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुषन्धान केन्द्रलगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आइरहेका छन् ।

जिल्लामा यति धेरै कफीका क्षेत्रमा काम गर्ने सङ्घसंस्था भए पनि कफी किसान भने सेतो गँवारो र तुसारोको समस्याबाट सधैँ समस्या भोग्दै आइरहेका छन् । गुल्मीमा पछिल्लो तथ्याङ्कअनुसार कफी खेतीमा आबद्ध बनेका किसानको सङ्ख्या एक हजार आठ सय छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments