बिक्न छाडे चोयाका सामग्री

डोको बुनेरै बित्यो जवानी

ढोरपाटन (बागलुङ), २५ चैत : निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आउनुभएको छ । घर नजिकैको जङ्गलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उहाँले सानैबाट सिक्नुभयो । बाउ बाजेले बुनेको देखेर सिक्नुभएका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिनुभएको छ । हिँजोआज चोयाका सामग्री बिक्री हुन छाडेपछि उहाँमा त्यत्ति जाँगर छैन ।

एक दशक अगाडिसम्म चोयाका सामग्री नै बेचेर परिवार चलाउँदै आउनुभएका भुमबहादुर अहिले पेसा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ । बजारमा आएका प्लास्टिकका सामानले चोयाका सामग्री प्रयोग हुन छाडेपछि के पेसा अङ्गाल्ने होला भन्ने चिन्ता उहाँलाई छ ।

पहिले–पहिले गाउँमा किलोग्राममा किनबेच हुँदैनथ्यो । माना, पाथीका हिसाबले अन्नपात किनबेच गरिन्थ्यो । पछिल्लो समय माना पाथीको प्रचलन हराउँदै गएका छन् । बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाइमा चोयाका सामग्री पर्न छाडे । मेला महोत्सवका बेला टाढा पुगेर डाला नाङ्ला बच्ने गरे पनि अचेल व्यापार कम हुन हुँदा उहाँ धेरै टाढा पुग्नु हुन्न । गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन् । त्यसले मौलिक सीप विस्थापित हुने स्थितिमा पुगेको छ ।

आधुनिक प्रविधिको बढ्दो विकासका कारण पछिल्लो समय आफ्नो उत्पादनले बजार पाउन छाडेको बुढामगरले बताउनुभयो । सात वर्ष अगाडिसम्म निकै बिक्री हुने डालो पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको बुढामगर बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलका रुपमा प्रयोग हुने माना, पाथी आजभोलि किलो र लिटरमा परिवर्तन भएको भन्दै गाउँकै मान्छेले डाला नाङ्ला कम प्रयोग गर्ने उहाँको भनाइ छ ।

तमानखोलाका मीनबहादुर घर्तीले पनि आफ्नो सीपले बजार पाउन छाडेको गुनासो गर्नुभयो । एक दशक अगाडिसम्म चोयाका सामग्री धेरै बिक्री हुने गरेको भन्दै पछिल्लो समय महिनामा पाँच हजार पार्न पनि मुस्किल पर्ने उहाँ बताउनुहुन्छ । उहाँले पहिले डोको, नाङ्लो र डालो बेचेर महिनामै रु ३० हजारभन्दा बढी कमाइ गरेको सुनाउनुभयो । धेरै जसो मान्छेले बजार बस्न थालेपछि गाउँमा उत्पादन हुन सामान प्रयोग गर्न छाडेको उहाँले बताउनुभयो ।

उहाँले अहिले पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताउनुभयो । वनमा निगाँलो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उहाँको भनाइ छ । “पहिले–पहिले गाउँमा धेरै मान्छे हुन्थे, वन जङ्गल जाने, घाँस दाउरा गर्ने चलन थियो, बारीमा धान, गहुँ, मकै उत्पादन गर्ने ठूलो ठूलो डालो र भकारीमा राख्ने चलन थियो, अहिले त गाउँमा मान्छे कम छन्, घाँस दाउरा गर्न छाडे, खेतीपाती पनि कमले गर्छन् पहिलेको जस्तो डालो नाङ्लोको आवश्यक कम पर्छ”, उहाँले भन्नुभयो, “पहिले यस्ता सामग्रीको धेरै खाँचो हुन्थ्यो, धेरैले सिकेर बुन्थे पनि तर अहिले त बुन्ने मान्छे पनि कम हुँदै गए, हाम्रो समाजले आफ्नो मौलिकतालाई चिन्न छोड्यो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments