हरियो हीरामाथि नेताको ‘कालो’ राजनीति: युवालाई गाली कि समृद्धिको बाटो ?
नेपालको राजनीतिमा पछिल्लो समय एउटा गज्जबको विरोधाभास देखिन्छ। मञ्च पाउनसाथ हाम्रा नेताज्यूहरूको भाषणको सुई अक्सर दुई ठाउँमा अड्किन्छ– कि त विपक्षीलाई सराप्ने, कि त देशका युवा बिग्रिए भनेर सत्तोसराप गर्ने। “युवाहरू गाँजाको कुलतमा फसे, देश बर्बाद भयो” भन्दै गोहीको आँसु बगाउने तिनै नेताहरू हुन्, जसले दशकौँदेखि भ्रष्टाचारको ‘ओभरडोज’ ले देशलाई कोमामा पुर्याएका छन्। संसदमा बसेर देशको अर्थतन्त्र उकास्ने एजेन्डामा छलफल गर्नुपर्ने समयमा, चुनावी सभा र सार्वजनिक कार्यक्रमहरूमा युवालाई दुव्र्यसनीको ट्याग भिराएर आफ्नो नालायकी लुकाउने छुट अब कसैलाई छैन।
गाँजालाई केवल ‘लागुऔषध’ को चस्माले हेरेर युवा पुस्तालाई गाली गर्ने हतियार बनाउनु नेतृत्वको बौद्धिक दरिद्रता हो। यदि नेतृत्वसँग भिजन हुन्थ्यो भने, उनीहरूले देख्ने थिए– जुन चिजलाई उनीहरू ‘विष’ भनिरहेका छन्, विश्व बजारमा त्यो अहिले ‘हरियो हीरा’ (Green Gold) बनिसकेको छ।
के हो गाँजाको वास्तविक तस्बिर ?
सामान्य मानिसको बुझाइमा गाँजा भनेको ‘दम तान्ने र लठ्ठ पर्ने’ वस्तु मात्र होला, तर विज्ञानले यसलाई धेरै माथि राखिसकेको छ। गाँजामा सयौँ रासायनिक तत्व हुन्छन्, जसमा मुख्य दुई हुन्– टीएचसी (THC) र सीबीडी (CBD)। टीएचसीले नसा दिन्छ, तर सीबीडी विश्वकै महँगो र दुर्लभ औषधि हो। क्यान्सरका बिरामीको पीडा कम गर्नदेखि लिएर छारे रोग (Epilepsy), एन्जाइटी, डिप्रेसन र नसा सम्बन्धी असाध्य रोगहरूको अचुक औषधि गाँजाबाटै बन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले समेत यसको औषधीय गुणलाई स्वीकार गरिसकेको अवस्थामा हाम्रा नेताहरू भने अझै २०३३ सालको पञ्चायती कानुनको धङधङीमा बाँचिरहेका छन्।
समृद्धिको कच्चा पदार्थ
गाँजाको बोट औषधिका लागि मात्र होइन, औद्योगिक क्रान्तिको आधार पनि हो। यसको रेसा (Hemp) बाट बन्ने कपडा सुतीभन्दा पाँच गुणा बलियो हुन्छ। यसबाट बन्ने कागजले रुख कटान रोक्न सक्छ। अझ यसको डाँठबाट बन्ने ‘हेम्पक्रिट’ इट्टा, सिमेन्टभन्दा हलुका र भूकम्प प्रतिरोधी हुन्छ। नेपालको पहाडी भूभाग, जहाँ मकै र कोदो रोपेर वर्षभरि खान पुग्दैन, त्यहाँ गाँजा खेती गर्ने हो भने किसानको जीवनस्तर मात्र उकासिँदैन, देशको व्यापार घाटा कम गर्न अर्बौं डलरको निर्यात गर्न सकिन्छ। के यो सम्भावना देख्ने फुर्सद युवालाई गाली गर्न व्यस्त नेताहरूलाई छ ?
कानुनको साङ्लो र तस्करको राज
विडम्बना के छ भने, यति ठूलो आर्थिक सम्भावना बोकेको वनस्पतिलाई हामीले ५० वर्षअघि पश्चिमी मुलुकको दबाबमा प्रतिबन्ध लगायौं। अहिले तिनै पश्चिमी मुलुक (अमेरिका, क्यानडा, थाइल्याण्ड) ले गाँजा खुला गरेर डलर कमाइरहेका छन्, तर हामी भने अझै ‘प्रतिबन्ध’ को रटान लगाइरहेका छौँ।
यही अस्पष्ट कानुनको मारमा नेपाल प्रहरी परेको छ। प्रहरी कानुनको पालक हो। जबसम्म संसदले कानुन फेर्दैन, तबसम्म खेतबारीको गाँजा प्रहरीका लागि ‘अवैध’ नै रहन्छ र उनीहरू फडानी गर्न बाध्य हुन्छन्। तर, यो प्रतिबन्धको असली फाइदा कसले उठाइरहेको छ? तस्कर र माफियाहरूले। प्रतिबन्धका कारण गाँजाको भाउ आकासिएको छ, राज्यले पाउनुपर्ने अर्बौं राजस्व गुमेको छ, र फाइदा जति गिरोहको खल्तीमा गएको छ। कतै गाँजालाई वैध बनाउन नचाहनुमा यिनै माफियातन्त्रको ‘सेटिङ’ त छैन? यो गम्भीर प्रश्न हो।
सचेतना र सावधानी
पक्कै पनि, गाँजाको अनियन्त्रित प्रयोगका जोखिमहरू छन्। कलिलो उमेरमा यसको सेवनले मस्तिष्क विकासमा असर गर्छ र फोक्सोलाई हानि पुर्याउँछ। तर, ‘मान्छे मर्छ’ भनेर गाडी चलाउनै प्रतिबन्ध लगाउने कि ट्राफिक नियम बनाउने? चुरोट र रक्सीले हरेक वर्ष लाखौँ मान्छे मार्दा पनि बजारमा खुल्लमखुल्ला बेचिन्छ, किनकि त्यहाँ नियमन (Regulation) छ। गाँजालाई पनि ‘खुल्ला’ छाडा छोड्ने होइन, नियमन गर्ने हो। औषधि र उद्योगका लागि लाइसेन्स दिने, मनोरञ्जनका लागि उमेर हद र स्थान तोक्ने हो भने यसका नकारात्मक असरलाई नियन्त्रण गर्न सकिन्छ।
ए नेताज्यूहरू ! तिमीहरूले भाषणमा युवाको ‘दिमाग भुट्ने’ र उनीहरूलाई कुलतको आरोप लगाउने अधिकार तब मात्र राख्छौ, जब तिमीहरूले यो वनस्पतिलाई देशको अर्थतन्त्रसँग जोड्ने हैसियत राख्छौ। नेपालको माटोमा फल्ने यो सुनलाई चिन्न नसक्ने, संसदमा बसेर समयसापेक्ष कानुन बनाउन नसक्ने, अनि उल्टै युवालाई दोष दिएर उम्किन खोज्ने?
अबको बाटो स्पष्ट छ– गाँजालाई लागुऔषधको सूचीबाट हटाएर ‘नगदे बाली’ र ‘औद्योगिक कच्चा पदार्थ’ को रूपमा स्वीकार गरियोस्। किसानलाई अपराधी होइन, उद्यमी बनाइयोस्। यदि गाँजालाई व्यवस्थित गरेर देशको ढुकुटी भर्ने एजेन्डा छैन भने, कृपया युवालाई गाली गर्ने नैतिक अधिकार पनि तिमीहरूसँग छैन।
