जुनेलो: जसले पाखो बारी मात्र होइन, कयौँ पुस्ताको भोक र भविष्य धानेको थियो

म केवल जुनेलो

मात्र होइन, म त हजुरहरूको पुरानो गाउँको एउटा सजीव सम्झना र रैथाने पहिचान हुँ। हिमाल, पहाड र तराईका ती उराठिला पाखाबारी तथा चर्किएको सुक्खा माटोको काखमा पनि चुपचाप मुस्कुराउन सक्ने म एउटा जुझारु जीवन हुँ। म केवल पेट भर्ने अन्न थिइनँ, म त गरिबको आशा र दुःखमा बाँच्न सिकाउने साहस थिएँ। आमाले आँसु लुकाउँदै मेरा दाना उमालेर सन्तानको भोक मेट्दा, मेरा प्रत्येक दाना केवल खाना नभएर ती परिवारको बाँच्ने आधार बन्थे। मलाई न महँगो मल चाहियो, न विषादी, न त प्रशस्त पानी नै; किसानका निधारबाट झरेका पसिना, आकाशको भरोसा र प्रकृतिको निःस्वार्थ माया नै मेरो जीवनको ऊर्जा थियो। जेठ-असारमा गोरुको घण्टी र हलीको सुरिलो भाकासँगै खोरिया र पाखाहरूमा मेरो भविष्य रोपिन्थ्यो। “जुनेलो छ, यसपालि भोकै मर्नु पर्दैन” भन्ने किसानको त्यो दृढ विश्वास नै मेरो अस्तित्वको सार्थकता थियो।

मैले कहिल्यै थोरै पानी वा कम स्याहारको गुनासो गरिनँ, बरु सुक्खा जमिनमा पनि हरियो भएर गाउँको शोभा बढाइरहेँ। जब मेरा दाना पाक्थे, तब किसानका अनुहारमा खुसी फक्रिन्थ्यो र चराचुरुङ्गीहरूसँगको हाम्रो लुकामारीले आँगन नै उत्सवमय बन्थ्यो। माटोको हाडीमा भुटिँदा निस्कने मेरो बास्नाले जाडोका रातहरूमा न्यानो सान्त्वना दिन्थ्यो। कहिले दूध र खुदोसँग भुजा बनेर त कहिले भटमाससँग मिसाएर खाँदा मानिसहरूले पाउने त्यो तृप्ति आज पनि मेरो मानसपटलमा ताजै छ। म त घरको आत्मीयता र परिवार जोड्ने बहाना थिएँ; मेरो पिठोबाट बन्ने सेलरोटी, खिर र ढिँडो बिना गाउँका चाडपर्वहरू अधुरो लाग्थे। स्वस्थानीको प्रसाददेखि साना नानीहरूले उखु झैँ चुस्ने मेरा गुलिया डाँठसम्म, मेरो उपस्थिति सर्वत्र थियो। मेरो शरीर बलेर कसैको चिसो घर तातियो, मेरो भुस र पातले गोठका भोका पशुहरूको पेट भरियो र मेरा जराले माटोलाई समातेर पहिरोबाट पहाडलाई जोगाउने प्रयत्न गरिरह्यो।

फाइबर, फलाम र क्याल्सियमले भरिएको म शरीरलाई ऊर्जा दिने शक्ति भए तापनि आज म एक्लो र पराइ भएको छु। हिजो जुन पाखाबारीमा म लहलहाउँथेँ, आज ती ठाउँहरू बाँझै र सुनसान छन्। ढिकी, जाँतो र भकारीहरू मौन छन् र गाउँको त्यो मौलिक रौनकता बिस्तारै रित्तिँदै गएको छ। नयाँ पुस्ताले मेरो नामसमेत बिर्सिएको देख्दा मेरो मन भक्कानिएर आउँछ। विदेशी स्वादको चमकमा मानिसहरूले वर्षौँसम्म आफ्नो भोक टार्ने मेरो सादगीपूर्ण मिठासलाई भुल्दै गएका छन्। म हराउनु भनेको केवल एउटा अन्न हराउनु मात्र होइन, बरु हाम्रो संस्कृति, आत्मीयता र गाउँको आत्मा हराउनु हो। त्यसैले मेरो पुकार छ – मलाई फेरि जोगाइदिनुहोस्, आफ्ना सन्तानलाई मेरो स्वाद चखाइदिनुहोस् र उनीहरूलाई सुनाइदिनुहोस् कि कसरी एउटा सानो दानाले पूरै परिवारको जीवन धानेको थियो। म केवल जुनेलो होइन, म त तपाईंहरूको गौरवमय अतीत र संघर्षको साक्षी हुँ।

– तिलक ढकाल
(नेपाली माटो र रैथाने जीवनशैलीका संवाहक)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?