आँपको मज्जरको सुवासले किसान दङ्ग

महोत्तरी: यतिखेर महोत्तरीसहितका मध्यपूर्वी तराईमा आँप बगैँचाको सुवास छाएको छ । बगैँचा भएका ठाउँ वरिपरी चल्ने मज्जर (मञ्जरी, फूल) को मगमग वासनाले किसान पुलकित (खुसी) छन् । मज्जरको सुवासले बाटो हिँड्ने बटुवासमेत मख्ख पर्छन् ।

यसपाली आँपमा राम्रो मज्जर (मञ्जरी, फूल) खिलेको (फूलेको) छ । रुखका हाँगा मज्जरले झपक्क भएर झुकेसँगै यसको सुवास परपरसम्म छरिँदा किसान दङ्ग परेका हुन् । चाँडै फल्ने र पाक्ने जातका आँपका रुखमा त टिकोला (चिचिला) बग्रेल्ती लागेका छन् । आँपमा खिलेको मज्जर र चारैतिर छरिएको त्यसको सुवासभित्र आफ्नो घरगुजाराको जोहो हुने आशले किसानको मुहारमा अहिले खुसी छाएको छ ।

“चैत पहिलो साता सकिँदासम्म त आँपले राम्रै आशा जगाएको छ, मज्जर र टिकोलाले रुख झु्केका छन्”, महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भने, “अहिले देखिएको मज्जर र हुर्कदै गरेका टिकोला टिक्नसके राम्रै आम्दानी लिन सकिने आश जागेको छ ।” जिल्लामा व्यावसायिक रुपमै आँप (बगैँचा) खेती गर्ने किसान अहिले ठूलो हावाहुरी नचली देओस् भन्ने कामनामा छन् । “हेर्नोस् न, अहिले त रुखमा खिलेको मज्जर र हुर्कदै गरेका टिकोला देखेर हामी किसानमात्र होइन, बटुवा पनि दङ्ग पर्छन्”, जिल्लाको बर्दिबास नगरपालिका–५ का वडाअध्यक्षसमेत रहेका किसान दलबहादुर थापा मगरले भने, “ठूलो हावाहुरी नआएर मधुवा (मज्जरमा लाग्ने एक किसिमको कीरा, रोग) नलागे त यसपाली आँप राम्रो फल्ने छाँट छ ।”

थापाले भनेजस्तै अहिले आँपको मज्जरले किसानमात्र हैन बाटो हिँड्ने घाँसे, दाउरे र अन्य बटुवा पनि दङ्ग पर्छन् । बाटो छेउका आँपका रुखमा हाँगा,पात नदेखिने गरी मज्जरले छपक्क छोपेको हेरेर यसपाली आँप मज्जाले खान पाइने सर्वसाधारण बटुवाले आश सँगालेका छन् । “आँप राम्ररी मजरेको (फुलेको) छ, राम्ररी टिकी दिए खुब खान पाइने छ” गौशाला–१ रामनगरको आँप बगैँचामा थकाइ मेट्दै गरेका एक बटुवाले भने, “आँप राम्रो फल्दा किसान र किनेर खाने दुबै खुसी हुन्छन् ।” आँपको मज्जरको वासनाले बाटो हिँड्दाको थकान मेटिने हुँदा रुखमुनी एकछिन बसौँबसौँ नै लाग्ने ती बटुवाको भनाइ छ ।

चैत दोस्रो साता चल्दै गर्दा फलपूलखेतीका किसान तीव्रगतिको हुरिबतास नचली देओस् भन्ने गर्छन् । महोत्तरीसहितका मध्यपूर्वी मधेश ९तराई०मा चैत÷वैशाख जग्गा रुखो हुने र हुरीबतासको प्रकोप हुने महिना मानिन्छन् । हुरीबतास र असिनाले गृष्मकालीन फलका मज्जर र टिकोला झारेर नोक्सान गर्ने हुँदा किसानको चिन्ता त्यसमा देखिएको हो । अहिले बरु असिनारहित हल्का वर्षा फलफूल र अन्यखेती लगाएका किसानको समेत चाहना छ ।
बगैँचा खेतीका किसानलाई अहिले हल्का वर्षा भए रुखमा लागेका जालो, रोगटे (एक किसिमको कमिला जो राता हुन्छन्) को गोला र मज्जरमा लाग्ने मधुवाको कालो धब्बा पखालिने आश छ । चैते हल्का वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका कीरा पखाल्ने र जरामा पर्याप्त चिस्यान बनाउने हुँदा फूल नझर्ने र टिकोला बोटमा राम्ररी अडिने किसानको अनुभव छ । वर्षा नहुँदा रुखका जरामा सधैँजसो पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा दिने गरिएको किसान बताउँछन् ।

यसपाली राम्ररी हिउँदे वर्षा नहुँदा चैतको पहिलो साताभित्रै पानीका मूहान सुक्दै गएको हुँदा सास्ती बढेको किसानको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिञ्चाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने गौशाला नगरपालिका–१० बटौवाका किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाको अनुभव छ । आँप, लिचीसहितका फलफूल फल्ने कुरा वर्ष बिराउने क्रम हुने गरेको कृषि विज्ञ भङ्गाहा–५ का रामबहादुर भुजेलले बताए। उनले भने, “फलफूलमा ‘अफ यिअर’ (अघिल्लो वर्ष फलेको भए पछिल्लो वर्ष राम्रो नफल्ने) देखिन्छ, यसपाली ‘अफ यिअर’ नपरेको हुँदा आँपमा राम्रो मज्जर देखिएको हो ।”

जिल्लाका सबै भेगमा धेरथोर आँप बगैँचा लगाइएको भए पनि बर्दिबास, गौशाला, औरही र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रुपमै बगैँचा खेती गरिँदै आएको छ । विशेषगरी बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गणन्ता, चेरु, सोनापेटी, बरडाँडा, माइस्थान, पाटु, भव्सी, बिजलपुरा र पशुपतिनगरका धेरैजसो किसानको खेती भनेकै बगैँचा हो । त्यसैगरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फुलकाहा, बेलगाछी, कुष्माढी, रजखोर र रामनगर बगैँचा खेतीका पकेटक्षेत्रका रुपमा मानिन्छन् । यस्तै भङ्गाहा नगरपालिकाका बस्तीमा पनि बगैँचा खेती बढ्दो छ ।बगैंचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् ।

रुखकटहरमा फुल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिए पनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् ।
“रुखकटहरको फुलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि बग्रेल्ती मज्जर र टिकोला झार्छ”, भङ्गाहा नगरपालिका–४ रामनगरका किसान सत्यनारायण यादवले भने, “मधुवाको प्रकोप पनि आँप र लिचीमा बढी हुने यादवसहितका किसानको भनाइ छ ।” सपाटो चैं व्यवसायको रुपमा नभइ किसानले शोभा र आफ्नो घरका परिवारजनका लागि मात्र लगाउने गरेका पाइएको छ ।

पछिल्लो जारी दशकमा कृषि कार्यका मजदूर पाइन छाडेपछि जिल्लामा बगैँचा खेती गर्ने किसान ह्वात्तै बढेका छन् । मजदूर नपाइने, समयमा खादमल र बीउकोे अभाव हुने र आवश्यक मात्राको सिञ्चाइ सुविधा नभएपछि अन्नबाली गर्ने ठाउँमा बगैँचा थपिँदै गएर यो खेती बढेको हो । जिल्लामा विसं २०६० सम्म पुग नपुग दुई हजार हेक्टरमा रहेको बगैँचाखेती अब १० हजार हेक्टरको हाराहारी पुग्न थालेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।

बगैँचाखेती बढ्दै गएसँगै किसानले यसबारेको प्राविधिक सल्लाह, रोगमा उपचार र भरपर्दो बिरुवा नपाएर भने ठगिनु परेको बताउँदै आएका छन् । तीनै तहका (सङ्घीय, प्रादेशिक र स्थानीय तह) सरकारले किसानका मर्का बुझेर आवश्यक पहलकदमी लिईदिनुपर्ने फलफूल किसानको माग छ । स्थानीय तहमा कृषि शाखाको कानुनी व्यवस्था रहेपनि अभ्यासमा भने नरहँदा किसानले प्राविधिक वा विज्ञबाट आवश्यक सुझाव सल्लाह पनि पाउनसकेका छैनन् ।
यो अवस्थाको अन्त्यका लागि स्थानीय तहको कार्यालयमा छुट्टै कृषि प्रसार वा विकास शाखा सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?