हेटौंडामा बर्डफ्लु भेटियो, ३ हजार ४ सय ५३ कुखुरा नष्ट

रानीखेत रोगले मर्न थाले कुखुरा

बागमती : बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएपछि आज त्यहाँको ३ हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोली खटाएर सो परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौं सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमुना पशु विभाग काठमाडौं पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लु प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले राससलाई जानकारी दिए ।

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौंडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए।

पशुपन्छी तथा मत्स्य निर्देशनालय हेटौंडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लु भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानुनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments