मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

भैरहवा:मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।

क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन् ।

मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन् । अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ । कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्षेनी मल र बीउको लागि सास्ती भोग्दै आएको बताउनुभयो । उहाँ अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताउनुहुन्छ । “स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो ।” उहाँले भन्नुभयो, “तर केही भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ ।”

उहाँले सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो गर्नुभयो । “सरकारले गरिब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ ।” उहाँले भन्नुभयो, “ त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन ।” त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ ।

उहाँकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको पनि । उहाँले पनि स्थानीय नेताहरु आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गर्नुभयो । “गहँु छर्ने बेला भएको छ, वडाले २ बोरा गहँुको बीउ दिने भनेको थियो अहिले चार–पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?” उहाँले भन्नुभयो, “हामीमाथि चरम भेदभाव भएको छ ।”

उहाँले उम्मेदवार अहिले घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नुपर्ने धारणा राख्नुभयो । मर्चवारका उम्मेदवारले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ । कोटहीमाई गाउँपालिका–५ का कृषक रामअवध पासवानले उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिनुभयो । “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको वर्षभरि खानलाई गरिन्छ ।” उहाँले भन्नुभयो, “त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ ।”

उहाँले उम्मेदवार अहिले विभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दीर्घकालीन रुपमा हल हुने गरी कसैको एजेण्डामा पर्न नसकेको बताउनुभयो । नेपालकै कम मात्रामा मल आउने गरेको बताउँदै उहाले यसको दीर्घकालीन समाधानको लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव दिनुभयो । “कृषिको लागि जसले दीर्घकालीन समाधानको उपाय बताउँछ, मेरो भोट उसैलाई हुन्छ ।” उहाँले भन्नुभयो ।

उहाँले अहिले मध्य खेतीपातीकै समयमा सरकारले निर्वाचन गरेर कृषकलाई झन समस्या थपिदिएको गुनासो गर्नुभयो । उहाँ सरकार कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको बताउनुहुन्छ । मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी र सियारी गाउँपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरी ३१ वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार छ सय ५९ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव लगायतका नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?