चापाकोटका किसान सामूहिक आलुखेतीमा

आलु उत्पादन

वालिङ:स्याङ्जाको चापाकोट नगरपालिकाका किसानले सामूहिकरुपमा आलु उत्पादन गरेका छन् । जिल्लाकै समथर र आलु उत्पादनका दृष्टिले उर्वरभूमि चापाकोटका किसानले समूहमार्फत लगाएको आलु यतिबेला भित्र्याउने बेला भएको छ । चापाकोट नगरपालिकाका–८, ९ र १० का विभिन्न ठाउँमा सामूहिक रुपमा आलु खेती गरिएको हो ।

एक्ला एक्लैभन्दा पनि सामूहिकरुपमा आलु खेती गर्दा काम गर्न पनि सहज हुने भएकाले समूहमार्फत आलु खेती गरिएको चापाकोट–९ को बेल्चौर शीतलटार किसान समूहका संयोजक रामु बस्यालले बताउनुभयो ।

“गाउँघरमा कामदार पाउन समस्या हुने भएकाले पनि खेती गर्न कठिनाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “समूहमार्फत गर्दा काम गर्न सहज हुनुकासाथै सीप तथा विधिकाबारेमा ज्ञान हस्तान्तरण भएको छ ।” समूहमार्फत पहिलो पटक चार रोपनी क्षेत्रफलमा चार सय ५० केजी आलुको बिउ लगाइएको उहाँले बताउनुभयो ।

समूहमा ५२ जना रहे पनि आलु खेतीमा २२ जना किसान प्रत्यक्ष सहभागी भएका हुन् । “सिँचाइ पर्याप्त हुन नसक्दा यसपटक अपेक्षा गरिए बमोजिम उत्पादन लिन सकेनौँ”, बस्यालले भन्नुभयो, “एक हजार एक सयकेजीभन्दा धेरै उत्पादन गरेका छौँ अब त्यसलाई समूहमार्फत बिक्री गरी आम्दानी बाँधेर राख्छौँ ।”

एक्लाएक्लै काम गर्दाभन्दा समूहमार्फत काम गर्दा धेरै सजिलो भएको महसुस बेल्चौर शीतलटार आमा समूहकी अध्यक्ष ईश्वरी बस्यालको पनि छ । “धेरै पहिलेदेखि नै आलु घर–घरमा लगाउँथ्यौँ”, उहाँले भन्नुभयो, “समूहमार्फत गर्दा आधुनिक प्रविधि तथा सीपबारे जान्ने मौका मिल्यो, काम गर्नका लागि मान्छेको कमी भएको महसुस भएन ।”

त्यस्तै चापाकोट १० का विभिन्न ११ टोलमा ३५÷४० जनाको समूह बनाएर सामूहिकरुपमा आलु खेती गरिएको कार्यपालिका पूर्वसदस्य सूर्य माझीले जानकारी दिनुभयो । चापाकोट नगरपालिकाका १० नं वडामा मात्रै महिला दिदीबहिनीको सहभागितामा ११ समूह बनाएर आलु खेती गरिएको थियो ।

“आलु पकेट क्षेत्र बनाउने गरी यसअघि नै काम गरिएकोमा पुरानो र नयाँ समूह मिलाएर आलु खेती गरेका हौँं”, उहाँले भन्नुभयो, “चापाकोट १० मा मात्रै डेढसय रोपनीमा करिब ६ टन आलुको बिउ लगाइएको छ ।” चापाकोट वडा नं ८ मा पनि सामुहिकरुपमा आलु खेती गरिएको वडाध्यक्ष टोपलाल न्यौपानेले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments