हुर्कन लागेको धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

धानखेतीमा गँवारो रोगको प्रकोप

गलकोट (बागलुङ): खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् ।

बडिगाड गाउँपालिकाले  दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर खुमलचार जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ । बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसान निराश भएका छन् ।

पालिकाले अनुदानमा दिएको बीउका कारण अहिले खेतमा धान मरिरहेको बताउँदै बडिगाडका गाउँपालिका–५ ग्वालिचौरका सीता आचार्यले पालिकाले यसको क्षतिपूर्ति दिनुपर्ने माग गरे । बडिगाडका स्थानीय किसान लक्ष्मण विक र सीता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो ।

गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारका धानको बीउ अनुदान दिए पनि खुमलचार जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख ईश्वर ओलीले जानकारी दिए ।

“ल्याव परीक्षण गरेका बीउमात्रै खरिद बिक्री वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमलचार जातको धानको बीउ यहाँ सफल भएन”, उनले भने, “पालिकाले परीक्षणका लागि थोरै मात्रमा बीउ वितरण गर्न थालेको थियो, पछि किसानको माग खुमलचारमै बढी भयो, पालिकाले पुनः खुमलचारको बीउ खरिद गरेर अनुदानमा वितरण गरेको थियो ।”

यो क्षेत्रमा खुमलचार राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भूगोलमै पर्ने भन्दै उनले हिले खमुलचार धान रोपेका किसानको घरघरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेको पनि उहाँको भनाइ छ र।

धानको जरा कुहिने समस्या चार वर्ष पहिले पनि गलकोटमा देखिएको बताउँदै पालिकाले वितरण गरेको अन्य धानको बीउ भने राम्रो भएको उनको भनाइ छ । एक हजार आठ सय खुमलचारको धानको बीउमध्ये एक हजार तीन सय खुमलचारको धानको बीउ प्रयोगमा आएको ओलीको भनाइ छ । खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उनको भनाइ छ ।

पालिकाले प्रदान गरेको खुमलचार जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउँदै किसानले समेत आफैँ खुमलचार जातको बीउसमेत लगाउँदै आएको बताए । समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमलचार जातको धानको अनुगमन गरेको र किसानलाई विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

किसानको गुनासो आइसकेपछि एक लाख लागतमा विषादी खरिद गरी वितरण गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले किसानको समस्याप्रति पालिका गम्भीर भएको बताए । पालिकाले वितरण गरेको विषादीले हुनसक्ने नोक्सानीलाई घटाउने उनको विश्वास छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?