कुरुङदीको पाखैभरी केरा खेती,रोगले हैरान किसान

गलेश्वर (म्याग्दी):शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जङ्गलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले वन नै ढाकिएको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

बगरफाँटका २० घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट वार्षिक ६० लाख आम्दानी गर्दै आएका छन् । व्यापारी केरा बगानमै आएर खरिद गर्ने गरेको बगरफाँटका किसान खिमबहादुर कार्कीले जानकारी दिए । यहाँका किसानले धान फल्ने खेत र घाँस काट्ने खोरिया फाँडेर विगत ६ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

“बजारमा ‘बगरफाँटको केरा’ को ‘ब्राण्ड’ नै बनेको छ । “मैलै ५ वर्षदेखि केराखेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”,उनले भने । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान टेकबहादुर कार्कीले बताए।

यहाँका २० घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारी र पोखो जमिनमा व्यावसायिक केरा खेती गर्न थालेपछि बगरफाँटवासीको आर्थिक अवस्थामा निकै सुधार आएको स्थानीय नरबहादुर कार्कीले बताए । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, स्थानीय वेदप्रसाद उपाध्यायले भने, “पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक रु एक लाखसम्म आम्दानी हुन्छ ।”

“केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन  एक सय २० मा बिक्री हुन्छ” किसान कार्कीले भने। “राम्रो भयो भने केराको एक घारीमा सात सयदेखि आठ सयसम्म कोसा हुन्छन्”, उनले भने “एक घारीको चार हजार दुई सय सम्ममा बिक्री गरेको छु ।” यहाँका किसानले धान फल्ने खेतमा समेत केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् ।

अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको उनीहरुले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको स्थानीय खिमबहादुर सापकोटाले जानकारी दिए ।अर्का किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केरा खेती गरेका छन् ।

उनले भने, “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको हो ।”

केरामा देखियो रोगको समस्या

विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको समस्या नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् ।

केरामा खपटे घुन र गवारो रोगको समस्याका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसान कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् । उनले करिब आठ रोपनी खेतमा केराखेती गरेका छन्। बगरफाँटका किसान वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताए ।

सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गरेका दुर्गाबहादुर थापाले रोगको समस्याका कारण यसवर्ष केराको उत्पादन घटेको बताए ।

हजारी जातको केरा खेतीबाट वार्षिक  दुई लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनको भनाइ छ । “झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ”, उनले भने । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको किसानले बताएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?