भूकम्प : जुम्लामा पाँच घाइते, केही घरमा आंशिक क्षति

जुम्ला :छिमेकी जिल्ला जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका कारण जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।

स्थानीय प्रशासनको प्रारम्भिक जानकारीअनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ वर्षीय सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी–३ का १४ वर्षीय नीराजन उपाध्याय, तिला–३ दानीवाडाका ११ वर्षीय सपना थापा र तातोपानी–४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ ।

तिला गाउँपालिका–३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठ वटै स्थानीय तहका गाउँ गाउँबाट भूकम्पले घरहरू चर्किएका खबरहरू आएको स्थानीय तहका प्रमुख बताउँछन् ।

जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । जिल्लाको यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति गरेको छ  । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?