ट्याक्टर र यान्त्रिक हलोले गोरु विस्थापित,गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी:म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उनले भने, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।”

पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहूलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । “थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ”, उनले भने, “खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलनै हरायो ।”

विदेशिए गोठाला, हराए गोठ

ताकममा मात्र नभएर हिजोआज पहाडका गाउँघरमा रैथाने जातका गाई भेट्टाउन मुस्किल पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातको व्यावसायिक पशुपालन उपयुक्त हो । उन्नत जात र व्यावसायिकतासँगै रैथाने जातका पशुको संरक्षणमा ध्यान पुगेको देखिँदैन ।

बढी दूध दिने उन्नत र वर्णशङ्कर जातको गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए ।

“खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यु), धार्मिक कार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेंशी गरिन्थ्यो,” उनले भने “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे । ट्याक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठमा जाने गरेका छन् । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेशीका फाँटमा झर्छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

ट्याक्टर र यान्त्रिक हलोले गोरु विस्थापित

दुई दशकअघिसम्म स्याङ्जा, पर्वत, कास्की, बाग्लुङका कृषक खेतबारी जात्ने गोरु किन्न म्याग्दीको धवलागिरि गाउँपालिका जाने गर्दथे । होचा र साना शरीर हुने पहाडी जातका गोरु बलिया, पाल्न सजिलो र १५/२० वर्षसम्म जोत्नका लागि प्रयोग गर्न सकिन्छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजाल भन्छन्, “मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उनले भने, “सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशंकर र उन्नत जातको गाई बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।” उनका अनुसार जिल्लामा हाल २० हजारको संख्यामा गाई पालिएका छन् । फरक फरक जातका गाईको गणना र तथ्याङ्क छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेखअनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीलगायत जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरु भुटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् ।

२०० देखि ३०० केजीसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । यी गाईले एक बेतमा १५०–२०० लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात हुन् ।

रैथाने गाईको दूधमा औषधीय गुण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मस्तिष्कका लागि महत्वपूर्ण हुने बताए । “गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनहरुबाट पहिचान भएको तथ्य हो”, उनले भने, “गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।”

नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ । कानुनले नेपालमा गौवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको हेतुले हेर्ने दृष्टिकोण उदार बन्न नसकेको बेनी नगरपालिका–१ मा रहेको श्रीलक्ष्मीहरी मन्दिरका महन्थ हिमालय बाबाले बताए ।

“गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुँदैन,” उनले भने, “जैविक विशेषता बोकेका वैदिक गाईको नस्ल देशको जैविक सम्पत्ती पनि हो । यसलाई बचाउन राज्य र समाजले चासो दिनुपर्छ ।” स्थानीय गाईको गोवर, गहुँत खेतीबारीमा मात्र होइन, औषधीय कार्यमा पनि उपयोग हुने हिमालय बाबाको भनाइ छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ । गाईको गोबर घर लिपपोतमा प्रयोग गर्ने चलन छ । बिकारयुक्त किटानु नष्ट गर्ने शक्ति हुने भएकाले घर लिपपोतमा गाईको गोबर प्रयोग गरिएको बुढापाका बताउँछन् ।

गाई संरक्षणमा जलजला गाउँपालिका

पर्वतको जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरी क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरीङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउन काम थालेको हो ।

सङ्घीय सरकारको साझेदारीमा गौशाला निर्माण शुरु गरेको गाउँपालिकाले स्थानीय जातका गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन आठ लाख बिनियोजन गरेको अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको हो,” उनले भने, “आधुनिक र व्यावसायिक पशुपालन तथा कृषिलाई प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएका हौ ।” चालु आर्थिक वर्ष २०७९/८० मा ४०० वटा गाईगोरु पालेका कृषकले चार लाख अनुदान पाएका थिए ।

धाइरिङमा गौशाला

धाइरीङमा विसं २०७२ मा समुदायको अगुवाइमा स्थापना भएको गौशालामा हाल ४८ वटा स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । ११ वटा गाईबाट गौशाला शुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताए । “स्थानीय जातका गाई संरक्षण गरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो,” उनले भने “गाई लोप हुन नदिनु नै गौशालाको उद्देश्य हो ।”

केसीका अनुसार स्थानीयवासीहरुले गौशालालाई गाईसहित प्रतिगाई बराबर रु। एक लाख १० हजारले नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गा दान गरेका छन् । दिउँसोको समयमा नजिकैको जङ्गलमा चराउन लैजाने गाई बाध्नका लागि व्यवस्थित गोठ बनाइएको छ । बिहान बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ ।

जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गाईको दाना, घाँस, पराल र तीन जना कर्मचारीको तलबका लागि वार्षिक २२ लाख खर्च हुने गरेको छ । गाईको महत्वका विषयमा समुदाय सस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन २०७६ मङ्सिरमा मिलनचोक स्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा रु। तीन करोड २४ लाख सहयोग घोषणा भएको थियो । महोत्सवमा संकलित रकमको व्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

गौशालामा पूर्वाधार निर्माणका लागि चालु आवका लागि जलजला गाउँपालिका र सङ्घीय सरकारबाट ८०/८० लाख विनियोजन भएको थियो । गौशाला पछाडी रहेको पाखोमा पर्खाल निर्माण र जग्गा सम्माउने काम भइरहेको जलजला गाउँपालिकाका इन्जिनीयर सुनिल बानियाँले बताए । जग्गा सम्माएपछि सो ठाउँमा आश्रयस्थल, हवन कुण्ड, सत्तल र मन्दिर निर्माण गरिनेछ ।

सो संरचना निर्माणका लागि सिम्रन इन्फ्रास्टक्चर एण्ड सप्लायर्स प्रालिसँग एक करोड २५ लाख ८५ हजार २३२ मा ठेक्का सम्झौता भएको छ । आगामी जेठ मसान्तसम्म काम सक्ने ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।

गोबर र गहुँतलाई आम्दानीको स्रोत बनाइँदै

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको छ । गाईको गोवर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको छ । गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आएका छन् ।

“गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ती, धुप, ‘इकोप्रेसर म्याट’, चप्पल, भित्तेघडीजस्ता सामान बनाउन थालेका छौँ”, कर्मचारी आचार्यले भने, “गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हौ ।” गहुँत प्रशोधन गर्ने उपकरण ल्याइएको छ ।

गौशाला नजिकै रहेको धाइरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । “हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड हो”, उनले भने, “यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयासमा लागेका छौँ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?