म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी, २ साउन : म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०÷८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो ।

कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४ योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताउनुभयो । “म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।”

कार्यालयका सव इञ्जिनीयर अञ्जन खत्रीले गत आर्थिक वर्षमा आठ हजार नौ सय४४ मिटर पक्की नहर निर्माण र एघार हजार ४७ मिटर पाइपलाइन जडान भएको जानकारी दिनुभयो । ती योजनाबाट नौ हजार सात सय ४९ जना किसान लाभान्वित भएका उहाँले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ को हिलापोखरी सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले पक्की नहर बनेपछि बारी बनाएर कोदो रोप्न थालिएको खेतलाई यसपाली किसानले धान रोपाइँ गरेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट हिलापोखरीमा पाँच सय ६५ पक्की नहरसहितको सिँचाइ आयोजना निर्माण भएको थियो । गत आर्थिक वर्षमा कुल रु १६ करोड १४ लाख २५ हजार पुँजीगत बजेट भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ९२ प्रतिशत अथवा रु १४ करोड ८२ लाख ८३ हजार खर्च गरेको जनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । कूल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ ।

खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । एक हजार छ सय १३ हेक्टरमा बाह्रैमहिना र चार हजार तीन सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । खेती भएकोमध्ये ६९ दशमलव १६ प्रतिशत अथवा १३ हजार चार सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?