भान्छाको मसलादेखि क्यान्सर विरुद्धको ओखतीसम्म: बहुगुणी ‘रोजमेरी’ को व्यावसायिक खेती र लोभलाग्दो आम्दानी

रोजमेरी एउटा बहुवर्षीय सदाबहार जडीबुटी हो, जसलाई वनस्पति विज्ञानमा ‘सालभिया रोजमेरीनस’ भनिन्छ। पहिले ‘रोजमेरीनस अफिसिनालिस’ का रूपमा चिनिने यो वनस्पति मिन्ट (पुदिना) परिवारसँग सम्बन्धित छ। नेपालको भौगोलिक बनावट अनुसार भित्रीमधेशदेखि उच्च पहाडी क्षेत्रसम्म यसको खेतीको प्रचुर सम्भावना रहेको छ। विशेषगरी धेरै वर्षा हुने र अत्यधिक गर्मी ठाउँभन्दा हल्का सुख्खा र चिसो हावापानीमा रोजमेरीले राम्रो उत्पादन दिन्छ।

यसको खेतीका लागि बिरुवाको साइज र उमेर अनुसार १५ देखि ४० रुपैयाँसम्ममा बिरुवा उपलब्ध हुन्छन् भने गमलामा हुर्काइएका बिरुवाको मूल्य २०० देखि ४०० रुपैयाँसम्म पर्ने गर्दछ। एक पटक रोपेपछि ३-४ वर्षमा साढे दुई मिटरसम्म अग्लो हुने यो वनस्पतिको पात बाह्रै महिना लिन सकिन्छ र प्रत्येक ६-८ महिनामा यसको डाँठ वा पात काटेर बिक्री गर्न सकिन्छ।

रोजमेरी केवल एउटा मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण जडीबुटी पनि हो। यसमा फलाम, क्याल्सियम, भिटामिन ए र सी जस्ता पोषक तत्वहरूका साथै रोस्मारिनिक एसिड र कार्नोसोल जस्ता शक्तिशाली एन्टीअक्सिडेन्टहरू पाइन्छन्। यसको प्रयोग दाल, तरकारी, मासु र पुलाउ जस्ता परिकारमा स्वाद बढाउन गरिन्छ। स्वास्थ्यका दृष्टिले यसको चियाले आलस्य र थकान मेटाउँछ भने यसको बाफ लिँदा माइग्रेन र पिनासको समस्यामा राहत मिल्छ।

मानसिक तनाव र डिप्रेसनका रोगीका लागि यसको तेलबाट गरिने ‘अरोमा थेरापी’ निकै प्रभावकारी मानिन्छ। यसबाहेक छालाको स्वास्थ्य, आँखाका रोग, अल्जाइमर, मृगौलाको समस्या र उच्च रक्तचाप नियन्त्रणमा पनि रोजमेरी लाभदायक देखिएको छ। पछिल्लो समय कपालको वृद्धि र उपचारका लागि पनि यसको प्रयोग विश्वव्यापी रूपमा बढ्दै गएको छ।

नेपालमा बाँदरको आतंकका कारण खेतीयोग्य जमिन बाँझो भइरहेको अवस्थामा रोजमेरी एउटा उत्तम विकल्प बनेको छ। यसको कडा गन्ध र स्वाद बाँदरले मन नपराउने हुनाले यसलाई टिमुर जस्तै सुरक्षित खेतीका रूपमा लिन सकिन्छ। हाल नेपालका रुकुम, सल्यान लगायतका जिल्लाहरूमा यसको व्यावसायिक खेती सुरु भइसकेको छ।

बजारमा यसको हरियो र सुकेको पात दुवैको माग उच्च छ। होटल तथा रेस्टुरेन्टहरूमा रोजमेरीको बासनायुक्त परिकारहरूको लोकप्रियता बढ्दै गएकाले यसको माग दिनप्रतिदिन बढ्दो छ। बजारमा रोजमेरीको तेल प्रति किलो ५ देखि ६ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ भने कच्चा घाँस प्रति किलो १५ देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइन्छ। यसको तेल निकालेपछि बाँकी रहेको अवशेषबाट धूप र अन्य मसला समेत बनाउन सकिन्छ, जसले गर्दा यसको कुनै पनि भाग खेर जाँदैन।

बजार र व्यापारको दृष्टिकोणले हेर्दा नेपालमा अझै पनि धेरैजसो रोजमेरीजन्य उत्पादनहरू, विशेषगरी महँगा सेन्ट र प्रशोधित तेलहरू आयात हुने गरेका छन्। यद्यपि, नेपालमै व्यावसायिक खेती विस्तार गर्न सकेमा यसले आयात प्रतिस्थापन मात्र नगरी निर्यातको ठूलो ढोका समेत खोल्ने देखिन्छ। नेपाली रोजमेरी अर्गानिक र उच्च गुणस्तरको हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्ने निश्चित छ।

खेती गर्न चाहने किसानहरूका लागि वनस्पति विभाग र वनस्पति अनुसन्धान केन्द्र सल्यानले प्राविधिक सहयोगका साथै बजार व्यवस्थापनमा मध्यस्थता समेत गरिदिँदै आएका छन्। तसर्थ, बाँझिएका खेतबारीको सदुपयोग गर्दै स्वदेशमै आम्दानीको दिगो स्रोत बनाउन र युवा पुस्तालाई जडीबुटी खेतीमा आकर्षित गर्न रोजमेरी खेती नेपालको अर्थतन्त्रका लागि एउटा कोसेढुङ्गा सावित हुन सक्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?