हरियो डाँडामा गुन्जिन छोड्यो ‘ह ह… माले’: जहाँ हलो-जुवा बनाउने सीप र चलाउने हली दुवै आधुनिकताको भेलमा बेपत्ता भए

“हरियो डाँडा माथि, हलो जोत्ने साथी… ह ह माले, ह ह!”

नेपाली ग्रामीण परिवेशमा बिहानको मिरमिरे उज्यालोसँगै जब खेतका गराहरूबाट यो सुमधुर भाका गुन्जिन्थ्यो, तब लाग्थ्यो— माटो र मान्छेबीचको प्रेमिल संवाद सुरु भयो। हली दाइको “ह ह… लरे” को आवाज, गोरुको घाँटीमा झुण्डिएका घण्टीको मधुर धुन र भर्खरै जोतेको माटोको त्यो लोभलाग्दो सुगन्ध; यी सबै हाम्रो कृषिको वास्तविक प्राण थिए। तर आज समयको पदचापसँगै यी दृश्यहरू स्मृतिमा मात्र सीमित हुन थालेका छन्।

त्यो भव्य जमाना र ‘हल’ को प्रतिष्ठा

कुनै समय यस्तो थियो, जहाँ किसानको सम्पन्नता र सामाजिक प्रतिष्ठा उसको ‘हल’ (जोत्ने गोरुको संख्या) बाट मापन गरिन्थ्यो। चौतारीमा बसेर “यसपालि कति हलको मेलो सकियो?” भन्दै गरिने छलफलहरू निकै रोचक हुन्थे। ८-१० पाते खेतका ठूला फाँटहरूमा एकैसाथ १०-१२ हल गोरु नारिएर जोत्दा देखिने त्यो दृश्य कुनै ठूलो उत्सवभन्दा कम हुँदैनथ्यो।

त्यस बेला टन्न अन्न हुनेहरू नै गाउँका धनी कहलिन्थे। उनीहरूले घरमा स्थायी रूपमा ‘हली’ राख्ने गर्थे, जसले गर्दा धेरैले गाउँमै रोजगारी पाएका थिए। हली र मालिकबीचको सम्बन्ध श्रममा मात्र सीमित थिएन, त्यो त एउटा गहिरो पारिवारिक सामीप्यतामा बाँधिएको हुन्थ्यो। गोरु पाल्दा खेतबारीमा प्रशस्त प्राङ्गारिक मल हुन्थ्यो, जसले माटोलाई जीवित र उर्वर बनाइराख्थ्यो।

हलो र जुवाका अङ्गहरू: पुर्खाको इन्जिनियरिङ

हाम्रा पुर्खाहरूले स्थानीय स्रोत र साधन प्रयोग गरी निर्माण गरेको हलो-जुवा कुनै आधुनिक मेसिनभन्दा कम वैज्ञानिक छैन। यसका मुख्य भागहरू यसप्रकार छन्:

१. अनौ: हलोको माथिल्लो भाग, जसलाई हलीले हातले बलियो गरी समात्छन्। यसले हलोलाई नियन्त्रण गर्ने र कति गहिरो जोत्ने भन्ने तय गर्छ।

२. हरिस: अनौदेखि जुवासम्म जोडिएको लामो र बलियो काठ। यसले गोरुको तागतलाई हलोसम्म प्रवाह गर्छ।

३. पाती र फालि: हलोको तल्लो भागलाई ‘पाती’ भनिन्छ र त्यसमा जडान गरिएको फलामको तिखो भाग ‘फालि’ हो। यसैले धरतीको छाती चिरेर बीउका लागि बाटो बनाउँछ।

४. हल्लुनो (हल्लुँड): हरिस र जुवालाई एकापसमा जोड्ने छाला वा बलियो डोरीको चक्र। यसले हलोलाई लचिलोपन दिन्छ।

५. जुवा: दुईवटा गोरुको काँधमा तेर्सो पारेर राखिने विशेष आकारको काठ।

६. सोइला र जोत: जुवामा ठोकिएका काठका किलाहरू ‘सोइला’ हुन् र गोरुको घाँटीमुनिबाट सोइलामा बाँधिने डोरी ‘जोत’ हो।

बदलिँदो समय र आधुनिकताको चुनौती

हिजो स्कुलमा गुरुहरूले “पढिनस् भने हली हुन्छस्” भन्दै गाली गर्थे। तर आज विडम्बना, गाउँमा न त हली भेटिन्छन्, न त हलो जोत्ने युवा नै बाँकी छन्। खेती गर्न चाहनेहरूका लागि आधुनिक ट्र्याक्टर र पावर टेलर त आए, तर यसले हाम्रो परम्परागत सीप, रैथाने औजार र मान्छे-मान्छेबीचको त्यो ‘अर्म-पर्म’ संस्कृतिलाई विस्थापित गरिदियो। धेरैजसो युवाहरू हलोको अनौ समात्नुको साटो पासपोर्ट बोकेर विदेशतिर लागेका छन्।

पहिले हलो-जुवा बनाउने सिकर्मीहरूले गाउँमै राम्रो आम्दानी गर्थे। तर अहिले ती हातहरू पनि फुर्सदिला भएका छन्। गोरु पालन घट्दा खेतबारीमा रासायनिक मलको प्रयोग बढेको छ, जसले हाम्रो माटोको मौलिक स्वाद र स्वास्थ्य बिगारिरहेको छ।

काठे हलो र जुवा केवल खेतीका साधन मात्र होइनन्, यी त हाम्रा पुर्खाको पौरख र नेपाली पहिचानको अमूल्य खजाना हुन्। आधुनिकतालाई अँगाल्दै गर्दा हाम्रो मौलिकता र रैथाने प्रविधिलाई बिर्सनु हुँदैन। नयाँ पुस्तालाई यी सामग्रीहरूको महत्व र बनावटबारे सिकाउनु आजको आवश्यकता हो। ताकि, संग्रहालयको कुनामा थन्किएका यी हलो-जुवाहरूले केवल इतिहास मात्र नभई हाम्रो गौरवशाली कृषिको कथा पनि भनिरहून्।

– जनार्दन पाण्डे
खेतबारीका कथा खोज्ने, लेख्ने र देखाउने

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?