तीन दिनसम्म देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २३ वैशाख ।
आज बुधबारको मौसम विश्लेषण गर्दा दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहने देखिन्छ। यी प्रदेशका केही स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। रातीको समयमा पनि कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा बादल लाग्ने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
भोलि २४ गते बिहीबार पनि मौसममा खासै सुधार हुने देखिएको छैन। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। रातीको समयमा कोशी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
यसैगरी, पर्सि २५ गते शुक्रबार पनि कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। सो दिन कोशी प्रदेश लगायत अन्य पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। आगामी तीन दिनसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमको अवस्था हेरेर मात्र यात्रा वा कृषि कार्य गर्न जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणमा अनुरोध गरेको छ।
