उन्नत जातको बीउ वितरण नगर्दा कृषक मर्कामा

जाजरकोट: मौसममा आएको फेरबदलसँगै गहुँबाली भित्र्याएका कृषक अहिले मकै रोप्न व्यस्त भएका छन् । कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषक अहिले मकै रोप्न व्यस्त भएका हुन् । आफ्नो खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने काम शुरु भइसकेको कुशे गाउँपालिका–६ का गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको त्रासले घर बाहिर नआउने हो भने पशुचौपाय भोकभोकै हुन्छन्, खेतबारी बाँझै हुन्छ ? लक डाउनको पालना गर्दै सबै काम गर्नुको विकल्प छैन ।”

अहिले रोपेको मकै भदौमा पाक्ने गर्छ । सिँचाइ सुविधा नभएको ठाउँमा आकाशे पानीको भरमा लगाइने मकैबाली जाजरकोट र रुकुम पश्चिमको मुख्यबालीको रुपमा रहेको छ । वैशाख महिनामा लगातार पानी परेका कारण मकै रोप्न सजिलो भएको रुकुम पश्चिम आठबिसकोट–९ बटालागाउँका विष्णु बटालाले जानकारी दिनुभयो । सिँचाइ सुविधा हुने ठाउँमा तोरी, गहुँ र मकैसमेत लगाउने काम हुन्छ, नभएको ठाउँमा हिउँदयाममा जग्गाभरि खाली रहन्छ । वैशाखमा आएर मकै रोप्ने काम हुन्छ बटालाले बताउनुभयो । लगातार पानी परेका कारण गहुँबाली भित्र्याउनसमेत केही समस्या परेको समेत उहाँको भनाइ छ ।

जाजरकोटको नलगाड नगरपालिका, बारकोट गाउँपलिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, जुनिचाँदे गाउँपालिकामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका अहिले कृषक काममा व्यस्त भएका छन् । यीमध्ये जुनिचाँदे, बारेकोट, कुशे गाउँपालिकामा वर्षेनी खाद्यान्न अभाव हुने गर्छ । सिँचाइ सुविधासमेत नभएका यी स्थानीय तहमा आकाशे पानीको भरमा अधिकांश भाग खेती गरिँदै आएको छ ।

जाजरकोट र रुकुम पश्चिमका कृषकको मुख्यबालीका रुपमा रहेको मकैबाली रोप्ने मुख्य मौसम पनि यही रहेको छ । यो पटक हिउँदयाममा पानी परेका कारण गहुँबाली सप्रिएपछि खुशी भएका कृषक निर्धारित समयमा मकै रोप्न पाएकामा खुशी भएका छन् । जाजरकोटको ३५ हजार ३२६ हेक्टर जमिन खेतीयोग्य रहेको छ ।

स्थानीय जातकै मकै रोप्ने कृषक

वर्षेनी यहाँका कृषक ठिमाह मकैको बीउ नै रोप्दै आएको बताएका छन् । उत्पादन वृद्धि गर्नका लागि नयाँ नयाँ जातको बीउ सिफारिस भए पनि यहाँका कृषक वर्षेनी एकै जातको ठिमाह बीउ लगाएर हैरान भएको बताएका छन् ।

स्थानीय सरकार र कृषि सेवा कार्यालयले कृषकलाई नयाँ बीउ वितरण नगर्दा ठिमाह बीउ लगाउन बाध्य भएको कृषकको भनाइ छ । कृषि उत्पादन बढाउनका लागि नयाँ नयाँ तालिम र बीउ दिनुपर्ने भए पनि त्यतातर्फ कसैको ध्यान नगएको बारेकोट गाउँपालिका–५ का कृषक प्रेम शाहीले बताउनुभयो । यहाँका अधिकांश स्थानीय तहले सबै बालीका लागि पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको बताएका छन् । घोषणा गरिएका पकेट क्षेत्रमा नै बीउ नहुँदा कृषक हैरान भएका छन् ।

ठिमाह जातको बीउ रोप्दा वर्षेनी उत्पादन घटेपछि सो उत्पादन बढाउनका लागि उन्नत जातको बीउ वितरण नगर्दा कृषक मर्कामा परेका बताएका छन् । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यका अनुसार बीउ खरिदका लागि बजेट भए पनि बीउ नपाउँदा समस्या भएको छ । बीउ उत्पादन गर्ने ठाउँमा कोरोना भाइरसका कारण हुन सक्ने खाद्यान्न सङ्कटलाई मध्यनजर गरी बीउ नै खानाका रुपमा प्रयोग भएको आचार्यको भनाइ छ ।

बीउ किन्नका लागि आफूहरुले तयारी गरे पनि नपाएका कारण कृषकलाई पुरानै बीउ लगाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । यो वर्ष स्थानीय तहमा नै मूल बीउ उत्पादन गरी अर्को वर्षदेखि बीउ बाहिरबाट खरिद गर्ने काम बन्द गर्नेसमेत उहाँको तर्क छ ।
रासस
हेमन्त केसी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments