अण्डा खानुका फाइदा /अन्डाको ग्रेडिङ : जानिराखौ
अण्डा प्रोटिनको उच्च स्रोत हो । अण्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अण्डाले बिरामीलाई फाइदा पुर्याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अण्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ । अण्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अण्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् ।
अण्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता-कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।
चिनिरोग(मधुमेह)
अण्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ । प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ । धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ । तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।
कलेजो रोग
अण्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।
शल्यक्रिया अघि र पछि
कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ । प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ । त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ । तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।
अण्डा खानुका अन्य फाइदा:
* गर्भवती अवस्थामा अण्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ ।
* अण्डामा पाइने फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ ।
* अण्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।
* अण्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो ।
* अण्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ ।
* अण्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।
* अण्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।
उत्पादन भएको मितिले कति दिनमा खाइसक्नु पर्छ ?
विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘अन्डालाई उत्पादन भएको मितिले २१ दिनभित्र खाइसक्नुपर्छ ।’ अनि २१ दिनभित्र खाने अन्डालाई पनि कम्तीमा ४ देखि बढीमा १८ डिग्री सेन्टिग्रेड तापक्रममा बाकसभित्र फ्रिजमा राख्नुपर्छ । त्यस्तै मानव स्वास्थ्यमा काम गर्ने अर्को सम्मानित संस्था एफडीएले पनि अन्डालाई १० देखि १३ डिग्री सेल्सियस तापक्रममा राखेर उत्पादन मितिले अधिकतम २८ दिनमा खाइसक्नुपर्ने भनेको छ ।
२५ वटा सूक्ष्मजीवबाट मुक्त भएको अन्डा मात्रै खानका लागि योग्य हुने नेपाल सरकारको अन्डा ढुवानी तथा भण्डारण मापदण्डमा उल्लेख छ ।
बिग्रेको अण्डा खाए के हुन्छ ?
यदि गुणस्तरीय अन्डा खाइएन भने मानव स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । यसले फुड प्वाइजनिङ, झाडावान्ता हुने, ज्वरो आउने, पेट दुख्ने आदि समस्या आउन सक्छ । यसको असर तुरुन्तै नभएर १२ देखि ७२ घण्टासम्ममा देखापर्छ । तर पनि यसमा अनुगमन र नियन्त्रण हुन सकेको छैन ।
सेवन गर्ने अण्डाको ग्रेडिङ
हामीले सेवन गर्ने अन्डालाई सरकारी मापदण्डमा क, ख र ग वर्गमा विभाजन गर्ने भनिएको छ ।
(क) वर्गको अण्डा
सफा भएको, नचर्केको, चिप्लो सतह भएको, साधारण आकार भएको (अर्थात एक छेउ अर्काे छेउभन्दा ठूलो भएको), ५५ देखि ६५ ग्राम भएको र पहेँलो भाग एउटा मात्र भएको अन्डालाई ‘क’ समूहमा राखिएको छ । यस्तो अन्डालाई राम्रो गुणस्तर भएको मानिन्छ ।
(ख) समूहको अण्डा
‘ख’ समूह तथा मध्यम गुणस्तर भएको अन्डा सफा भए तापनि थोरै मात्रामा माटो वा फोहर टाँसिएको, नचर्केको, खस्रो सतह हुन सक्ने, साह्रो, साधारण आकार (एक छेउ अर्काे छेउभन्दा ठूलो), ४२ देखि ५५ ग्रामभन्दा बढी र पहेँलो भाग एउटा मात्र भएको अन्डालाई ‘ख’ समूहमा राखिएको छ । यसलाई मध्यम गुणस्तरको अन्डा मानिएको छ ।
(ग) समूहको अण्डा
सफा नभएको, फोहोर तथा रगत टाँसिएको, चर्केको, खस्रो सतह भएको, नरम हुन सक्ने, आकार अलि असाधारण, ४२ ग्रामभन्दा कम भएको र पहेँलो भाग नहुने वा सानो हुने वा दुईवटा भएको अन्डालाई समूह ‘ग’ तथा कम गुणस्तर भएको समूहमा राखिएको छ । यसरी अन्डाको मापदण्ड तोकिए पनि बजारमा एउटै मूल्यमा अन्डा बिक्री हुँदै आएको छ ।