खेतबारी बाँझै राखे अरुलाई खेती गर्न दिइने

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ले आफ्ना वडावासीलाई खेतबारी बाँझो नराख्न सूचित गरेको छ ।वडाको सूचनालाई अटेर गरी खेतबारी बाँझै राखे अरुलाई खेती गर्न दिइने सूचनामा उल्लेख गरिएको छ ।

चाँगुनारायण नपा ९ का वडा अध्यक्ष गणेश त्यातले आफ्नो वडामा बढी खेतबारी बाँझो पर्ने देखिएपछि उक्त सूचना जारी गरेको सुनाए । मुलुकमा कोरोना भाइरस संक्रमण नित्रन्त्रण तथा व्यवस्थापन गर्न सरकारले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस महामारीको कारण विश्वै भोकमरी बढ्ने अनुमान गरिएको छ ।

महामारीले अन्य क्षेत्रजस्तै कृषि क्षेत्रमा पनि प्रभाव पार्ने भएकाले अहिले कृषि उत्पादन बढाउनुपर्नेमा सबैतिरबाट जोड दिइएको छ ।सम्भावित खाद्यान्न अभावलाई लक्षित गरी भएको खेतबारी बाँझो नराख्न वडावासीलाई सचेत गराइएको वडा अध्यक्ष त्यात बताउँछन् ।

उनका अनुसार आफ्ना वडामा मात्रै करिब पाँच सय रोपनी खेतबारी बाँझो देखिने अनुमान छ । ‘कम्तीमा पाँचसय रोपनी खेतबारी बाँझो रहने देखियो, वडा अध्यक्ष त्यातले भने, ‘प्लटिङ भएका जग्गा पनि खाली नै रहने अवस्था आयो ।’

उनका अनुसार उक्त वडामा मात्रै सातवटाभन्दा बढी निजी जग्गा प्लटिङ गरेर त्यत्तिकै छाडिएका छन् ।’प्लटिङ गरिएका जग्गा पनि बाँझै राखिए नजिकैका स्थानीयलाई बालीनाली लगाउने तयारी अघि बढाएका छौं,’ उनले थपे, ‘खेतीयोग्य जग्गामा प्लटिङ गरेर छोडिएको हुँदा त्यहाँ बालीनाली लगाउन दिने उद्देश्यले सूचना जारी गरेका हौं ।’

वडा अध्यक्ष त्यातले यसरी वडाको पहलमा बाँझो खेतमा बालीनाली लगाएपछि उत्पादन नलिएसम्म जग्गाधनी वा मोहीले उक्त जग्गामा केही गर्न नपाउने बताए।यसरी लगाइएको बालीनालीमा जग्गाधनी तथा मोहीको हकहिस्सासमेत नलाग्ने उनले स्पष्ट पारे । त्यसैले आफ्नो खेतबारी बाँझो नराखी जे सम्भव छ, त्यहीं बालीनाली लगाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष त्यातले बाँझो खेतबारीमा उत्पादन गरिएपछि वडाको उत्पादन बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। अन्नपुर्ण पोस्टमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?