कृषि केन्द्रित कार्यक्रम तयार गर्दै स्थानीय तह

लम्की: कैलालीका स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । स्थानीय तह ८० दिन लामो बन्दाबन्दीले कृषि क्षेत्रमा असर परेकाले कृषि विकासमा जोड दिने खालका नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।

बन्दाबन्दीले किसान बढी मर्कामा परेका छन् । स्थानीय तरकारी उत्पादक बढी मारमा परेकाले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने स्थानीय तहका कृषि शाखाको तयारी छ । तरकारी तथा नगदेबालीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताउनुभयो । “भारत तथा विदेशमा रोजगारी गर्नेहरु घर फर्किएका छन्, उनीहरुलाई कृषिमा जोड्न कृषिलाई प्राथमिकतामा राखेका छौँ”, कृषि शाखा प्रमुख चौधरी भन्नुहुन्छ, “अघिल्ला वर्षभन्दा आउँदो वर्षको बजेटमा कृषिमा दोब्बर बजेट आउँछ ।”

उत्पादनमा जोड दिने र बजारीकरणलाई प्राथमिकता दिनेमा स्थानीय सरकार सचेत भएको उहाँको भनाइ छ । कैलालीकै जोशीपुर गाउँपालिकाले पनि आउँदो वर्ष बेमौसमी तरकारी खेतीलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको जनाएको छ । गाउँपालिकाले बन्दाबन्दीका कारण कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरी उनीहरुलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउने गाउँपालिकाका कृषि शाखा प्रमुख हर्क बमले बताउनुभयो । “यसपटक किसानसँग छलफलमा जुटेका छौँ, किसानलाई राहत, अनुदानमात्र नभई उत्पादनमुखी बजेट ल्याउने तयारी छ”, शाखा प्रमुख बमले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणका कारण आम्दानीमूलक कार्य घटेका छन् । यस्तो बेला खाद्य सङ्कट हुनसक्छ भनेर पनि कृषिलाई प्राथमिकतामा राखेका छौँ ।”
स्थानीय तहले कृषिका माध्यमले नागरिक बलियो बनाउन सकिने आधारको खोजी गर्ने बताउन थालेका छन् । भजनी नगरपालिकाले पनि युवालाई कृषिमै स्वरोजगार बनाउने किसिमका कार्यक्रम ल्याउने विषयमा छलफल शुरु गरेको छ । व्यावसायिक कृषि कार्यक्रम ल्याउने तयारी गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी बताउनुहुन्छ, “घर फर्किएका युवासँगको सीप कृषिमा सदुपयोग गर्ने योजनामा छौँ । कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्ने कार्यक्रम छनोट गर्दैछौँ ।”

टीकापुर नगरपालिकाले भने यस वर्ष कृषिका कार्यक्रम छनोट गर्ने जिम्मा वडा तहलाई दिएको छ । वडावडामा किसानसँग छलफल गरी कृषि कार्यक्रम छनोट गर्न थालिएको छ । वडा तहलाई तरकारी बाली, नगदेबाली र उत्पादनमा आधारित कार्यक्रम समेट्न सुझाव दिइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख तुलसीराम सुवेदी बताउनुहुन्छ, “गत वर्षभन्दा दोब्बर योजना छनोट गर्ने तयारी छ ।”

बन्दाबन्दीका कारण अन्य क्षेत्रजस्तै कृषि क्षेत्रमा असर परेको देखिन्छ । किसान भने उत्पादनभन्दा बजारीकरणको जिम्मा स्थानीय सरकारले लगिदिनुपर्ने माग गर्छन् । युवा किसान टेकेन्द्र धामी किसानको उत्पादन स्थानीय सरकारले किनिदिने वा बजारीकरणमा सघाउने गरेमा कृषिमा युवाको सहभागिता बढ्ने बताउनुहुन्छ, “उत्पादनले बजार नपाउँदा किसान मर्कामा छन् । सहज बजार र उचित मूल्य पाएमा किसान कृषिमा उत्साहित हुनेछन् ।”रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?