बाख्रा बेचेरै १५ लाख बचत : उद्यमशील बन्दै गएको केत्तुके गाउँको कथा

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेकी शनिमाया तामाङलाई ७ वर्षअघि परिवार धान्न धौ धौ थियो। खेती गरेर परिवार पाल्न मुस्किल भएपछि उनले बाख्रा पाल्न थालिन्।

बाख्राका पाठा बेचेको पैसा बचत गरेर १५ लाख पुर्‍याइन्। अहिले उनले ट्र्याक्टर किनेर छोरालाई चलाउन दिएकी छन्। ‘सात वर्षमा बाख्रापालनबाटै ट्र्याक्टर किने, कबुलियति वन समूहमा आबद्ध भएपछि आर्यआर्जनका उपाय जानेँ’ शनिमाया भन्छिन्। उनले जिल्ला वन कार्यालयले गठन गरेको रातो पाखा वन समूह र रातो थाम पाखा सहकारी संस्थामा सदस्य भएर बचत गर्दै आएकी छन्। उनीसँग अहिले उन्नत जातका ७ माउ बाख्रा छन्।

कमिमाया तामाङसँग अहिले १८ माउ बाख्रा छन्। उनी पाठापाठी बेचेर वार्षिक ७५ हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। उनी पनि यहाँका वन तथा अन्य सहकारी संस्थामा नियमित बचत गर्छिन्।

कबुलियति वनमा अम्लिोसो रोपेर कुचो बेच्ने र घाँस खसीबाख्रालाई खुवाउँदै आएका उनीहरू वन समूहकै सहकारीबाट सस्तो व्याजमा ऋण लिएर बाख्रा पालन गरिरहेका छन्।

शनिमाया र कमिमाया मात्रै होइन यहाँका २६ परिवार कबुलियति वन समूह र सहकारी गठन गरेर सहकारीबाटै लिएको सस्तो व्याजको ऋण परिचालन गरेर उद्यमी बनेका छन्।

समुहमा आबद्ध २६ परिवार र सहकारीमा थपिएका ४ गरी ३० परिवारले बाख्रा पालन र र बारीमा खुर्सानी खेतीबाट नियमित आम्दानी थालेका छन्। समूहमा आबद्ध हुनुपूर्व घर खर्च चलाउन हम्मेहम्मे भएका उनीहरूले अहिले घरखर्च चलाएर वार्षिक ५० हजारभन्दा बढी पाठापाठी बेचेरै आम्दानी गर्छन्।

सहकारी बनाउन वन समूहलाई जिल्ला वन कार्यालयले विभिन्न चरणमा विउपूँजीका लागि ३ लाखभन्दा बढी अनुदान दिएको जिल्ला वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए। जिल्लाका नमूना कबुलियति वन र सहकारी केत्तुकेकै रहेको उनले बताए।

सानो अनुदानले तामाङ गाउँका ३० परिवार पशु पालनबाटै आत्मनिर्भर बनेका छन्। ३० मध्ये ४ गुरुङ समुदायका महिला सदस्य छन्। २६ जना सहस्यबाट पाँच सयका दरले १३ हजार नगद संकलन गरेर दर्ता गरेको सहकारीले अहिले लाखौं कारोबार गर्न थालेको सहकारी संस्थाका सचिव रमिला तामाङले बताइन्।

‘अहिले चार जना सदस्य थपिनुभयो, सहकारीले गाउँमा ३६ प्रतिशत व्याज लिनुपर्ने बाध्यता हटेको छ, ऋण लिएर सबै सदस्य व्यवसायी बन्नुभएको छ’, सचिव तामाङले भनिन्।

जिल्ला वन कार्यालयले गरिबीको रेखामुनि रहेका समुदाय पहिचान गरेर कबुलियति वन व्यवस्थापन मार्फत आर्यआर्जनमा टेवा पुर्‍याउने कार्यक्रम जिल्लाभर सञ्चालनमा रहेपनि केत्तुकेमा नमूना काम भएङ्को जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए। ‘यो जिल्लाकै नमूना रहेछ, यो सबैले सिकेर लागू गरे गरिबीबाट माथि उठ्न सकिन्छ’, प्रमुख श्रेष्ठले भने।

सानो पुँजी परिचलालन गरेर व्यवसायिक बन्न थालेका यहाँका महिलाहरूले क्षमता विकास, तालिम र अनुदान जस्ता कुनै सुविधा स्थानीय सरकारबाट नपाएको गुनासो गरेका छन्। वडाबाट आवाज उठाएपनि गाउँपालिकाले कृषि र पशुपालनमा बजेट व्यवस्था नगरेकाले समस्या भएको वडा अध्यक्ष सन्त तामाङले बताए। सडक मात्रै गाउँपालिकाको प्रथामिकतामा रहेको उनेको भनाइ छ।

स्थानीय सरकारले दुई वर्षको बजेटमा पूर्वाधार विकासमा मात्र प्रथामिकता दिँदा आयआर्जनका मुद्दा ओझेलिएको आमगुनासो छ।

स्रोत :अन्नपुर्णपोस्ट

Leave a Reply

Your email address will not be published.