यस्ता छन् लाभदायक खसीबाख्रा पालन गर्ने तरिका

काठमाडौँ — नेपालमा प्रायः खसीबाख्राहरूलाई बन, जङ्लमा चराएर वा डाले घाँसका स्याउलाहरू खुआएर पालिन्छ । यस्ता रैथाने जातका घाँसपात तथा स्याउलाहरू धेरै जसो अकोशे जातका हुन्छन् । यिनीहरूमा कम पोषिला तथा प्रोटिनको मात्रा ६ प्रतिशत भन्दा थोरै पाइन्छ ।

यी स्थानीय घाँसहरू चाँडै छिप्पिने भएकोले यिनीहरूमा रेशाको मात्रा बढी हुन्छ र कम मात्रामा पचाउन सकिन्छ । त्यस्तै स्थानीय रैथाने जातका डाले घाँसहरू ढिलो हुर्कने, थोरै स्याउला दिने, र प्रायः जसो यस्ता स्याउलामा विभिन्न प्रकारका विषाक्त पदार्थहरू पाइनाले स्याउलाहरू खसीबाख्राले रुचाएर खाए तापनि यिनीहरू त्यति पोषिला हुँदैनन् । साधारणतया यिनीमा पाचनयोग्य पदार्थ पनि थोरै हुन्छ । यसैले रैथाने घाँसपातमात्र खुआएर पालिएका खसीबाख्राहरू ख्याउटे, ढिलो हुर्कने, कम उत्पादन दिने खालका हुन्छन् । यसरी बन जङ्गलमा जथाभावी चरीचरन गर्नाले बन तथा वातावरण विनाशको समस्या पनि झन झन विकराल बन्दै गएको छ ।

यसरी स्थानीय तरिकाले पालिएका खसी तथा वयस्क बाख्रालाई थप पोषणका लागि कृषकहरूले दैनिक जसो एक पाउ (आधा माना) को दरले मकै, भटमास वा अन्य अन्न तथा दाना खान दिन्छन् । यस्तो अन्न खान दिएमा उत्पादन लागत बढ्न गई कृषकहरूको मुनाफा पनि कम हुन् जान्छ । उदाहरणका लागि हालको बजार मूल्यको आधारमा हिसाब गर्दा पनि एउटा खसीले वर्ष दिनमा करिब तीन हजार बराबरको अन्न मात्र खाइदिन्छ । देशमा भएको सवा करोड खसीबाख्राहरू मध्ये यदि ४० प्रतिशतमात्र वयस्य बाख्रा भएको अनुमान गरेमा नेपालमा भएका खसीबाख्राले वर्षमा ९ अर्ब बराबरको अन्न (मकै) खाने गर्दछ । जसलाई घाँसेबालीमा आधारित बाख्रापालन गरेर घटाउन सकिन्छ ।

खसीबाख्रा घाँस खाने (उग्य्राउने) जनावर हुन् । यिनीहरूको भूँडीमा चार पोका हुन्छ जसमा सूक्ष्म जीवाणूहरू पाइन्छन् । यी जीवाणूहरूले रेशादार घाँसपातहरूलाई पचाएर पोषकतत्वमा परिणत गर्न सक्छन् । यसरी सबै खाले उग्य्राउने जन्तुहरूले घाँस तथा स्याउला खाएर जीवन निर्वाह गर्नुका साथै वंशवृद्धि तथा पशुजन्य उत्पादन दिन सक्छन् ।

खेती गरिने उन्नत जातका घाँसेबालीहरू उग्य्राउने पशुहरूका लागि अति पाषिलो तथा किफायती आहारा हो । घाँसेबालीहरू कोसे र अकोसे दुई प्रकारका हुन्छन् । हरियो घाँसपातहरू मकै भन्दा बढी पोषिलो तथा प्रोटिनयुक्त हुन्छन् । उदाहरणका लागि नेपियर, जइ आदि अकोसे घाँसेबाली हुन् यिनीहरूमा मकै भन्दा बढी अर्थात ८–९ प्रतिशत प्रोटिन पाइन्छ । मकैमा ७ प्रतिशत मात्र प्रोटिन हुन्छ । त्यस्तै बरसिम, भेच आदि कोशे घाँसेबालीहरू हुन्, यिनीहरूमा त अझ बढी अर्थात १६–२४ प्रतिशतसम्म प्रोटिन पाइन्छ ।

हरियो घाँसेबालीको खेती गरेर बाख्रापालन गरेमा किफायती र बढी नाफा लिन सकिन्छ । खेती गरिने अरू बाली झैं यदि हरियो घाँसेबालीको खेती गरेमा प्रति किलो एकदेखि डेढ रूपैंयाँ प्रति किलोका दरले हरियो पोषिलो घाँस उत्पादन गर्न सकिन्छ । यसरी एक वयस्क बाख्राले दिनको मकै मात्र ६ रुपैयाँ बराबारको खान्छ भनें हरियो घाँसको खेती गरेर बाख्रापालन गरेमा दैनिक रू ६ भन्दा कम लागतमा पोषक आहाराको व्यवस्था गर्न सकिन्छ।

प्रायः उग्य्राउने पशुहरूले दैनिक रूपमा आफ्नो तौलको २.५ प्रतिशत सुखा आहारा खान्छन् । अर्थात सय किलोको पशुले दिनको ढाई किलो सुखा आहारा खान्छन् । एक किलो सुखा आहाराबराबर करिब ५–६ किलो हरियो घाँस हुन्छ । यसरी एउटा ३०–३५ किलो तौलको वयस्क खसी वा बाख्रालाई एक दिनमा करिब १ किलो सुखा आहारा वा करिब ६ किलो हरियो घाँस चाहिन्छ अर्थात एक वर्षमा एक टन हरियो घाँस तथा स्याउला चाहिन्छ ।

उन्नत तरिकाले बारीमा बाख्राको मल राखि बर्षे, हिउँदे, बहुबर्षे र डालेघाँसको खेती मिश्रित रूपमा गरेमा वर्ष भरिमा करिब ७ टन हरियो घाँस र स्याउला पाउन सकिन्छ । जसबाट कम्तिमा ३–४ वटा वयस्क खसीबाख्रालाई पाल्न सकिन्छ । र एक रोपनी जग्गामा उन्नत तरिकाले घाँसखेती गरेमा सबै खर्च जोडेमा पनि बढीमा ८–१० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्न । तर परंपरागत तरिकाले खसीबाख्रा पाल्दा यदि मूल्य बराबरको त मकै मात्र खाई दिन्छ थप चरिचरन, घाँस स्याउलाको खर्च त अलग्गै ।

साधारणतया कोसे तथा अकोसे जातका पोषिलो घाँसपात उचितमात्रामा खान पाएमा खसीबाख्रा तथा अन्य उग्य्राउने जनावरहरूलाई थप मात्रामा अन्न वा दाना खुवाइरहनु पर्दैन । यसरी अन्न वा दाना महँगो तथा खाद्यसुरक्षामा असर गर्ने भएकोले उग्य्राउने पशुहरूलाई पोषिलो जातका हरियो घाँस खान दिएर पशुहरूको उत्पादन क्षमता कायम राख्नका साथै पशुपालन व्यवसायबाट बढी आम्दानी लिन सकिन्छ ।

खसीबाख्राहरूमा गरेको शारीरिक वृद्धिदरको अध्ययन अनुसार स्थानीय बन जङ्लमा चराएर पाल्दा बाख्राको शारीरिक वृद्धि दैनिक ४५ ग्राम मात्र पाइयो, अर्थात एक वर्षमा १६.४ किलो भएको थियो भनें त्यहि बाख्रालाई उन्नत जातको कोसे घाँस खुआएर पाल्दा दैनिक शारीरिक वृद्धि १०० ग्राम पाइयो अर्थात एक वर्षमा ३६.५ किलो । यसरी पोषिलो घाँसपात खान पाएमा स्थानीय बाख्राको दैनिक शारीरिक वृद्धिदरमा डबल भन्दा बढी मात्राले बढाउन सकिन्छ ।

बर्षे घाँसेबाली (मकैचरी र बोडी), हिउँदे घाँसेबाली (जई र भेच), बहुबर्षे घाँसेबाली (नेपियर, सेटेरिया, मुलाटो, डेस्मोडियम, स्टाइलो, ज्वाइन्ट भेच, फरेजपिनट आदि) अनि डाले घाँसेबालीका लागि इपिलइपिल, फ्लेमेन्जीया, मेन्दुला आदि लगाउनु पर्दछ । यस्ता घाँसेबालीहरू घरबारीमात्र भएका र एक दुईवटा माउ बाख्रा पाल्ने कृषकहरूले घर, आँगनको वरिपरि केही बहुवर्षे जातका कोसे र अकोसे घाँसेबाली विशेषतः नेपियर र सेटेरिया र फरेज पिटन र डेस्मोडियम मिसाएर १०–१० वटा बेर्नाका साथै ५–५ वटा इपिलइपिल वा भटमासेका बोट लगाएमा घर वरपर हरियालीकासाथै बाख्राका लागि हरियो घाँस स्याउलाको जोहो पनि गर्न सकिन्छ । थोरै जग्गा र ४–५ माउ बाख्रा पालन गर्ने कृषकहरूले कम्तिमा एक रोपनी जग्गामा माथि उल्लेख भए बमोजिम वर्षे, हिउँदे, बहुवर्षे तथा डाले घाँसेबाली एकएक भागमा लगाउन सकिन्छ । त्यस्तै व्यावसायिक बाख्रा पालन गर्ने कृषकहरू जसले कम्तिमा ५० माउ बाख्रा पालिआएका छन् त्यस्ता व्यावसायिक बाख्राफार्म दर्ता गराएका व्यवसायीहरूले वर्षे, हिउँदे, बहुवर्षे तथा डाले घाँसेबालीहरूका साथै बाख्राको चरीचरनका लागि कृषिबन प्रणाली अन्तरगत कम्तिमा १५ रोपनी जग्गामा घाँसेबालीको सघन खेती गर्नुपर्ने हुन्छ ।

यसरी परम्परागत तरिकाले स्थानीय खरी जातको बाख्रापालन गर्दा एउटा खसीबाट सबै खर्च कटाएर बढीमा ४–५ हजार मुनाफा लिन सकिन्छ भनें पोषिलो जातको घाँसेबाली खेती गरी घाँसमा आधारित बाख्रा पालन गरेमा स्थानीय जातका खसीबाट प्रति खसी वार्षिक रु ८–१० हजार र क्रस जातका जमनापारी वा बोयर खसीबाट प्रति खसी वार्षिक २०–२५ हजार रुपैयाँसम्म चोखो नाफा आर्जन गर्न सकिन्छ । यसरी घाँसेबालीमा आधारित बाख्रापालन गर्दा बन विनाश जोगिने मात्र होइन, थलोमा बाँधेर बाख्रापालन गर्दा मलमूत्र पनि सङ्कलन हुनगई अन्यबालीको लागि माटोको अवस्थामा पनि सुधार गर्न सकिन्छ ।

हाल खसीको मासुको माग पनि र मूल्य पनि बढी रहेको छ । एक अनुमान अनुसार नेपालमा वर्षेनी ६ लाख जीवित खसी भारतबाट आयत गरिन्छ अर्थात आठ दस अर्ब वर्षेनी विदेसिन्छ नेपालमै खसीबाख्रापालन व्यवसायलाई नाफामूलक बनाउन सकेमा मासुमा आत्मनिर्भर बन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.