चिनीमा मनलागी

काठमाडौँ — सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् ।मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो ।

अहिले ठाउँअनुसार १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ । ‘पुरानो स्टक भएकाले प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गरेका छौं, नयाँ खरिद गरिएको चिनी उपभोक्तालाई ८० रुपैयाँभन्दा बढी पर्छ,’ खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले भने, ‘सरकारले तत्काल कदम नचाले चिनीको बजार मूल्य ९० रुपैयाँ नाघ्न सक्छ ।’

चिनी उद्योग महासंघले हालै जारी गरेको मूल्य र बजारमा बिक्री भइरहेको दरअनुसार प्रतिकिलो २० रुपैयाँ महँगो पर्छ । आइतबार संघले जारी गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकिलो चिनीको मूल्य ५७ रुपैयाँ ५० पैसा हो । १३ प्रतिशत भ्याट (७ रुपैयाँ ४७ पैसा) सहित उद्योगको मूल्य ६४ रुपैयाँ ९७ पैसा पर्न आउँछ । उक्त मूल्यको चिनी बजारसम्म आइपुग्दा ७० रुपैयाँभन्दा बढी नपर्ने सरोकारवाला स्विकार्छन् । तर उपत्यकाका केही पसलमा अहिले प्रतिकिलो चिनीको ८५ रुपैयाँसम्म लिने गरेका छन् । नेपालटार निवासी सम्झना लामिछानले सोमबार स्थानीय एकता स्टोरबाट एक किलो चिनी ८५ रुपैयाँमा किनेको बताइन् ।

‘८५ रुपैयाँ त सस्तो हो, पसलेले १०० रुपैयाँ पुग्छ भनेका छन्,’ उनले भनिन् । धेरै परिमाणमा चिनी किन्नेलाई उक्त स्टोरले ८३ रुपैयाँसम्ममा चिनी बेच्ने गरेको उनले जनाइन् । लामिछानेले किनेको मूल्य भाटभटेनी सुपरमार्केटको दररेटको तुलनामा २६ रुपैयाँ बढी हो । भाटभटेनीले एक व्यक्तिलाई दुई किलो चिनी ५९ रुपैयाँमा बिक्री गरिरहेको छ ।

दुई किलोभन्दा बढी लिने ग्राहकलाई ६९ रुपैयाँसम्म लिने गरिएको छ । बिगमार्ट डिपार्टमेन्ट स्टोरले ७२ रुपैयाँमा बिक्री गर्ने गरेको छ । वर्षौंदेखि चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङको डिलर मूल्य ७३ रुपैयाँ निर्धारण गरिएको छ ।

व्यापारीले मात्रै हैन, सर्वसाधारणको सुविधाका लागि सरकारले सञ्चालन गरेको पसलले समेत प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरेको थियो । करिब ६५ रुपैयाँ पर्ने चिनी ७६ रुपैयाँमा बेचिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिक्री बन्द गर्ने निर्णय गरेको छ । नयाँ मूल्य निर्धारण गरी पुन: बिक्री सुरु गर्ने उसको योजना छ ।

‘खुद्रा पसलले डिलरमार्फत चिनी खरिद गर्नुपर्छ, ७५ रुपैयाँमा खरिद गरेपछि ८५ रुपैयाँमा बेच्ने बाध्यता हुन्छ,’ खुद्रा व्यापार संघका पूर्वअध्यक्ष बज्राचार्यले भने, ‘ठूला व्यापारी र सरकारबीच मिलेमतोले उपभोक्ता मारमा परे ।’ खुद्रा व्यापार संघले ८० रुपैयाँभन्दा माथि नबेच्न भनिए पनि केहीले ८५ रुपैयाँसम्म लिएको स्वीकार गरेको छ । चिनीमा मनपरी मूल्य कायम गरी बजार भाउ बढाउनुमा सरकारको प्रमुख भूमिका रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘१३ वटा चिनी उद्योगी र सरकारको मिलेमतोको परिमाण हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘यसमा ठूलो भ्रष्टाचार छ । तत्काल छानबिन गरी कारबाही हुनुपर्छ ।’

आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उद्योगबाट उत्पादित चिनी बिक्री नभएको भन्दै उद्योगीले आयातमा रोक लगाउन ‘लबिइङ’ गरेका थिए । स्वदेशी उद्योग प्रवद्र्धनका लागि भन्दै मन्त्रिपरिषद्ले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भएको बेला आयात गरी मौज्दात गर्नेहरूसमेत बन्देजको पक्षमा थिए । पहिल्यै आयात भएको सस्तो चिनी अहिले महँगोमा बिक्री भइरहेको अनौपचारिक रूपमा व्यापारीले जनाउँदै आएका छन् ।

मन्त्रालयका सचिव चन्द्र घिमिरेले निकासी पैठारी ऐन र विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रावधानअनुसार नै परिमाणात्मक बन्देज लगाएको बताए । मुलुकको अर्थतन्त्रलाई बचाउन केही विदेशी मुलुकले पनि यस्तो अभ्यास गरेको उनको दाबी छ । ‘यस विषयमा प्रधानमन्त्रीसँग पनि पटक–पटक छलफल भएको छ । किसानले लामो समयसम्म उखुको भुक्तानी पाएका छैनन्, जति पाउनुपर्ने हो, त्यो पनि पाएनन्,’ उनले भने, ‘किसानलाई मर्का पर्ने देखिएकाले उच्चस्तरको छलफलपश्चात् परिमाणात्मक बन्देज लगाइएको हो ।’

बन्देज सधैंका लागि नभएको उनले बताए । हाल भइरहेको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न गृहकार्य/छलफल भइरहेको उनले जनाए । बजार अनुगमन जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य विश्लेषण गरिरहेको जनाएको छ । ‘अनुगमनसँगै मूल्य विश्लेषण पनि गरेका छौं, मूल्यसूचीमा ७५ रुपैयाँ राखेर बिलबिजक भने ७० रुपैयाँ बनाएको फेला परेको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘उद्योगीले मूल्य घटाएकाले अब ७० रुपैयाँभन्दा महँगो नपर्नुपर्ने हो ।’

उनले सहरी क्षेत्रमा ८५ रुपैयाँमा बिक्री नभएको दाबी गरे । ‘मुख्य क्षेत्रमा ८५ रुपैयाँ छैन,’ उनले भने, ‘तर भित्र बजारमा हुन सक्छ । सीमित स्रोतसाधनका कारण अनुगमन गर्न त्यहाँ पुग्न सकेका छैनौं ।’

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments