कसरी गर्ने टिमुर खेती : फाइदा जानिराखौ

टिमुर २ देखि ६ मिटर सम्म अग्लो हुने पतझड, कांडेदार, सुगन्धित ,झाडी वर्गको वनस्पति हो । यसको काण्डमा र पातका फेदमा थेप्चा कांडाहरु हुन्छन् । जसको पात पलाउने हरेक आंख्लावाट फूलको छुट्टै हांगा निस्किएको हुन्छ ।

अन्य बोटविरुवाहरुमा जस्तै भाले र पोथी फूल फरक–फरक विरुवामा हुन्छ । फूलमा पत्रदल हुदैन । फूलहरु हरिया र केही पहेला स–साना आकारका हुन्छन् । फल सानो गोलो (४देखि५ मिलिमिटर) व्यास भएको हुन्छ । टिमुर पाक्दा रातो रंङको हुन्छ । यसको फल भित्र एउटा मात्र वीउ लाग्दछ । जसको रंङ कालो टल्किने हुन्छ ।

समुद्री सतहदेखि १२०० देखि २५०० मिटरको उचाईमा टिमुर उत्पादन हुने गर्छ । यसको बोट काँडायुक्त हुन्छ र एक पटक लगाएपछि थुप्रै वर्षसम्म फल दिने गर्छ ।

नेपालको सुर्खेत, अछाम, सल्यान र जाजरकोटलगायतका जिल्लामा टिमुरको खेती हुने गर्छ । यसको गेडा अर्थात फल पाक्ने समयभन्दा केहीअघि नै बोटबाट टिटिन्छ । र, संकलन गरिएका गेडाहरूलाई राम्रोसँग घाममा सुकाएर ओवानो गोदाममा भण्डारण गरिन्छ ।

टिमुरलाई मसला र औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । विश्व वजारमा यसको अत्याधिक माग भएकाले यसबाट मनग्य आर्थीक लाभ लिन सकिन्छ ।


उपयोगी भाग :

यसको फल जसलाई टिमुर भनिन्छ र बोक्रा प्रयोग हुन्छ ।

प्राकृतिक वासस्थान तथा उद्गम :

यो प्राकृतिक अवस्थामा ११००–२५०० मिटरसम्मको उचाइमा पूर्व, मध्य र पश्चिम नेपालमा पाइन्छ । साथै हिमालय क्षेत्र (कश्मीरदेखि भुटानसम्म), उत्तरी भारत, चीन, ताइवान, फिलिपिन्स लगायतका देशमापाइन्छ ।
खेती तथा प्रसारण :

टिमुरको व्यावसायिक खेती शुरु नभए तापनि हाल आएर केही ठाउँहरूमा यसलाई व्यावसायिक रूपमा लगाउन थालिएको छ । टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ ।
१. बीउबाट

२. डाँठको कटिङबाट

(१) बीउबाट :
टिमुरको लागि बीउबाट प्रसारण गर्नुभन्दा कटिङबाट प्रसारण गर्नु राम्रो हुन्छ । बीउको उमार क्षमता ज्यादै कम (१०–१५ प्रतिशत) हुन्छ । असोज–कार्तिकतिर पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेरघाममा सुकाई भण्डारण गर्नु पर्दछ ।

त्यसरी संकलन गरेको बीउलाई फागुन–चैत्रतिर, खनजोत गरी तयारीपारिएको नर्सरी व्याडमा छरेर बिरुवा उमारिन्छ । एकहेक्टर जग्गाको लागि ५०० ग्राम बीउ आवश्यकहुन्छ ।

नर्सरी विधि :

नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ ।

ब्याडको उचाइ सामान्यतया १५ से.मि.र चौडाइ१ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टासम्मडुबाई राखेर रोप्दा राम्रो हुन्छ । बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ ।

बीउलाईब्याडमा रोपिसकेपछि धूलो माटोले हलुकासँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा पराललेपातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ । र अर्को ६० से.मी. जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकका थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ ।

सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मिजति अग्लो भएपछि तयारी जग्गामा रोप्न सकिन्छ ।

(२) डाँठको कटिङबाट :

माघ–फागुनतिर कटिङ राखिन्छ । कटिङ राख्नको लागि २–३ से.मि. व्यास भएको र तीनवटा आँख्ला भएको काण्ड (डाँठ) राम्रो मानिन्छ । छिप्पिएको डाँठलाई १५ से.मि. लामो काटी नर्सरीमा तयार पारिएकोप्लास्टिकको थैलोमा वा ब्याडमा तर्सो पारेर रोपिन्छ ।

कटिङ राख्दा डाँठलाई रुट हर्मोन को झोल (२–३ प्रतिशत) मा चाबेर रोप्दा राम्रोसँग सर्दछ । यसरी तयार पारिएको बिरुवा ३–४ महिनामा
रोप्नको लागि तयार हुन्छ ।

बिरुवा रोपण :

बिरुवा रोप्ने कार्य मनसुन शुरु भएपछि अर्थात् साउन–भदौमा गर्नु पर्दछ । बोट ठूलो हुने भएकोले, करीब १.५–३ मिटरको दूरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० से.मि. को गहिरो खाल्डो खनी त्यसमा
गोबरमल हाली रोपिन्छ ।

एक हेक्टर जमिनमा करिब १००० बिरुवा लगाउन सकिन्छ । रोपिएकबिरुवाकोवरिपरि पानी जम्न दिनु हुँदैन । बिरुवा रोपिसकेपछि वर्षको दुई–तीनपटक गोडमेल गरी गाईवस्तुको मल बिरुवाको वरिपरि राख्नु पर्दछ । बिरुवा रोपेको तीन वर्षपछि टिमुर फल्न शुरु गर्दछ । बीउबाट रोपेकोभन्दा कटिङबाट रोपेको बिरुवामा चाँडो फल लाग्दछ ।

हावापानी र माटो :

यो प्राकृतिक रूपमा महाभारत पर्वत शृङ्खलाको खुला पाखामा पाइन्छ । यसको खेतीको लागि हिउँदमा ठण्डा र गर्मीमा न्योनो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ ।

अन्य बालीकोलागि उपयुक्त नहुने भीर पाखा तथा बलौटे एवं पत्थरिलो माटोमा यसलाई लगाउन सकिन्छ । माटोकोअम्लियपन (पि.एच) ६.५–७.० सम्म भएको बलौटे माटो सबैभन्दा उपयुक्त हुन्छ ।

संकलन तथा भण्डारण :

यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नु अगावै असोज–कार्तिक महिनाको मध्यतिर
संकलन गरिन्छ ।

फललाई हातले टिपेर वा लठ्ठीले हानेर झारी संकलन गरिन्छ । संकलन गरिएका फलहरूलाई पात काँडाहरू हटाई राम्ररी सुकाई बोरामा कसेर ओभानो ठाउँमा भण्डारण गरेर राख्नु पर्दछ ।यसको फलबाट स्टिम डिस्टिलेसन विधिद्वारा सुगन्धित तेल निकालिन्छ ।

बजार तथा उत्पादन :

यसको बजार राम्रो छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । एउटा परिपक्व बोटमा सरदर २–४ के.जी. टिमुर फल्दछ । एक जनाले एक दिनमा सामान्यतया ४ के.जी. टिमुर टिप्न सक्दछ ।

नेपालमा वार्षिक सरदर १२०० के.जी. टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा २०००–४००० के.जी. टिमुर फल्दछ ।


टिमुरको महत्व र उपयोगीता

औषधीय गुण

* टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ ।

* आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

* न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ ।

* गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

* टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

* कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

* टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

यसकारण उपयोगी

* नेपालमा विशेष गरि टिमुरलाई अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो वनाएर प्रयोग गरिन्छ । यो एक प्रमुख मसला हो ।

* यसलाई छोइला, मासु र विभिन्न प्रकारका तरकारीलाई स्वादिष्ट बनाउनमा पनि प्रयोग गरिन्छ । यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ । चाइनिज भान्सामा त टिमुर अनिवार्य नै हुन्छ । थाइल्याण्ड तथा युरोपतिर पनि यसको प्रयोग अत्याधिक हुन्छ ।

*टिमुरको फललाई प्रशोधन गरि दन्तमञ्जन, सावुन, अत्तरको रुपमा रुपमा पनि प्रयोग गरिदै गरिन्छ ।

* टिमुर श्रृंगार समाग्री निर्माणमा पनि प्रयोग गने गर्छ । सुगन्धको लागि प्रशोधन गरि टिमुरको प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published.