पालोपर्मले धान रोपाइँ सहज बनाउँदै किसान

रोपाइँ

महोत्तरी: मध्य असारसँगैको मुसलधारे वर्षा र त्यससँगैको बाढी र डुबानको पानी घट्दै गएपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान सघन रोपाइँमा लागेका छन् ।

वरपर अन्य बस्तीमा जन (कृषि काम गर्ने श्रमिक) नपाएर किसान छट्पटिएका बेला यहाँका २५ घर किसान भने एकअर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन्। टोललाई भनिँदा बभनटोली (बाहुनटोल) भनिए पनि यहाँ पर्वते ब्राह्मण, क्षेत्री, नेवार, थारू, घर्ती, कोइरी, बिन (मलाह), चमार, कामी र हिन्दूबाहेकका इस्लाम धर्मावलम्बीको पनि बसोबास छ ।

असार १५ देखि असार १९ गतेसम्म लगातार परेको पानीले डम्म भरिएका खेतका गह्रा २० गतेयता मुसलधारे वर्षा थामिएसँगै पानी घटेपछि किसानलाई धान रोपाइँको चटारो परेको हो। अहिले यो बस्तीका किसान आफूमा पालोपर्म मिलाउँदै मिलजुल गरेर रोपाइँमा लागेका छन्। खेत हिल्याउने, छेउकुना खन्ने, गह्रा सम्याउने, बीउ उखेल्नेदेखि रोप्नेसम्मको काममा एउटाको काम सकेर अर्कोको शुरु गर्ने यहाँका किसानले थिति बसालेका छन् ।

जात, भाषा, धर्म र धनी गरिबको कुनै विभेद नगरी सबैको खेतमा सबै काममा पुग्ने थितिले आफूहरुको धान रोपाइँमा जनशक्तिको कमी महसुस नहुने गरेको यस टोलका बासिन्दा बताउँछन्। “हाम्रो टोलमा बाहुन, क्षेत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन र केही घर मुस्लिमसहित छौँ”, सो बस्तीकी सामाजिक कार्यकर्ता दीपमाया श्रेष्ठले भनिन्, “वरपरका युवा कामका लागि पञ्जाब, हरियाणा जान्छन्, जन नपाएपछि हामीले टोलमा पालोपर्मको थिति बसाएका छौंँ, पालैपालो सबैले सबैको खेत रोप्छौँ ।”

यसअघिका वर्षमा सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दो शाही (मूल बीउ रोप्ने) रोपाइँ सकिने गरेको भए पनि यसपालि मध्य असारअघि पानी नभएको र त्यसपछि मुसलधारे वर्षाले डुबान गराउँदा रोपाइँ पछि परेको श्रेष्ठको भनाइ छ। “तर अब मौसम ठिकठाक रहे साउन पहिलो साताभित्र आफ्नो टोलको रोपाइँ सक्छौँ”, श्रेष्ठले भनिन्। विगतका केही वर्ष जन नपाएर खेत बाँझै बसेपछि टोलका सबैलाई भेला गरेर यो थिति बसालेपछि रोपाइँ सक्न कहिल्यै गाह्रो नपरेको दीपमायासहितका यस टोलका किसान बताउँछन् ।

“खेतीका कुरामा यहाँ कोही धनी, गरिब र उचोनिचो भन्ने हुन्न, सबैको काममा सबै जान्छौँ”, सो बस्तीकै आफ्नो जग्गा नभए पनि बटैया खेती गर्ने असवा थारूले भने, “रोपाइँ सकेपछि कामको हिसाब गरेर बढी काम गरेको पारिश्रमिक लिइन्छ, यसो गर्दा बढी जग्गा हुनेले रोपाइँ सकेपछि बढी पर्मको पारिश्रमिक दिने गर्छन।” टोलको यो थितिले अन्य आपत्विपत्का बेला पनि आपसी सहयोग आदानप्रदान प्रगाढ बनाएको यहाँका बासिन्दाको अनुभव छ ।

“बस्तीका २५ घरबाट जसको रोपाइँको पालो हो, सबै गुरुरु जान्छौँ”, बस्तीकी कञ्चनीयाँ बिनले भनिन्, “हाम्रो बस्तीमा रोपाइँ काम सक्नसँगै रमाइलो पनि बन्छ।” बीउ रोपिसकेपछि साउन १५ देखि खरुवन (कलम, पहिले रोपिएको रोपो गाँजिएपछि त्यो उखेलेर रोप्ने काम) रोप शुरु हुन्छ। सबैको रोपाइँ सकिएपछि जन जोडेर हिसाब गर्ने यहाँका बासिन्दाले थिति बसालेका छन्। “पानी अनुकूल हुनासाथ कामको धपेडी त हुन्छ”, बस्तीकी मुस्लिम समुदायकी ऐसा खातुनले भनिन्, “तर हामी अरुको भन्दा सजिलै रोपाइँ सक्छौँ ।”

यो बस्तीमा दुई कठ्ठादेखि दुई बिघासम्म जग्गा भएका किसान छन्। थोरै जग्गा हुनेले थपमा बटैया खेती गर्ने गरेका छन्। रोपाइँ सकेपछि पर्मको हिसाब गरेर बढी श्रम गरेका परिवारका सदस्यलाई चलेको पारिश्रमिक दिने गरिएकाले किचलो कहिल्यै नभएको बस्तीका पाका किसान ७६ वर्षीय दीपबहादुर फुँयालले बताए। बस्तीका २५ घरको स्वामित्वमा करिब १६-१७ बिघा धानखेतीको जग्गा भएको र पछिल्लो छ-सात वर्षयता रोपाइँमा पर्म चलाउन थालेपछि कहिल्यै खेत बाँझो नरहेको यहाँका किसान सगर्व बताउँछन् ।

“हाम्रो टोलका प्रधानजी (भङ्गाहा गाविस छँदा उपाध्यक्ष रहेका राजनीतिक, सामाजिक कार्यकर्ता मुकुन्द दाहाललाई टोलवासी प्रधानजीको सम्बोधन गर्ने गर्छन्) र भाउजु (दाहालकी पत्नी) पनि हाम्रो खेतमा बीउ उखेल्न र धान रोप्न आउनुहुन्छ”, बस्तीका ५० वर्षीय किसान गणेश विश्वकर्माले भने, “काममा धनी गरिब उचोनिचो हुँदैन, हामी मिलेर खेती सक्छौँ।” यो पालोपर्म अरु बेला त्यति प्रचलनमा नबसी सके पनि धान रोपाइँमा भने पछिल्लो छ-सात वर्षयता यो अभ्यास नियमित हुँदै आएको टोलकै किसान मन्दिरा बरालले बताइन् ।

समुचा रामनगर बस्तीमा अहिले रोपाइँको सुरसारमात्र देखिएका बेला यो टोलमा भने पछिल्लो तीन दिनमै १५ प्रतिशत रोपाइँ सकिएको छ। टोलवासीले बसाएका यो थिति सबैले अनुसरण गरे सबैका लागि खेती सजिलो हुने भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतोले बताए। “अन्य टोलमा किसान जन पाइएन भनेर जिङ्राएका छन्, आफूलाई धनीमा गन्ने किसान अरुका खेतमा पाइला राख्नुलाई इज्जतको सवाल ठान्छन्”, महतोले प्रश्नात्मक शैलीमा भने, “अनि कसरी चल्छ काम ?” मिलेर काम गर्दा सजिलै धान रोपाइँ सकिने र उत्पादन पनि राम्रो लिने आफ्नो वडाको बभनटोली सबैका लागि सकारात्मक उदाहरण बनेको महतोको थप भनाइ छ ।

खासगरी कृषि काममा दक्ष मानिएका बस्तीका मुसहर जातिका युवा राम्रो पारिश्रमिक पाउने आशमा भारतको पञ्जाब, हरियाणा जान थालेपछि बस्तीमा धान रोपाइँका बेला जनको सकस पर्दै आएको थियो। बभनटोलीका किसानले समयअनुकूल आफूलाई ढाल्न सक्दा बर्सेनि राम्रो उत्पादन लिइरहेको कुराबाट शिक्षा लिन नसक्दा बस्तीकै अन्य टोलको रोपाइँ गर्न नसकिएर खेत बाँझै बस्ने गरेको रामनगरका किसान सत्यनारायण यादवले बताए। “अब लाज मानेर काज चल्दैन”, यादवले भने, “बभनटोलीको अनुसरण गर्नैपर्छ ।”

समयअनुसार नयाँ थिति बसाउन सकिएकाले आफ्नो टोलमा गरिबमा गनिनेको घरमा पनि खाने अन्न भने खासै बेसाउनु नपरेको अगुवा महिला सामाजिक कार्यकर्ता हीरा दाहालको भनाइ छ। “हाम्रो टोलमा सबैको श्रम सबैलाई चलेको छ”, दाहालले भने, “केही पाका उमेरका अभिभावकमा खानेकुरामा अझै छुवाछूतको भावना भने मरिसकेको छैन, तर नयाँ पुस्ताका सबै एकअर्काको खेतमा काम गर्दा खाजा, खानासँगै खान थालेपछि यसको टिप्पणी भने पाकाले गर्न छाडेका छन् ।”

आफ्नो रोपाइँको सुरसार नहुँदै बभनटोलीमा भने रोपाइँ सघन चलेपछि आफ्नो टोलमा पनि पर्म शुुरु गर्ने रामनगरका सबै टोलमा चर्चा भने बाक्लिएको छ। “हामी पनि यो थिति (पर्म) बसाउन खोज्दैछौँ”, वडाका पूर्वअध्यक्ष ७८ वर्षीय बृदेवसिंह दनुवारले भने, “अब यसमा ढिलो गरिए मुखमा माड लाग्दैन।” बभनटोलीका सबैजसो किसान खेतीका कुरामा चनाखा र संवादमा रहने गरेका वडाध्यक्ष महतोले बताए ।

“सिँचाइ, कृषि सडक र समयमा मल, बीउको व्यवस्था गर्न टोलवासीले सधैँ घच्घच्याउने गर्छन्”, महतोले भने, “खेतीपातीबारे आपसी परामर्श गर्ने, निरन्तर अनुगमनका लागि घच्घच्याइरहने र भनेअनुसार तत्काल त्यसलाई अनुसरण गरिहाल्ने भएकाले यहाँका किसानले प्रत्येक बालीको राम्रो उत्पादन लिने गरेका छन्।” सबै पार्टी, सबै विचारका भए पनि आपसमा मिलेर खेतीको काम उकास्न बभनटोलीका किसानले बसालेको थिति अन्य टोलका सबैले अनुसरण गर्नुपर्ने रामनगरका बूढापाका बताउँछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments