सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेशा

कुमाल समुदायको पुर्ख्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरू सुपथ मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा परेको हो । परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै सङ्कटमा पर्दै गएको बताउँछन् । विशेषगरी प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा सङ्कटमा परेको हो ।

हिन्दुहरूको महान् चाड तिहार र छठमा सबैभन्दा बढी बिक्री हुने माटोको सामग्रीलाई पछिल्लो समयमा झिलिमिली बिजुली बत्ती, धातुका दियो, प्लास्टिकका भाँडालगायत आधुनिक बस्तुले विस्थापित गरेको छ । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाललगायत सामग्रीले माटाका भाँडाको व्यापार सङ्कटमा परेको भारदहका रामकुमार पण्डितले बताउनुभयो ।

आफूले बनाएको माटोको भाँडा बिक्री गर्ने बजारको उचित व्यवस्था हुन नसक्दा आफ्नो पुर्ख्यौली पेशाा नै सङ्कटमा परेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रबाट बनाएको माटोको भाँडा बिक्रीका लागि राजविराज हटिया र कञ्चनपुर बजारमा ठाउँको अभाव हुने गरेको पण्डितले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा मेहनत मजदुरी गरी भारदहदेखि करिब १८ किलोमिटर दूरी सदरमुकाम राजविराजमा बिक्रीका लागि ल्याएको माटोको भाँडा राख्न खोज्दा आसपासका व्यापारीले होच्याउने अपशब्द प्रयोग गरेर हप्काउने र भगाउने गरेका छन् ।” सोही ठाउँका सत्यनारायण पण्डितले मेहनतले बनाएको सामग्री फुट्ने डरले साइकलमा बिस्तारै घण्टौँ समय बिताएर चर्को घाममा बजार पुग्दा राख्ने ठाउँ नभेट्दा मनै रुने गरेको दुखेसो पोख्नुभयो । उहाँले जसोतसो बिक्री गरेर बचेको भाँडा फेरि घर नै फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँका अनुसार विगतमा हिन्दुहरूको महान् चाड दीपावली, तिहार र छठ पर्वलगायत विभिन्न पूजापाठमा माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीहरूको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थेँ । फलस्वरूप आफूहरूलाई ती भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । अहिलेको समाज आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरू प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट छ ।

देशमा राजनीतिक परिवर्तन भए पनि कुमाले समुदायको अवस्थामा भने परिवर्तन नआएको स्थानीय जीवन पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “माटो खरिद गरी किच्नुपर्ने त्यसपछि पानीमा फुलाएर डल्लो बनाएर मिच्दै खाम्बाले थिचेपश्चात् केही समय छोपेर राखी हातले त्यसमा भएको गिट्टीका कण हटाई स्वच्छ माटोको भाँडाकुँडा बनाइ घाममा सुकाएर आगोमा पकाएपछि पूर्ण रुपमा तयार हुने गरेको साथै ठूलो परिश्रम गरेर बनाएको भाँडा बिक्री गर्ने बजार व्यवस्थापन नहुँदा हामी कुमाल समुदायका व्यापारी निकै मारमा परेको बताउनुभयो ।
उहाँले करिब २० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा रु ५ लाखदेखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौँ ।”

आफूहरूको पुर्ख्यौली पेशा परम्परागत संस्कारले मात्रै धानेको हरि पण्डितको भनाइ छ । “माटोको सामग्रीको व्यवसायीकरण नभएकाले आफूहरूको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ”, उहाँले भन्नुभयो, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रङ्ग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आफूहरूको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी सङ्घसंस्थाको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ ।

आफूहरूको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको बताउँदै उहाँले अत्यधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडा बिक्री नहुनु र बिक्री भए पनि लागतसमेत उठाउन नसक्नुका कारण यो पेशामा युवापुस्ता संलग्न हुन नचाहेको हो भन्नुभयो ।
चौंठी चान्द, जितिया, दिपावाली, छठ, तुलसी उद्यापनलगायतका चाडपर्वमा बढी प्रयोग हुने हुँदा यसको माग बढेपछि अहिले माटोको कुर्वा, कौर्ना, ढकनी, दियो, चौमुखासहितका सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?